काठमाडौं, साउन २६ । माधव कुमार नेपाल आज कठिन राजनैतिक मोडबाट गुज्रिरहनु भएको छ । नेकपा (माले) को स्थापना कालदेखि नै निर्णायक भूमिका निर्वाह गर्नुभएका नेपाल एमालेमा अहिले कर्नरमा परेको देखिन्छ । सि पी मैनाली, झलनाथ खनाल र मदन भण्डारी महासचिव हुँदा दोस्रो वरियतामा रहनुभएको माधव कुमार नेपाल स्वयं एमालेको पन्ध्र बर्ष महासचिव भइसक्नु भएको हो । पार्टी जिम्मेवारीका साथै देशको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्री पनि हुनु भएका नेपाल आज एमाले बैधानिक रुपमा फुटाएर नयाँ पार्टी बनाउन सकिन्छ कि सकिदैन भन्ने संघर्षमा हुनुहुन्छ। एमालेमा नवौँ महाधिवेसनदेखि नै उहाँलाई साथ दिँदै आउनुभएका दोस्रो तहका नेताहरु समेत नेपालको साथ छोड्दै अध्यक्ष केपि शर्मा ओलीतिर लाग्नुले नेपालको राजनीतिक यात्रा कठिनपुर्ण बन्दै गएको देखाउँछ ।
नेपालको राजनीतिमा नयाँ पार्टि स्थापना गरी जनतामा स्थापित हुन कठिन भएको विगतका अनुभवहरु छन् । नेकपा (एमाले) फुटाएर बनाएको माले तथा नेपाली कांग्रेस फुटाएर बनाएको नेपाली कांग्रेस (प्रजातान्त्रिक) टिक्न नसकी मुल पार्टीमा फर्कनुपरेको इतिहास नेपालमा छ । साथै नयाँ गठन भएका विवेकसिल र साझा पार्टीले सुरुमा युवा पंक्तीको ध्यान तानेपनि आज दुवै पार्टी एक हुँदा समेत जनमत आकर्षित गर्न सकेको छैन । एमाले फुटाउने बामदेव गौतम पार्टीमा फर्केर निर्वाचित उपाध्यक्ष हुनसक्नुभयो । अर्काेतिर नेपाली कांग्रेस फुटाउने वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा सभापति निर्वाचित हुनुभएको छ । तर लामो पत्रकारीता गरेर स्थापित रविन्द्र मिश्रले नयाँ पार्टी खोलेपनि उहाँले जनता आकर्षित गर्न सक्नुभएको छैन ।
२०४६ सालको जनआन्दोलबाट प्रजातन्त्रको पुर्नबहाली भएपछि नै नेपालमा दुई दलिय संस्कार मौलाउन सुरु गरेको हो । २०४६ पछि केही समय राप्रपा र २०६३ पछि माओवादी उदाउन खोजेपनि नेपालका प्रमुख दल एमाले र कांग्रेस नै स्थापित छन् । बाबुरामको नयाँ शक्ति, मधेसका दर्जनौ दल पानीका फोका जस्ता उठ्दै हराउँदै गरेको देखिन्छ । नेपालमा एकपटक पहिलो भएको माओवादी समेतको अस्तित्व संकटमा परेको देखिन्छ । पार्टी मौलाउदै गएको भए पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई नेता मानेर एकता अवश्य गर्नुहुने थिएन । भारतको नयाँ दिल्ली जस्तो नेपालमा नयाँ शक्ति निर्माण गर्न सजिलो छैन । गरिबी तथा न्युन राजनैतिक चेतनाका कारण विचार र सिद्धान्त जनताका बीचमा लगी पार्टी स्थापित गर्न नेपालमा समस्या छ । नेपालमा राजनैतिक पार्टीका झण्डाभन्दा उनीहरुका चुनाव चिन्ह स्थापित छन् । नेपालको ठुलो जनसमुह निश्चित पार्टीमा अडिग भएर बसेको छ । साथै अर्काेतिर अस्थीर मतदाता शक्तिको पछि लाग्ने प्रवृत्ति छ जसका कारण विचार र सिद्धान्त आधारमा राजनीति गर्न नेपालमा कठिन भएको छ ।
