
काठमाडौं, वैशाख १२ । काठमाडौंमा २४ दिनदेखि निरन्तर आन्दोलित शिक्षकको आन्दोलन आज २४ औँ दिनमा पनि जारी रहेको छ।
बिहीबार काठमाडौंमा आन्दोलित शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्च अदालतले आदेश जारी गरे पनि शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहेको बताएका हुन् ।
बिहीबार न्यायाधीश नकुल सुवेदीको एकल इजलासले हडतालमा रहेका शिक्षकहरूलाई तीन दिन भित्र विद्यालयको काममा फर्कन निर्देशन दिँदै अन्तरिम आदेश जारी गरेको थियो । अदालतले शैक्षिक गतिविधिहरू पुनः सुरु गर्न सम्बन्धित अधिकारीहरूले शिक्षकहरूको वैध र संवैधानिक मागहरूलाई तुरुन्तै सम्बोधन गर्नुपर्नेमा जोड दिएको थियो ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल मार्फत भने, “हाम्रो संघर्ष शिक्षाप्रति राज्यको असंवेदनशीलता, शिक्षक, कर्मचारी र विद्यार्थीहरूमाथिको विभेदपूर्ण व्यवहार र प्रगतिशील विद्यालय शिक्षा ऐन लागू गर्न ढिलाइ गर्ने षड्यन्त्रको विरुद्धमा हो। हाम्रो शब्द र कार्यले यो प्रतिबिम्बित गर्नुपर्छ।”
शिक्षकहरुको जारी विरोधले नयाँ शैक्षिक सत्र सुरु हुन ढिलाइ गरिसकेको छ। अधिवक्ता शर्वणकुमार चौधरीले हडतालले सिर्जना गरेको अनिश्चितताले विद्यार्थीहरूको भविष्यलाई जोखिममा पारेको तर्क गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। तैपनि, आन्दोलनरत शिक्षकहरू ले शिक्षा ऐन लागू नगरेसम्म उनीहरू पछि नहट्ने उनीहरूको भनाइ छ ।