
काठमाडौं, वैशाख १७ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई र माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-६ बस्ने धादिङ निलकण्ठ नगरपालिका-६ घर भएका २९ वर्षीय उमेश गुरूङ र काठमाडौं महानगरपालिका-२ घर भएका ५६ वर्षीय सुजन कुमार उप्रेती रहेका छन् ।
पक्राउ मध्ये उमेशले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुजनले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उमेशलाई चन्द्रागिरी नगरपालिका-६ बाट सोमबार र सुजनलाई काठमाडौं महानगरपालिका-१ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।