Kath khabar
रु. १०० को नोट हेर्न जान्थ्यौं ।  हातमा बटाटेर टुप्पो मात्र हल्लाएर देखाइदिन्थे ....
०३१ सालको बद्री प्रसाद हुमागाईँको तस्बिर। साथमा धर्मपत्नी र छोरा।

ललितपुर, साउन ३० । अघिल्लो हप्ताको क्रमश:

दशैंको लागि भेडाच्याङ्ग्रा किन्न टुडिखेल जानुपर्थ्यो । टुँडिखेल नि ठूलो थियो। वल्लो छेऊ देखि उता विश्वज्योति असन जाने बाटोसम्म हुन्थ्यो । १०/११ सालमा एउटा भेडाच्याङ्ग्राको मोल १२ रुपैंया थियो ।

यो भनाई हो, ८३ वर्षिय बद्री प्रसाद हुमागाईँको । 

हुमागाईँ आझै भन्दै जानुभयो...

भकारीले बेरेर राखेको हुन्थ्यो । अनि थाक्सेले ‘ल दर बस्यो’ भनेपछि भकारी खोल्दिन्थ्यो अनि छान्न जान्नुपर्ने । जोख्ने चलन थिएन । २२/२५ धार्नीसम्मका पाइन्थ्यो । कसैलाई १८/२० धार्निको पनि पर्थ्यो ।

अझ पछि पछि त १४/१५ धार्नीका पनि पर्थ्यो । दर एउटै हचुवाको भरमा । अनि त्यहि वरिपरि टुँडिखेलको छेउ, उता घण्टाघरतिर धुनिवेशीको अम्बा बेच्न राखेको हुन्थ्यो । खुब खाइन्थ्यो । ४ पैसाको एक भाग/भागमा त्यहि अहिलेको २/२.५० किलो जति हुन्थ्यो । बाउले भेडा डोर्याउने अनि म अम्बा खाँदै पछि पछि लाग्ने । अरु पनि हुन्थे गाउँबाट सँगै जान्थौं । कसैले मिलेर किन्थे दुई भाग लाउँथे, कसैले ४ जना मिलेर किन्थे अनि एक एक खुट्टा भाग लाउँथे । चुरोट खुब खान्थे । 

चिया नास्ता भन्ने चलन नै थिएन । बाले यसो जुल्फी पेडा पनि किनिदिनु हुन्थ्यो । भेडा डोर्याउँदै हिड्न रमाइलो हुन्थ्यो त्रिपुरेश्वर थापाथलि हुँदै आइन्थ्यो । भेडा लस्करै किनेर ल्याएको शहरीयाहरुले खुब हेर्थे । गाडी पनि चल्थे तर एक दुई घण्टामा आउँथे । बग्गी आउथ्यो । साइकल प्रशस्तै थिए तर हामी हिड्दै नै आउँथ्यौं । यो लगनखेलको मिलिटरी क्याम्पबाट सातदोबाटोसम्म माटाका घर अनि तिनमा रक्सी पसल (भट्टी) मासु पसल, सेल पसल थिए । ५/६ फूटको थियो होला बाटो । आने चौटा भन्थे मासु पाइन्थ्यो । भरौटेहरुले खाने । भैँसीको मासु । अनि जाँड रक्सी । एउटा सेलको ८ पैसा पर्थ्यो। आमासँग जाँदा र म रुन्थे । अनि हाम्लाई किनिदिनुहुन्थ्यो । अनि फेरी घरमा भाई र बहिनीलाई पोको पारेर ल्याइदिनु हुन्थ्यो । 

सबैथोक खेतीबाटै चलाउनुपर्ने । दशैं मान्नलाई ३० पाथी भटमास, २ मूरी मकै बेच्नु पर्थ्यो । मकै त अझ भदौ मै सकिइसकेको हुन्थ्यो । त्यसैबाट आमालाई पटुका, फरिया, चोलो, हाम्लाई लुगा सब किन्नु पथ्र्यो । जुत्ताको त चलनै थिएन । मेरो आमाको खुट्टामा जुत्ता चप्पल नपरिकनै मर्नुभयो । सुत्केरी भएको बेलामा भाई जन्मिदा त्यो पाटको जुत्ता नल्लुको, त्यहाँ बाँडेगाउँमा पाइन्थ्यो त्यहि लाउनु भाको हो । परालको पनि पाइन्थ्यो । नेवारहरुे बनाउँथे, त्यहि १५/२० दिन लाउनलाई । 

