काठमाडौं, साउन ३१। परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा सुरक्षा संकटबीच अलपत्र नेपालीको उद्धारका लागि सहसचिवको नेतृत्वमा समिति गठन गरिएको जनाएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइतवार बोल्नु हुँदै परराष्ट्र सचिव भरतराज पौडेलले एक समिति गठन गरिएको बताउनु भएको हो।
उहाँले अफगानिस्तानमा रहेका नेपाली कामदारबारे बुझ्न, आवश्यकता अनुसार उद्धारका लागि समिति गठन गरिएको जानकारी गराउनु भयो। उक्त समितिमा सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि सदस्य रहने बताइएको छ। अहिले काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नआएका नेपालीलाई सम्पर्क गर्न सूचना निकाल्ने तयारी गरेको छ।
काबुलमा फसेका नेपालीहरुले आफ्नो अवस्थाबारे अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले बताउनु भएको छ । अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान छ। अफगानिस्तानको राजधानी काबुलको बाहिरी क्षेत्रमा तालिबान प्रवेश गरेका छन्। बीबीसीका अनुसार राजधानी काबुल नजिकको जिल्लाहरु तालिबानले कब्जा गरे सँगै काबलुतर्फ अघि बढेका हुन्।
तालिबानले विदेशी नागरिकलाई आफ्नो मुलुक फर्किन दिने
अफगानिस्तानमा रहेका विदेशी नागरिकलाई विद्रोही संगठन तालिबानले आफनो मुलुक फर्किन दिने भएको छ। अफगानिस्तानको राजधानी काबुल वरपर तालिबान आए सँगै अफगान तथा विदेशी नागरिकहरुमा सन्त्रास छाएको हो। काबुल नजिक आए पछि तालिबानले पहिलो सार्वजनिक विज्ञप्तिमार्फत् विदेशी नागरिकलाई आफनो मुलुक फर्किन दिने बताएको हो। अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ ।
विज्ञप्तिमार्फत् तालिबानले सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने, विवमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने जनाएको छ। यसैबीच अमेरिका, बेलायत लगायतले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाएको छ। पछिल्लो अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ ।
काबुलको बाहिरी क्षेत्रमा रहेका कालाकान, कराबाग र पाघमान रहेको बताइएको छ । तालिबानले आइतबार मात्रै काबुलबाट नजिकै रहेको जलालाबाद सहर कब्जा गरेको थियो । जलालाबादमा पनि तालिबान पुगेपछि अब अफगानिस्तान सरकारको नियन्त्रणमा काबुल र पाँच प्रान्तीय राजधानी मात्र छन् ।
अफगानिस्तानमा कुल ३४ प्रान्त छन् । एक साता भित्रै तालिबानले अधिकांश प्रान्तीय राजधानीहरूलाई कब्जामा लिएको हो ।
यसैबीच अफगानका मन्त्रीहरु भने शान्तिपूर्ण तरिकाले शक्तिहस्तान्तरण गर्ने बताउनु भएको छ।