नेकपा (एमाले) मा माधब नेपाल समुहका भनेर चिनिएका दोस्रो पुस्ताका नेता भिम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेस भट्टराई आज दुबिधामा हुनुहुन्छ । उहाँहरु नवौँ महाधिवेसनदेखि माधव नेपाललाई साथ दिँदै आउनुभएको छ । उहाँहरु राजनैतिक तथा सांगठनिक दुबै प्रकारले अध्यक्ष केपी ओलीसँग गम्भिर असहमत राख्नुहन्छ तर विद्रोह गरी आफ्नो राजनैतिक लाइन अगाडि बढाउन संकोच मानिरहनुभएको छ ।
एमालेमा बस्दा ओली पक्षको पेलाइमा बस्नुपर्ने पार्टी फुटाउदा राजनैतिक भविष्य सकिने डरले उहाँहरु पर्ख र हेरको समय बढाइरहनु भएको छ । एमालेका अध्यक्ष केपि शर्मा ओलीले माधव समुहको यो कमजोरीलाई पक्रेर उहाँहरुलाई अझ कमजोर बनाइरहनुभएको छ । स्वय माधव नेपाल आफ्ना सहकर्मीसँग सशंकित हुनु परेको छ किनकी माधव समुहकै स्थापित नेताहरुले ओलीसँग छिटो राजनैतिक लेनदेन गर्न नेपाललाई दबाव दिइरहनुभएको छ तर नेपाललाई ओलीसँग सहकार्य गर्न सजिलो छैन् ।
नेता नेपाललाई पहिलो अफ्ठ्यारो केपी ओलीको कार्यशैलीले पारेको छ । ओली अध्यक्ष भएपछि उहाँले पार्टी संचालन गरेको शैली र प्रधानमन्त्री भएपछि कतिपय विभाग प्रत्यक्ष प्रधानमन्त्री मातहत ल्याएको तरिका हेर्दा उहाँ सामुहिक निर्णय भन्दापनि फटाफट निर्णय गर्ने विधिको पक्षमा हुनुहुन्छ । तर माधव नेपाल सामान्य बहुमतका आधारमा सधै निर्णय प्रक्रियामा विपक्षमा हुनुहुन्छ । उहाँले २०६२/६३ सालको जनआन्दोलनछि खेलेको समन्वयकारी भूमिका स्मरणीय छ । उहाँलाई अडान नभएको नेता भनेर आलोचना गरिएनि तत्कालीन समयमा छलफल र सहकार्य मार्फत आन्दोलनलाई संस्थागत गर्नुपर्ने थियो । माधव नेपाल स्पष्ट नभएर होइन कि सहमतिमा जोड दिँदा उहाँको भूमिकाको आलोचना भएको थियो ।
तर केपि ओलीको कार्यशैली बिलकुल फरक छ, किनकी उहाँले पार्टी को समन्वयबिना सरकार चलाउन चाहनुभयो । पार्टीमा पनि फरक विचार भएकाहरुप्रति उहाँले सहकार्यको भावना राख्नुभएन । फरक विचारलाई सम्मान तथा उचित स्थान दिनुभन्दा उहाँले बहुमतका आधारमा पेलेर जाने निति अख्तियार गर्नुभयो जसले एमालेमा बिग्रहको वातावरण बन्न गयो । ओली र नेपालका फरक कार्यशैलीका कारण एमालेको संगठन परिचालनमा समेत प्रभाव पारेको छ । पार्टी एकता कायम राख्न दुबैले कार्यशैलीमा संझौता वा एक अर्काका भावनामा सम्मान राख्नुंपर्ने देखिन्छ जुन तत्काल संभव देखिदैन ।