न्वारनको भोलि पल्टदेखि गाग्रो बोक्न नसकेपनि तसलामा भएपनि पानी बोक्नै पथ्र्यो । असाध्यै दुःखको समय थियो त्यस्तो जमाना । अहिले सुत्केरीहरु ३ महिनासम्म खाटबाट तल ओर्लिदैनन्। भाईको न्वारन गरेको भोलिपल्ट/पर्सिपल्टबाट नै पधेँरोबाट (कार्की डोल, अहिले पनि छ) पानी बोकेर ल्याएर भात, ढिंडो पकाउनुहुन्थ्यो ।

जे छ बारी खेतमा त्यहि खाईन्थ्यो । भदौं भरी मकै नै मकै । मासु खाने उहि दशैंमा नै हो तर मेरा बा अलि उडन्चु । जग्गा बेची-बेची पनि खुवाउनुहुन्थ्यो । २५ रोपनीमा ८ रोपनी बाँकी राखेर सब बेचे । ४ रोपनी खेत पनि बेचे । ३० वर्षमा (२०९० देखि ०२० सालसम्म बा ले सब सिद्धाए । अहिले त्यो सब भएको भए ३० करोड आउथ्यो होला ।

२०९० सालको भूकम्पमा त्यहि दुई पाखे छाप्रोमा मेरो जीबा, जी आमा, फूपु अनि फूपुकी छोरी ४ जनाकै मृत्यु भयो रे भत्कियो रे त्यो अनि । त्यहि दिन बा घर आएपछि अनि फेरी जागिर (पल्टन) मा जानु भएन रे । दुईटा त्यहि भत्किएको टुक्रा टाक्री झ्याल, ढोका, दलिन सब जम्मा गरेर अर्को घर बनाए बाले । म जन्मिएको २०९५ सालमा त्यहि घरमा अनि ०२६ सालमा ऊ त्यो (श्रीमतीतिर इङ्गित गर्दैं) भित्रिएकी । अनि मैले २०२८ सालमा त्यहि ठाँउमा अर्को घर बनाएको दुई तलाको । 

मेरा बा ०२० सालमा अनि आमा ०३४ सालमा बित्नु भएको । त्यहि बचेको ८ रोपनी मध्ये ४ रोपनी बा ले अरु कसैलाई भोगबन्दकी दिईसकेको । राजिनामा चाँहि धन्न गरेका रैनछन् र मैले पछि निखने त्यो । त्यो सबै यहि श्रीधर बाजेको गोदावरी भिलेज रिसोर्टलाई बेचेर यतामाथि आको । त्यस मध्ये आधा लिएर भाइ भैरहवा गयो । उसको परिवार उतै छन् । त्यहि आँधाले मैले छोरो पढाएर (मेकानिकल इञ्जिनियर, एस.पी.सशस्त्र प्रहरी) यत्तिको जिन्दगी बिताउँदै छु । 

चोर बदमास त त्यतिखेर नि थिए । खेतबाटै धान चोर्थे, कुर्नुपथ्र्यो । अहिले त नोट मात्रै चोर्छन् । त्यतिखेर गहुँ, मकै, धान चोर्थे । धान अलिअलि पहेँलो हुनथालेपछि खेतबारी मै छाप्रो हालेर कुर्नुपर्ने । कोहि कोहि अलि गतिलासँग त टर्च पनिहुन्थ्यो । अनि रातभरी खबरदार ! भनेर लठ्ठी, खुकुरी बोकेर बस्थे । 

