काठमाडौं, साउन २५ । व्यवसायको नयाँ सोच छ तर खल्तीमा रकमको अभावले छट्पटाइरहनु भएको छ ? सपना देख्नुहोस् रकमको अभावमा अब तपाईँको सपना मर्दैन । किनभने सरकारले यसरी पैसाको अभावमा आफ्नो व्यवसायीक योजना नभएकाहरुलाई १ प्रतिशतमै अब २५ लाख सम्म ऋण दिने भएको छ ।
यसरी कर्जा दिनको लागि नवप्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह सम्बन्धी कार्यविधी तयार भएको छ । जसमा अर्थमन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गरेर अन्तिम टुंगो लगाइसकेको मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताउनुभएको छ ।
उहाँले भन्नुभयो ‘साउनको सुरुवाती देखिनै यस्तो कर्जा दिने सोचेका थियौ, तर सरकारसँगै सचिवहरुमा पनि आएको परिवतर्नका कारण सोचेअनुरुप काम अघि बढाउन सकेनौ, अहिलेका अर्थ मन्त्रीलाई जानकारी गराइसकेको छौ, छिट्टै पास हुनेछ अब ।’
गत वर्षकोे बजेटले २ प्रतिशत ब्याजदरमा ऋण दिने भनेकोमा चालु आर्थिक वर्षको बजेटमा यसलाई घटाएर १ प्रतिशत बनाइएको छ । सोहि अनुसार कार्यविधी संशोधन गरि यसलाई स्वीकृत गरेर छिट्टै प्रस्ताव आह्वान गर्ने अथर्मन्त्रालय बताउँछ ।
अहिलेको बजेटमा १ अर्बको च्यालेन्ज फन्डको समेत व्यवस्था गरिएको छ । गतवर्षको बजेटमा ५० करोड रकमको व्यवस्था गरेको बताइएको थियो । तर, गत वर्ष कार्यविधी नै नबनि सकियो । यसअघिको कार्यविधीमा अनुदानमा रकम उपलब्ध गराउने भनिएको थियो । तर, बिज्ञापन गरेर ६ सय ९९ जनाले योजना पेश गरेर पनि छनौट प्रक्रिया भने अघि बढाइएको थिएन ।
सरकारले गत वर्षको बैशाखमा स्टार्ट अप अर्थात नयाँ खालका सोच भएका व्यवसायलाई अनुदान दिने भन्दै बिज्ञापन सार्वजनिक गरेको थियो । करिब ६ सय ९९ जनाले योजना आयोगमा आवेदन दिएका थिए । ती आवेदनहरु अब खेर गएका छन् । छनोटका लािग सरकारले फेरी प्रस्ताव आह्वान गर्नेछ ।
दुई वर्ष अघिको बजेटमा नवप्रवर्तनकारी उद्यम अर्थात स्टार्ट अप बिजनेशका लागि अनुदान दिने भनिएको थियो । सोहि अनुुसार नै योजना आयोगले आवेदन पनि माग गर्याे । तर रकम बिनियोजन नहुँदै मात्रै होइन, कार्यविधीले नै पुर्णता नपाउँदै यो वर्षको बजेटमा यस्तो रकम ऋणमा दुई प्रतिशतमा उपलब्ध गराउने घोषणा गरियो । जसलाई अहिले घटाएर १ प्रतिशत कायम गरिएको छ ।
स्टार्ट अप भनेको योजना तयार हुने बित्तिकै लगानी गर्नुपर्छ । त्यसैले यस्ता योजना सफल पार्न भनेर सरकारले गत वर्षकोे बजेटमा ५० करोड रकम पनि व्यवस्था गर्याे । यो वर्ष १ अर्ब राखेको छ तर यो कार्यान्वयमा आयो भने मात्रै यो रकम राख्नुको सार्थकता हुनेछ ।