
काठमाडौं, वैशाख १४ । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । यसअघि वैशाख १० गते तीन दिन मात्रै म्याद थप भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भने २० दिनको म्याद मागेको थियो ।
तीनकुनेमा आयोजित पूर्वराजा समर्थक प्रदर्शनका क्रममा अवान्छित गतिविधिमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ । तीमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ । बाँकीलाई भने आपराधिक उपद्रव र सङ्गठित अपराधमा मुद्दा चलाइएको छ ।