दोस्रो केपि ओलीको अधिनायकबादी कार्यशैली बदल्न वा चुनौति दिन माधव कुमार नेपालले अख्तियार गरेको कदम विधिसम्मत भएन जहाँ उहाँ चुक्नुभयो र केपि ओलीलाई फाइदा भयो । माओवादीसँग पार्टी एकिकृत रहदा संसदीय दल र केन्द्रिय समितिमा ओली स्पस्ट अल्पमतमा पर्नुभएको थियो । प्रचण्ड र माधव मिलेर बहालबाला प्रधानमन्त्रीलाई पार्टिबाट कारबाही गरी हटाउने योजना बनाउनुभयो जुन बिधिसम्मत थिएन । पार्टी अध्यक्षलाई केन्द्रिय समितिमार्फत हटाउनु बिधिसम्मत थियो तर प्रधानमन्त्रीबाट हटाउन संसदीय दलमा दलको नेताबाट हटाउने बिधिलाई उहाँले पालना गर्नुभएन । केपि ओलीले पार्टी भित्रबाट सरकार चलाउन अवरोध भयो भनेर संसद विघटन गर्नुभयो जसलाई सर्वोच्च अदालतले अस्विकार गरेको थियो ।
अदालतको निर्णयले पार्टीको किचलोको कारण संसद विघटन नहुने प्रष्ट पारेको छ जसको अर्थ संसदमा पार्टी निर्णय भन्दा संसदलिय दलको निर्णय निर्णायक हुन्छ । माधव नेपाल र प्रचण्डले संसदिय दललाई उपेक्षा गर्नुभयो या संसदीय दलमा फेस गर्ने हिम्मत जुटाउनुभएन जुन गलत थियो । जसले ओलीलाई अधिनायकवादी भनेर आरोप अगाउनुभयो तर आफूले अलोकतान्त्रीक तथा बलजफ्तीको बाटो समात्नुभयो जसले ओलीलाई नैतिक बल पुर्यायो । पार्टीमा आफ्ना विचार खुलस्त राख्ने लोकतान्त्रीक अभ्यास विपरित उहाँले केन्द्रीय कमिटीको बैठक बाहिर कहिले सचिवालयका त कहिले स्थाइ समितिका नेतासँग गुटगत गोप्य बैठक र भेला गर्नुभयो । त्यस प्रकारका गतिबिधिले ओलीलाई शक्ति सञ्चय गर्न बाध्य बनायो भने अर्कातिर पदका लागि षडयन्त्र गरेको आम जनतामा पर्न गयो जसले माधव नेपालको राजनैतिक कद घटाएको छ ।
तेस्रो एमालेमा सिद्धान्त र विचार भन्दा पद र शक्तिको आकर्षण बढी देखिन्छ । एमालेको संस्थापक नेता भएका कारण त्यसको नैतिक जिम्मेवारी नेता नेपालले पनि लिउनुपर्दछ । ओली वा उहाँका पक्षका नेतालाई मात्र पद लोलुपको आरोप लगाउनु अन्याय हुन्छ यो प्रबृति सिङ्गो एमालेमा झाङ्गिएको छ । जसको जिम्मेवार ओली मात्र होइन माधब नेपाल झन् बढी जिम्मेवार हुनुहन्छ किनकी हाल अध्यक्ष ओली भएपनि नेपाल चार दशक अघिदेखि एमालेमा नेपाल नै निर्णायक हुनुहन्छ । उहाँलाई साथ दिँदै आउनुभएका दोस्रो तहका नेताले जुन ढुलमुलपन देखाउनुभएको छ त्यो विचार र सिद्धान्त भन्दापनि पद र शक्तिलाई प्राथमिकता राखेको देखिन्छ । यो प्रवृतिले एमालेलाई मात्र होइन देशलाई नै नोक्सान पुर्याउने संभावना छ तसर्थ पद र शक्तिका लागि जसको चाकरी गर्नपनि वा अपराध गर्न पनि पछि नपर्ने जुन जमात तयार हुँदैछ यसका विरुद्द लड्न कस्तो निति र ब्यवहार अख्तियार गर्नुहन्छ त्यसमा माधव कुमार नेपालको सफलता र असफलता जोडिनेछ ।
