काठमाडौं, भदौ २ । साफ च्याम्पियनसिपको उद्यघाटन खेलमा नेपाली राष्ट्रिय फुटबल टिमले आयोजक टिम माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको तालिका आज सार्वजनिक गरेको हो । अक्टोबर एकमा हुने खेलमा नेपालले साविक बिजेता समेत रहेको माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाललले आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यो खेल अक्टोबर तीनमा हुनेछ ।
त्यसपछि अक्टोबर ८ मा सर्वाधिक सात पटकको च्याम्पियन भारत र अक्टोबर एघारमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । शिर्ष दुइ टिम फाइनलमा पुग्नेछन् । फाइनल खेल अक्टोबर १३ मा हुनेछ । सबै खेल माल्दिभ्सको राजधानी शहर मालेमा हुनेछ । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुगेको छैन ।
राष्ट्रिय फुटबल टिम अहिले पोखरामा बन्द प्रशिक्षणमा छ । प्रतियोगितामा पाँच देशले मात्र सहभागिता जनाउनेछन् । पाकिस्तान फिफाको प्रतिबन्धमा छ भने यता भुटानले कोभिडको कारण देखाएर प्रतियोगिताबाट नाम फिर्र्ता लिएको छ । यस अघि बंगलादेशमा हुने भनिएको प्रतियोगिता कोभिडको कारण माल्दिभ्समा सारिएको हो ।