काठमाडौं, साउन २७ । ताजा र हाईजेनिक मासु डेलिभरीको लागि शुरु भएको अनलाइन प्लाटफर्म ‘मासु’ ले आफ्नो सेवा शुरु गरेको छ । ‘मासु’ बाट सेवा लिन मोबाईल एप्लिकेशन र वेब ब्राउजरबाट अर्डर गर्न सकिने छ । मासुको हाईजिन कायम राख्नको लागि तथा बाह्य संक्रमणबाट जोगाउनको लागि भ्याकुम प्याकिंग गरी शुन्य देखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजना सहित ‘मासु’ एप शुरु गरिएको बताईएको छ । यो एपलाई दुई युवाहरु विकास गिरी र बिशाल रथ गिरीले संचालनमा ल्याउनुभएको हो ।
’हामीले ताजा र हाईजेनिक मासु समयमै उपलब्ध गराउँछौं, जुन कहिल्यै फ्रोजन भएको हुनेछैन । मासुलाई उपयुक्त तापक्रममा तयार तथा स्टोर नगर्ने हो भने ३० मिनेट भित्र मासुमा अत्याधिक ब्याक्टेरिया वृद्दि हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि घातक हुन सक्छ’, संचालक बिकास गिरीले बताउनुभयो । गिरीका अनुसार ‘मासु’ ले बेच्ने मासु ग्राहकको हातसम्म पुग्दा विभिन्न १२ प्रकारका गुणस्तर जाँच पास गर्नेछ ।
मासु अर्डर गर्नको लागि एन्ड्रोईड फोन प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट मासु एप डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताको लागि छिट्टै एप स्टोरमा उपलब्ध हुने बताईएको छ भने वेब ब्राउजर मार्फत डब्लु डब्लु डब्लु डट मासु स्टोर बाट पनि अर्डर गर्न सकिनेछ ।
प्रारम्भिक चरणमा काठमाडौं उपत्यकामा १२० मिनेटभित्र निशुल्क डेलिभर हुने गरी तयारी गरिएको गिरीले बताउनुभयो । यो सेवा विस्तारै देशैभर पुर्याउने योजना रहेको उहाँले बताउनुभयो । ‘मासु’ एप बाट खसीको मासु रु. १०५० देखि किन्न पाईने बताइएको छ । बुधवारदेखी प्रि अर्डर शुरु गरिने तथा श्रावण ३० गतेदेखि डेलिभरी सेवा शुरु गरिने संचालक बिशाल रथ गिरीले बताउनुभयो ।