जुवातास पनि त्यतिखेर नै असाध्यै खेल्थे । फूलपातीको हर्षबढाइ पछि जुवा फुक्थ्यो नि दशैंमा भकारी भरी अन्न नि हुन्थ्यो, अलि फूर्सद नि हुन्थ्यो । अलिअलि अन्न बेचेको पैसाले दशैंको किनमेल, आमालाई फरिया चोली, पटुकी अनि छोराछोरीलाई लामो लामो दौरा सुरुवाल, छोरीलाई चुरा सब पुर्याउनु पर्ने । चुरा त चुरौटेले डोकोमा बोकेर बेच्न ल्याउँथे । पसलमा गएर किन्ने भन्ने थिएन । २/२ वटा चुरा लगाईदिन्थे ।

दौरा सुरुवाल त रङ्ग न ढङ्गको हुन्थ्यो बहुलाहाले लगाएको जस्तो । पसलहरु थिए । नाङले पसल, जेठाको पसल, लुमनेको पसल आदि । पुष्टकारी नरिवलहरु पाइन्थ्यो । यताका सिलवालहरु अलि धनी पहिलेदेखिनै । दौरा सुरुवाल, कमिज सुरुवाल, जुत्ता लगाउँथे नत्र नसक्नेले चाहि कछाड, कट्टु त्यस्तै हो । मेरा बा र मैले नि दौरा सुरुवाल नै लगायौं सकि नसकी पनि । सँगतै त्यस्तै थियो नि त । कछांड लाएनौ कहिले पनि । अन्त भन्दा अलि बढि विकास थियो यो ठाँउमा । यो मूलबाटो पर्यो नि त । सिलवालहरु त्यतिखेर लप्टन, कप्तान, मेजर भैसकेका पनि थिए । 

दशैंका लुगा पनि दमाई घरमै आएरै सिउनुपर्ने । ३ छाक खान दिनुपर्ने । बिहान भात, दिउँसो खाजा सब । हातैले सिलाउँथे, मेसिन थिएन । दिनभरीमा एउटा चोलो, एउटा दौरा सिलाउँथे । सबैलाई त्यहि बेला चाहिने । सोह्र श्राद्धभन्दा पहिले देखि नै, भदौं लागेपछि नै शुरु हुन्थ्यो । जहान, छोराछोरी सब लिएर आउँथे । सबैलाई खुवाउनुपर्ने । हामीले ढिंडो खाएपनि उनिहरुलाई भात नै खुवाउनु पर्ने । दाल, तरकारी, गुन्द्रुक, साग जे छ त्यहि । दिउँसो मकै, भटमास, चिउरा जे छ त्यहि अनि साँझमा चाहि दिएर पठाउनुपर्ने । पुन्की भन्थे जसमा त्यहि तरकारी, चामल, गुन्द्रुक आदिहुन्थे, पिठो लादैनथे । त्यसदिन भ्याइएन सिलाएर भने फेरी भोलि, पर्सिपल्ट आउँथे अनि खान्की त्यसैगरी खुवाउनुपर्थ्यो । दौरा मात्र लाएर दौडिन्थ्यौ हामी, सुरुवाल सिलाउन भ्याइएन भने । रक्ति चिउरा खाएर पिङ खेल्न जान्थ्यौ हामी । बाँसको लिङ्गे पिङ, उठ्थ्यौं हामी दङ्ग परेर । बाबियोको डोरी बाटेर, ४ सुरमा ठूलाठूला बाँस गाढेर, अनिमाथि गरालो हालेर त्यसमै पिङ बाँधेर झुड्याउथे । हामी भुराभुरीको त पालो नै नआउने । रात परिसक्यो खेल्नै दिदैनन थिए । बल्लतल्ल रोईकराई गरेपछि एक सर्को खेलाइदिन्थे । अनि घर जान्थ्यौ हामी ।

