काठमाडौं, साउन २६ । विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयले कोभिड-१९ प्रतिकार्यलाई सुदृढ बनाउन गर्दैआएको निरन्तर सहयोगको एउटा हिस्साकोरुपमा १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औषधी र सामग्रीहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग असपताल टेकुमा भएको कार्यक्रममा २५ हजार एम्पल्स डेक्सामेथाजोन, दुई हजार वटा अक्सिजन कन्सनट्रेटरहरु, २४ हजार वटा भेन्चुरी मास्क, करिब पाँच लाख अक्सिजन नसल क्यानुला, छ लाख मास्क र पाँच लाख सर्जिकल ग्लब्स सहितका सामग्रीहरु विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले माननीय स्वास्थ्य राज्यमन्त्री, श्री उमेश श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
“देशमा संक्रमितहरुको संख्या र अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढेको अवस्थामा हामीले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरेका छौं, विश्व स्वास्थ्य संगठनले कोभिड-१९ गम्भीर बिरामीहरुको उपचार र ब्यवस्थापनमा सहयोग गर्दैआइरहेको छ र यो हस्तान्तरण कार्यक्रम त्यसको एउटा हिस्सा हो । महामारीको यो समयमा सहयोग प्रदान गर्न पाउँदा हामी खुसी छौँ ।“ डा. राजेश पाण्डवले भन्नुभयो ।
कोभिड-१९ को दोस्रो लहरसंगै नेपालले कोभिड-१९ का गम्भीर बिरामीहरुको उपचारमा प्रयोग हुने औषधी डेक्समेथाजोन लगायत अत्यावश्यक मेडिकल सामग्रीहरुको अभाव खेप्नुपर्यो अक्सिजन थेरापी लिईरहेका, आईसियू भर्ना भएका वा भेन्टिलेटरमा रहेका बिरामीहरुलाई डेक्सामेथाजोन औषधी अत्यावश्यक छ ।
त्यसैगरी, पर्याप्त अक्सिजन आपूर्तीको कमी अर्को प्रमुख चुनौती थियो । विश्व स्वास्थ्य संगठनबाट सहयोग स्वरुप प्रदान गरिएका दुई हजार अक्सिजन कन्सनट्रेटरहरु आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदिन सहयोगी बन्नेछन् । श्वासप्रश्वासमा कठिनाई भएका वा अक्सिजनको मात्रा एकदमै कम भएका बिरामीहरुलाई आवश्यक मात्रामा अक्सिजन पुर्याउन अक्सिजन कन्सेनट्रेरहरु प्रयोग गरिन्छ । अक्सिजन कन्सनट्रेटर र डेक्सामेथाजोन दुबैले हजारौँ मानिसहरुको जीवन बचाउन सकिने अपेक्षा गरिएको छ ।
“अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुभएकोमा नेपाल सरकारको तर्फबाट म विश्व स्वास्थ्य संगठनलाई धन्यवाद दिन चाहान्छु । महामारीको शुरुवातदेखी नै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोभिड-१९ प्रतिकार्यमा बिभिन्न खालको सहयोग प्रदान गर्दै आइरहेको छ । प्राप्त भएको यति धेरै अक्सिजन कन्सेनट्रेरहरु र अन्य मेडिकल सामाग्रीहरुले हाम्रो कोभिड-१९ प्रतिकार्यलाई सुदृढ बनाउन आवश्यक श्रोतसाधनको परिपूर्ती गर्न महत्तवपूर्ण भूमिका खेल्नेछन् । अब यी सामाग्रीहरुको आवश्यकता भएका देशभरिका दुरदराज गाउँठाउँमा पुर्याउन मन्त्रालयले काम थाल्नेछ ।” माननीय स्वास्थ्य राज्यमन्त्री श्री उमेश श्रेष्ठले भन्नुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको वितरण योजना अनुसार स्वास्थ्य समाग्रीहरु नेपालभरिका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साता भित्र सुरु गर्ने लक्ष लिएको छ ।
महामारीको शुरुवातदेखी नै कोभिड-१९ को प्रतिकार्य गर्न विश्व स्वास्थ्य संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गर्दै आइरहेको छ । विश्व स्वास्थ्य संगठनले ल्यावको क्षमता विकास, दक्ष जनशक्तीहरुको क्षमता विकास, नीति र निर्देशिकाहरुको निर्माण लगायत बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।