Kath Khabar
आज वैशाख कृष्ण औंसी : आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

                   काठमाडौं, वैशाख १४ । आज वैशाख कृष्णपक्षको औंसी, आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ ।

आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ ।

प्रत्येक वैशाख कृष्णपक्ष औंशीका दिन मनाईने मातातीर्थ औंशी दिन विशेषगरि छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई विभिन्न उपहार सहित जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता सहित आशिर्वाद थाप्ने चलन छ ।

त्यस्तै आमाले पनि आफ्ना सन्तालाई छोरा छोरीलाई दिर्घायु, सुस्वास्थ्य र असल जीवनको कामना गर्दै आशिष दिने चलन छ । साथै आमा नभएकाहरुले भने आजका दिन राजधानीदेखि १० किलोमिटर पश्चिम–दक्षिण थानकोटसँगै रहेको मातातीर्थ कुण्डमा पुगेर त्यहाँ स्नान गरि आफ्नी दिवंगत आमाको स्मरणमा तपर्ण र पिण्डदान तथा पुरोहितलाई सिदा दान गरेर भोजन गराउने प्रचलन रहेको छ । साथै त्यहाँसम्म पुग्न नसक्नेहरू कुनै देव वा तीर्थस्थलमा आमाका नाममा ब्राह्मणलाई सिदा दान गर्ने परम्परा छ ।

यो पर्वलाई श्रद्धा, आदर, र भक्तिको रुपमा पनि लिइन्छ । बिबाह पश्चात् टाढा रहेका चेलीहरुले अरुबेला आफ्नै काममा ब्यक्त भएपनी आफ्नो जननी सम्झेर माइती आउने र जननीलाई मिष्ठान भोजन गराउने हेतुले शुरु भएको हुनु पर्छ यो पर्व । चेली संसंगै छोराहरुले बर्ष भरी स्याहार सुसार गरेपनी पोषण तत्वको अभाव नहोस भने यस दिन आफ्नो जननीलाई मिष्ठान्न भोजन गराउने गर्दछ । अरु दिन नुहाए पनि आमा हुनेहरुले यस दिन नुहाउन हुन्दैन ।

मातातीर्थ औंसीका दिन चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लाग्ने गर्दछ । विशेषगरी आमा नहुनेहरू उक्त कुण्डमा स्नान गर्दछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update