बेला त त्यहि राम्रो जस्तो लाग्छ, अहिले भन्दा । खान त पाईएको छ तर हाम्रो पालामा सयको नोट देख्न नि गाह्रो त गाह्रै थियो । हरि, गोबिन्द चा, बाबुराम भैरे, हामी सब गोठालोहरु, माछा माथ्यौं । ओखरको खोपि खेल्थ्यौं । कौडा, तास ठूलाहरुले खेल्थे । अहिले नियम कानुन त बनाका छन्, तर त्यतिबेला पनि गल्ती, नराम्रो गर्नेलाई झ्यालखानामा हाल्थे । फाल्तु खर्च धेरै थिएन ।

सिनेमा हर त सुरुमा जनसेवा आको । पछि २५/३० सालतिर अशोक आयो क्यार । जय नेपाल नि पुरानो हो । दरबारमै हुँदा “प्रभु, सरकार सिनेमा हेर्न पाऊँ” भनेर बिन्ती बिसाएपछि शेर बहादुर भन्ने बैठकेको साथ लगाएर जय नेपालचित्र घरमा “मासुका” भन्ने हिन्दी फिल्म हेरेको । एक सुकामा फोर क्लास अनि ७० पैसामा थर्ड क्लास थियो । पछि पछि त म र गोबिन्द चा बाठो भएर आफै जान थाल्यौं । काममा ठग्दै फूत्त निस्किन्थ्यौं । थाहा पाएपनि कामबाटै निकाल्दैनथे । चोरी चकारी गर्नेलाई चाहि हटाउँथे । नाम्लोको पाता जस्तो धागोको कोर्रा जस्तो हुन्थ्यो, त्यसैले फिलामा, पिडौलामा हान्थे । अनिमाफी माग्यो हात जोडेर अनि फेरी काममा लाग्यो ।

गालीचाहि खुब गर्थे । राम्रै थियो दरबारमा । सुरक्षा राम्रै थियो तैपनि चामल/धान चोर्ने पनि थिए, कुखुराका फूल पनि चोर्थे । हाँसका फूल पनि टन्नै हुन्थ्यो । बिहानै पाथ्र्यो हाँसले, टोकरीका टोकरी हुन्थ्यो । हाँसको रेखदेख गर्ने छुट्टै थिए, गाई हेर्ने छुट्टै । जातजातका थिए गाई, कुखुरा पनि । लामा लामा अग्ला थिए कुखुरा पनि । अनेक परिकार बन्थे तिनका दरबारको लागि । चप, बरी, टिकिया जस्ता खाना पनि बन्थे । तालिमे केटीहरु हुन्थे त्यस्तो बनाउने, तिनीहरुलाई ‘खान्से’ भन्थे । भान्से बाहुन-खान्से नानी ।

२ ओटा हल थिए त्यो दरबारमा । कहिलेकाँही फिल्म ल्याउँथे त्यो । राणाहरुलाई सम्मान गरेको, नेताहरुले भाषण गरेको भिडियोहरु देखाउँथे । नाच्ने नर्तकीहरु दरबारमै थिए । २००७ सालमै गएको राणातन्त्र, म त्यो दरबारमा गएको त २०११ सालमा । मै सरहका कोहि अझै पढेर अमिन पनि भए, मैले पढिन । किताब किन्ने पैसा पनि भएन अनि पढ्न त्यति मन पनि लागेन । अनि ८ कक्षा पढेपछि एकजना मास्टरले लगिदिनु भएको त्यो दरबारमा २०१३ सालसम्म त्यहाँ काम गरेर ०१४ सालमा कलकत्ता गएको म काम गर्न।

