काठमाडौं, भदौ ३ । टेक्सस राज्यका एक पूर्व सिनेटरको प्रयासमा एक वैज्ञानिकले निर्माण गरी अमेरिकामा प्रयोगमा रहेको कोभिड संक्रमितलाई गम्भीर हुन नदिने र अस्पताल जानुपर्ने अवस्थाबाट रोक्ने डाइटरी सप्लीमेन्टको ठूलो मात्रा नेपाललाई सहयोगस्वरुप प्राप्त हुने भएको छ ।
आज एक कार्यक्रमका बीच अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले बसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नेपाललाई प्रदान गर्ने घोषणा गर्नुृभएको हो । यो डाइटरी सप्लिमेन्ट अमेरिकी वैज्ञानिक तथा खोजकर्ता डा. न्याथन ब्रायनले निर्माण गर्नुभएको हो । उहाँले तयार गरेको यो सप्लीमेन्ट अमेरिकी बजारमा विगत १० वर्षदेखि प्रयोगमा रहेको छ ।
कार्यक्रममा बोल्दै डा. न्याथनले यो सप्लीमेन्टीले कोभिड १९ मात्र नभई विभिन्न इन्फ्लूएञ्जाबाट बिरामीलाई गम्भीर हुनबाट रोक्नका लागि विशेष काम गर्ने दाबी गर्नुुभयो । ‘अमेरिकामा १० वर्षदेखि बजारमा उपलब्ध नाइट्रिक अक्साइडको डाइटरी सप्लीमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको हामीले गरेको प्रयोगबाट देखिएको छ । यो डाइटरी सप्लीमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने हुन्छ ।
दैनिक २ पटक दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँछ र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने काम गर्छ ।’ डा. ब्रायनले भन्नुभयो, ‘यस्तो जीवनरक्षक डाइटरी सप्लीमेन्ट कोरोना भाइरसविरुद्धको भ्याक्सिनको कम उपलब्धता हुने नेपालजस्तो मुलुकका लागि वरदान सावित हुनसक्छ ।’
कोभिड १९ का बिरामीहरुको शरीरभित्र नाइट्रिक अक्साइडको सामान्य अंश समेत उत्पादन नहुँदा समस्या देखिने गरेको आफ्नो खोजको क्रममा पत्ता लागेको उहाँले उल्लेख गर्नुभयो । ‘नाइट्रिक अक्साइड भनेको प्राकृतिक रुपमा शरीरभित्र उत्पादन हुने र शरीरलाई चाहिने एक महत्वपूर्ण पदार्थ हो । यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्दछ ।
यसका साथै नाइट्रिक अक्साइडले इन्फ्लेमेसन घटाउने तथा कोरोना भाइरससहितका अन्य इन्फेक्सनविरुद्ध लड्ने प्रतिरोधात्मक भूमिकाको कार्य समेत गर्छ ।’ डा. ब्रायनले भन्नुभयो, ‘हालसम्मको प्रयोग र प्रमाणहरुमा उच्च रक्तचाप, मधुमेह, मोटोपना, ध्रुमपान सेवनकर्ता, मृगौला सम्बन्धी रोगी, मुटुरोगबाट पीडितहरुको शरीरमा नाइट्रिक अक्साइड उत्पादन गर्नसक्ने क्षमताको कमी र त्यस्ता रोगीहरु कोभिड संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ भने उनीहरुलाई लागेको रोग समेत तीव्र गतिमा जटिल बन्नसक्छ ।’
पछिल्लो तथ्यांकअनुसार नेपालमा ४७ लाख ८५ हजारभन्दा केही बढी जनसंख्याले खोपको पहिलो मात्रा र ३४ लाख ४९ हजार ७ सयभन्दा केही बढीले मात्र खोपको दुवै मात्रा लगाउन पाएका छन् ।
खोपको पहुँचबाट अझै पनि निकै ठूलो जनसंख्या टाढा रहेको अवस्थामा कोभिड संक्रमण भइहाले पनि गम्भीर अवस्था आउन नदिन अमेरिकी सहयोगमा प्राप्त डाइटरी सप्लीमेन्ट महत्वपूर्ण सावित हुनसक्ने नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थका चेयरम्यान पारस शाक्यले बताउनुभयो ।
अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर सिनेटर ड्यान शेलील यस डाइटरी सप्लीमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्नसक्ने कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । शेलीले भन्नुभयो ‘नेपालमा पनि कोभिड संक्रमित तीव्र गतिमा बढेका र मृत्यु हुने संख्या समेत बढिरहेको समाचारलाई मैले बेवास्ता गर्न सकिँन । कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपालजस्तो मुलुकका लागि हामीमा चलिसकेको डाइटरी सप्लिमेन्ट काम लाग्नसक्छ भन्ने लाग्यो । त्यही भएर हाम्रो रोजाईमा नेपाल पनि परेको हो ।’
यसैबीच, सो अवसरमा नाइट्रिक अक्साइडसँग सम्बन्धित खोजमा २० वर्षदेखि संलग्न अमेरिकी खोजकर्ता तथा वैज्ञानिक डा. न्याथन एस. ब्रायनले हालसालै कोरोना भाइरसविरुद्ध निकै प्रभावकारी देखिएको लयखष्चष्अष्म नामको औषधि समेत बनाइसकेका जानकारी दिइएको छ । हाल अमेरिकामा यो औषधिको तेश्रो फेजको क्लिनिकल ट्रायल चलिरहेको सो क्रममा बताइएको छ । सो औषधिको क्लिनिकल ट्रायलका लागि नेपाल सरकारसँग पनि अनुमति मागिसकिएको कार्यक्रममा जानकारी दिइएको छ ।
कार्यक्रममा बोल्दै नर्भिक इन्टरनेशनल अस्पतालका संस्थापक बसन्तकुमार चौधरीले अमेरिकामा सफल प्रयोग भइरहेको महत्वपूर्ण डाइटरी सप्लीमेन्टको नेपालमा प्रयोगका लागि विश्वविख्यात वैज्ञानिक तथा खोजकर्तासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘सहकार्यका लागि उहाँहरुले नर्भिकलाई रोज्नुभएकोमा हामी कृतज्ञता ज्ञापन गर्छौ ।’ भन्नुभयो भने, ‘नेपाल सरकारसँग समन्वय गरी अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने सप्लीमेन्ट कोभिड संक्रमितलाई वितरणको व्यवस्था मिलाइनेछ ।’
चौधरीले अमेरिकी पूर्व सिनेटरबाट घोषणा भएको सहयोग नेपाल सरकारले कोभिड १९ को तेश्रो लहर सुरु हुने भनी गरेको प्रक्षेपणभन्दा अगाडि नै प्राप्त हुने र १० हजार बोटलले २० हजार संक्रमितलाई गम्भीर हुनबाट रोक्न सकिने जानकारी दिनुभयो ।