काठमाडौं, वैशाख १४ । काठमाडौं महानगरपालिका-६ सिमलटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय १४ एम्पुल, फेनारगन ३ सय ८ एम्पुल, नुर्फिन ३ सय १० एम्पुल, मोबाइल २ थान र नगद ५९ हजार ७ सय ५० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने ३५ वर्षीय जिवन प्रधान र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने ३५ वर्षीय अकुंश तामाङ रहेका छन् । प्रहरी वृत्त महाराजगंज, प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनबाट खटिएको संयुक्त टोलीले जिवनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ शिशा पोष्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित गोदावरी नगरपालिका-२ बस्ने २७ वर्षीय सागर चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट र स्पास्पेन ८० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीया सीमा राई समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१० गौरीमार्गबाट नियन्त्रित लागूऔषध टापेण्टाडोल ४० ट्याब्लेट सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१० बुद्धचोक बस्ने २० वर्षीया एलिसा बुढाथोकी मगर र सोही ठाउँ बस्ने तनहुँ घर भएका १९ वर्षीय सुसान परियार रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले एलिसालाई ३३ ट्याब्लेट र सुसानलाई ७ ट्याब्लेट उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, विर्तामोड नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५८ ग्राम ५ मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय रवि दास र विर्तामोड नगरपालिका-३ बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भएका ३४ वर्षीय सन्तोष लिम्बु रहेका छन् । प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले रविको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालई पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ स्थित भैरहवा विद्युत अफिस नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सिद्धार्थनगर नगरपालिका-१ रानीगाउँ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका-५ डाईभरटोल घर भएका ३५ वर्षीय हिरालाल पासीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.१८ प ४१२६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बागलुङ, ढोरपाटन नगरपालिका-१ रिभरहेडस्थित मिना खाजा घरबाट अवैध लागूऔषध गाँजाको धुलो करिब ४ सय ६० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिपलभ थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्दा काउण्टरमा लुकाई छिपाई राखेको उक्त गाँजाको धुलो फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (NP)