अहिलेको समय समाज भन्दा त उहिलेकै राम्रो । गाउँका प्रत्येक घरमा गईन्थ्यो । काम गरिन्थ्यो  अहिले त आफ्नै गाँउले टाढा भए । लछुमनेको घर, भिमसेनेको घर, पूर्णेको घर, राजेन्द्रेको घर, रामेको घर, खत्रीको घर भन्थे । बारीमा डल्ला फोर्ने, मकै छर्ने, घैंया रोप्ने बीऊ राख्ने, रोपाई थर्ने, गहुँ काट्ने सबै काममा गाउँका सबै जान्थे । केटाकेटी पनि १२/१३ वर्षका भए । पछि जानैपर्थ्यो । बाऊआमाले मात्रै गाली गरेर त नपुग्ने नि । आफ्नै पनि टन्नै बारी हुन्थ्यो अनि कताको स्कुल जानु ? खनेरै भ्याउनु पर्थ्यो । ठेला उठ्नेगरी खनिन्थ्यो । बाउले बारीबाट नाम काटेर चिच्याएर बोलाएपछि उतिमाथि घरबाट तम्बाकु भरेर लगिदिनुपथ्र्यो । पसलको किनमेलमा सबैभन्दा पहिले तम्बाकु किन्नु पर्ने । २ पैसाको ५ आनामा तेल, जिरामरीच, खुर्सानी सबै किन्नुपर्ने । अदुवा लसुन समेत । सूर्ति पनि ल्याउनुपर्ने गाँजामा मिसाउनलाई ।

मेरा बा असाध्यै गाँजा खाने । गाँउभरी जोगीखलक थिए अनि मेरा बा सहित १२/१५ जना दिनभरी गाँजा खाने अनि पच्चिस खेल्ने । कौडा, तास चाहि दशैँमा मात्र । अरु बेला त समाउँथ्यो पुलिसले । त्यतिबेला पनि बाँडेगाँउमा पुलिस थियो । फूलपातीदेखी पूर्णिमासम्म चाहि जुवातास फुक्थ्यो खुब खेल्थे ।

हामी चाँहि रु. १०० को नोट हेर्न जान्थ्यौं । गोदावरीका सिलवालहरुसँग थियो । छुन त पाइन्नथ्यो । हातमा बटाटेर टुप्पो मात्र हल्लाएर देखाइदिन्थे । कोहि कोहिले खालमा पनि राख्थे अनि राम्रोसँग हेरिन्थ्यो । ‘मो.रु. एक सय’ भनेर लेखेको हुन्थ्यो । रु. १ को नोट त ०१३ सालमा आएको । अनि पछि रु.५, १०, १०० को आयो । रु. २ को त ०३२/३३ सालमा आएको । धनिमानीका बगलीमा अलि धेरै हुन्थे । गरिबका बगलीमा त अलिअलि । भित्रपट्टिको बगलीमा राख्थे पैंसा । धेरैजसोले सत्र, तुरुप, फराँस खेल्थे तासमा । धेरै हारेपछि एकै पटक जित्नलाई सत्र खेल्थे अनि त्यो पनि हारेर जान्थे । अनि घरघरमा झगडा र मारपिट पथ्र्यो । आमालाई गहना सहना फूकाल्न भन्दा हुन् अनि चम्किन्थ्यो झगडा घरमा ।

रमाइलो नि खास उहिबेला हुन्थ्यो । एउटा मादल मात्र बजेपनि सबै त्यंही झुम्मिन्थे । केटाकेटी, तरुनातरुनी सब जम्मा भएर जान्थ्यौं । पछि रेडियो आयो । उता माइला बाजेको घरमा, हामी झ्यालमुनि गएर सुन्थ्यौं, अनि लखेट्थे । तर हामी फेरी जान्थ्यौं । २०४२/४४ सालतिर होला टि.भीपनि आयो । स्कुलमा थियो । अलि दिन पञ्चायत घरमा राखेको थियो । हामी बेलुका हेर्न जान्थ्यौं । 

रेडियो किनेपछि खुब हल्ला हुन्थ्यो त्यसको गाँउमा । आउन त त्यहि समाचार त आउँथ्यो । तिहारमा देउसी भैलो नि भन्थ्यो रेडियोमा, रमाइलो हुन्थ्यो । राम्रो लाग्थ्यो । पछि क्यासेट आयो, नामचलेका कम्पनीका । फलानाकोमा यस्तो उस्तो क्यासेट रे, ३ हजारको रे भन्थे । अहिले त हातहातैमा टि.भी भए कस्तो नराम्रो । रेडियो, क्यासेट सब हराए । ऊ बेला सबै एकैठाउमा जम्मा हुन्थे, भैसी गाई किनेका कुरा हुन्थे । वस्तुभाउका कुरा हुन्थे । गाँउभरीमा एउटा पसल हुन्थ्यो ४ बजेपछि सबैजना जम्मा हुन्थे । चुरोट, पुष्टकारी, ऐंठे (गहुँको पिठोको, ज्यापूले पकाउने जेरी जस्तै) खान्थे । गफ गर्थे बकुल्लाको बिस्कुट २ पैसामा पाइन्थ्यो ।

