काठमाडौं, साउन २५ । साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघले सोमबार प्रतियोगिता आयोजना गर्ने देशको टुंगो लगाएको हो । आयोजनाका लागि अखिल नेपाल फुटबल संघले पनि दाबेदारिता प्रस्तुत गरेको थियो । यस अघि बंगलादेशमा प्रतियोगिता आयोजना हुने तयारी थियो । सेप्टेम्बर १४ देखि २५ सम्म ढाकामा हुने भनिएको प्रतियोगिताको कोभिडको महामारीका कारण अन्य देशमा सारिएको हो । एक वर्ष पछि धकेलिएको प्रतियोगिता अन्ततः माल्दिभ्समा हुने साफले घोषणा गरेका छ । सातै देशको सहमति अनुसार प्रतियोगिता अक्टोबर एक देखि १३ सम्म आयोजना हुनेछ ।
यसपटक पाँच देशले मात्र सहभागिता जनाउनेछन् । भुटानले कोरोनाको संक्रमणको कारण सहभागि नहुने बताएको छ, भने पाकिस्तान विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा परेको छ । साफ च्याम्पियनसिप २०१८ मा माल्दिभ्सले भारतलाई हराउँदै उपाधी उचालेको थियो । यस अघि उसले २००८ मा पहिलो पटक साफको उपाधी उचालेको थियो । नेपाल पहिलो पटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छ । राष्ट्रिय फुटबल टिम अहिले तयारी स्वरुप पोखरामा छ ।