Kath khabar
विकास बैंकहरुले एकै स्वरमा भने : हामीले पनि आफ्नो सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय गर्न पाउनुपर्छ

काठमाडौं, भदौ २ । विकास बैंकहरुले आफ्नो आफ्नो सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय गर्न पाउनुपर्ने भन्दै नेपाल धितोपत्र बोर्ड समक्ष आफ्नो माग अघि सारेकाछन् । हालको अवस्थामा विकास बैंकहरु पुर्णरुपमा सवल र सक्षम भईसकेको भन्दै विकास बैंकहरुले यस्तो माग गरेका हुन् ।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंक र एसोसिएसन नेपालले आज बुधबार बिज्ञप्ती जारी गर्दे धितोपत्र बोर्डसमक्ष यस्तो माग गरेको हो । एसोसिएसनले भनेको छ, धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी “प्रचलित कानूनबमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकि दिन सक्नेछ” भन्ने र सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिई नेपाल धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ बर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ भन्ने व्यवस्था अनुसार विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिनका लागि नेपाल धितोपत्र वोर्डलाई आग्रह गरेकाछन् ।

विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजतप्राप्त लिई बैंकिङ् सेवा प्रदान गर्दछन् ।  राष्ट्रियस्तरका विकास बैंकहरुको औसत चुक्ता पूँजी तीन अर्व ४० करोड रुपैयाँ नाघि सकेको छ । त्यस्तैगरी विकास बैंकहरुले एक हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई बैंकिङ् सेवा प्रदान गर्दै तीन लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यस्तै गरी, २०७८ असार मसान्तसम्ममा चार खर्ब ४५ अर्व रुपैंयाँ निक्षेप परिचालन गरी तीन खर्ब ८३ अर्व रुपैंयाँ कर्जा प्रवाह गरेका छन्, यो अवस्थामा विकास बैंकहरुलाई पनि धितोपत्र व्यवसाय गर्न अनुमती दिनुपर्छ, बिज्ञप्तीमा भनिएको छ ।   

 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update