यदि शक्ति आर्जनलाई प्राथमिकतामा नराखी साच्चै लोकतन्त्र र संविधानादका लागि ओलीको विरोध माधव नेपालले गर्नुभएको हो भने एमालेमा उहाँको पुनरागमन असंभव छ । एमालेमा उहाँ फर्किदा पार्टी फोडेको आरोपबाट बचेपनि एमालेको सरकार ढालेको तथ्यबाट बच्न सक्नुहुन्न । केपि ओलीको समुह एमालेमा शक्तिशाली भएको हुँदा एमालेमा उहाँको राजनैतिक लाइन पास हुन सक्दैन । अर्काेतिर शक्ति आर्जनका लागि लोकतन्त्रको कुरा गर्नुभएको हो भने एमालेमा फर्केर आउदा पार्टी विधानको सत्तरी बर्षे उमेर हदका कारण उहाँलाई विदा गर्न उहाँका सहयोगीले नै कुनै कसर बाँकी राख्ने देखिदैंन ।
एमालेको विधान संसोधन भए ओलीका लागि नै हुनेछ । ओलीलाई शक्तिहिन गराउन उहाँले जे जे प्रपञ्च गर्नुभयो या गर्नु हुनेछ सबैको मुल्य माधव नेपालले चुकाउन पर्ने निश्चित छ किनकी ओली र माधव एउटै राजनैतिक डुङ्गामा सवार हुनुहुन्छ । आज एमालेको दोस्रो पुस्ता माधव र ओलीविनाको पार्टीको सपना देखिसकेको छ । चाहे ओलीलाई होस या माधवलाई साथ दिएका दुवैतिरका नेता सक्ती आर्जन गर्न उहाँहरुलाई साथ दिए पनि उहाँहरुको कचकचबाट दिक्क भएका छन् ।
एमाले फोरेर प्रचण्डसँग राजनैतिक सहयात्रा गर्न माधव नेपाले सक्नुहुन्छ तर उहाँलाई साथ दिदै आएका नेता कार्यक्रताको ठुलो पंक्ति एमालेमा रहने निस्चीत छ । अर्काेतिर प्रचण्ड पनि आफ्नै सक्रिय राजनितिमा भएको हुँदा त्यो समुहमा पनि माधव नेपाल मुख्य नेता बन्न सक्नुहुन्न । दोस्रो वरियता त ठुलो पार्टी एमालेमा नै पाउनुभएकै छ । यदि अहिले चर्चामा आएको जस्तो उपेन्द्र यादव, बाबुराम र प्रचण्डसँग मिलेर सामाजिक पार्टी बनाउन सकिन्छ तर वैचारिक तथा सांगठनिक रुपमा माधव नेपालले केही उपलब्धी पाउनुहुने छैन । उहाँले जिवनभर कम्युनिस्ट राजनिति गरेर कमाएको साख गुम्ने छ यो त खालि केपि ओलीका रिसले चालेको अराजनैतिक कदम हुनेछ ।
माधव नेपालले सक्रिय राजनिती गर्ने हो भने नयाँ पार्टी गठन नै उहाँको एकमात्र राजनैतिक विकल्प हो । अहिले पनि एमालेको तेस्रो पुस्ताका केही नेता साथ दिन तयार देखिएका छन् । राजनिति भिड जम्मा पार्ने खेल होइन यो त विचारले समाजलाई दिग्दर्शन गर्ने अभियान हो तसर्थ माधव नेपाल साच्चै लोकतन्त्र र बिधिको शासन चाहनुहन्छ भने एक्लै हिड्न तयार हुनुहुनेछ । मोहनविक्रम सिंह, मोहन बैद्य, सिपी मैनालीलाई हेरेर हिम्मत जुटाउनभयो भने माधव नेपालले इतिहास रच्न सक्नुहुनेछ नत्र इतिहासमा पढिने अवसरवादी भारदारहरुको कथामा उहाँ पनि थपिनुहुनेछ । विचार उठाएर मात्र हुँदैन जनतालाई बुझाउन तथा उठाउन बुद्ध जस्तै राजपाठ छोडी जनतामा जान हिम्मत कस्ने मात्र जनताको हृदयमा बस्न सक्छ ।