काठमाडौं, साउन २७ । बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी चोभारमा सुख्खा बन्दरगाह निर्माणको काम सकिएको छ । अढाई वर्ष लगाएर निर्माण सम्पन्न भएको बन्दरगाहमा जाँचपास र क्वारेन्टिन के कसरी गर्ने भनेर टुंगो भने लाग्न सकेको छैन ।
ठेकेदारले निर्माण सम्पन्न गरेर बुझाएको एक महिना बित्दासम्म यो कहिले देखि सञ्चालनमा आउँछ भन्नेमा सरकारी निकायसँग यतिबेला ठोस जवाफ छैन ।
अहिले काठमाडौैं ब्यापारको मुख्य क्षेत्र भएपनि यहाँ आउने सामानहरु बिरगञ्ज भन्सारमा जाँच गराउनुपर्छ । जसका लागि सवारी साधनहरु दुई दिनसम्म भन्सार नाकामा बस्नु पर्ने स्थिती छ । चोभारमा हालैमात्रै निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाहको सञ्चालनमा आएसँगै काठमाडौंको कन्टेनर बोकेका सवारी साधनसोझै काठमाडौं आउन पाउनेछन्, बिरगञ्जमा रोकिनु पर्नेछैन ।
निर्माण कम्पनीले सुख्खा बन्दरगाहको निर्माण सम्पन्न गरेर बुझाएको अहिले एक महिना बित्यो । जसमा अहिले प्रशासनिक भवन, गोदाम, क्वारेन्टाइन भवन र पार्किङ स्थल सबैको निर्माण पुर्ण रुपमा सकिएको छ । तर, भन्सार विभागले यो बन्दरगाहमा के कसरी सामानको चाजपास गराउने र प्लान्ट क्वारेन्टिन तथा बिषादि व्यवस्थापन केन्द्रले क्वारेन्टीन के कसरी गर्ने भनेर टुंगो लगाउन नसक्दा अहिले यो सञ्चालनमा आउन सकेको छैन ।
भन्सार विभागले अहिलेसम्म यसका लागि आवश्यक कर्मचारी पनि पठाएको छैन । जसका कारण यो कहिले देखि सञ्चालनमा आउँछ त भन्ने सरकारी निकायसँग ठोस जवाफ छैन ।
सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै काठमाडौंको कन्टेनर बोकेका सवारी साधनसोझै काठमाडौं आउन पाउनेछन् । बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुत मार्ग, चीन र भारतबाट आउने रेललाई पनि जोडेर ट्रान्जिट हब बनाउने भनिएको यो सुख्खा बन्दरगाहमा अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय राखिने भएको छ ।
हिमाल सिमेन्टको करिब ३० करोड रुपैयाँ बैंकको ऋण तिरेर सरकारले यो आयोजना निर्माण गर्न लागेको हो । ३५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने गरी निर्माण हुँदै गरेको यो बन्दरगाहमा विश्व बैंकको १ अर्ब ६७ करोड ऋण सहयोगमा निर्माण गरिएको हो ।