सानो छदाँ केटाकेटी बेलामा जुत्ता लाउन पाइएन भन्ने त हुन्थ्यो नि । अरुले लाएको देख्दा । एउटा दशैंमा सिलाएपछि त्यहि लुगा अर्को दशैँसम्म लाउनपथ्र्यो । तलतिरबाट च्यातिन्थ्यो अनि चुड्दै फाल्यो । पछाडी च्यातियो भने त्यसैको बाहुला निकालेर दमाईकोमा गएर टाल्न लगायो । अनि चलिहाल्थ्यो । चामल गतिलो गतिलो थियो । मार्सी जताततै थियो । थापाचिनियाँ, तौली, दुधे मार्सी, सारै मिठो मिठो चामल थिए । तौली भन्ने जातको धानअरुभन्दा धेरै फल्थ्यो । पछि टाइचिन आयो, पोखरेली आयो । मिठो हुन्थ्यो । खै अहिले सब हराए । किनेको भर । 

त्यहि धान गोड्दा आमाको पाखुरासम्म पाछ्थ्यो । धानको पातमा उल्टो काँडा हुन्थ्यो । चोलो त्यहि एउटा हो, पोहोरको दशैँमा किनेको, अर्को दशैं नआई किन्ने थिएन, फाटेर बाहुला सब च्यातिइसकेको हुन्थ्यो । त्यो पछिको पिडाले आमा रातभरी रुनुहुन्थ्यो । अहिले जस्तो ग्लिसिरिन, भ्यासलिन, भन्ने त थाहै थिएन । औषधी भनेकै कण्टकारी, अम्बाको बोक्रा, गुजरगानो यस्तै हुन्थ्यो । भुस बालेर राखिन्थ्यो लामखुट्टे धपाउनलाई रातभरी, धुवाँ भए पनि ।

मेसिन/औजार केहि थिएन, सब खेतिपाती खनेकै भरमा । भारो पर्म चल्थ्यो । हामी नि अरुकोमा जाने, उनिहरु पनि आउँथे । सबैको घरमा आँगन पिढीं, चोटा, कोठासम्म पुगिन्थ्यो । अहिले एकअर्काको घरमा आउजाउको चलनै छैन । कोहि आए भने पनि बाहिरबाटै बिदा । मकै, भटमास, खट्टे जे छ, त्यहि खाइन्थ्यो बाँढेर । खट्टे बनाउन चामललाई दुई पटक भुट्नुपर्थ्यो । २ पटक भुट्न भ्याइएन भने एकै पटक मात्र भुटेको दिन्थे । मामाघर तिर गइयो भने नि यहि दिन्थे । मिठो हुन्थ्यो त्यो पनि ।

अब त खै अनर्थ होला जस्तो छ, वन पनि कतिदिन रहला र ? घर बनेका बन्यै छन् । क्षयनाशको समय जस्तो । मान्छेले मान्छे मार्ने समय । ६० लाखको जन संख्या ४ करोड पुग्न लागि सक्यो । जहाँ भो घरकै समस्या छ । १०/१२ वर्ष अघि यो वरिपरि केहि थिएन । अब अहिले भरियो । बारी मात्र थियो । पौडेल थिए ३ दाजुभाई, सब बेचेर गए । खै कहाँकहाँका मान्छे आएर भरियो । मेरै पनि जीबाको पालामा २९ रोपनी थियो जग्गा । बा को पालामा घट्दै घट्दै गएर अहिले ८ आनामा यहि एउटा घर छ । खै के दियो र नयाँ जमानाले, त्यतिखेर नि दुःखै थियो अहिले पनि दुःखै त छ ।
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update