Kath khabar
तालिबानद्वारा अफगानिस्तानका घरघरमा खानतलासी : राष्ट्रसङ्घ

काबुल, भदौ ४ । अफगानिस्तानमा तालिबानहरुले घर-घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ । “अफगानिस्तानका नयाँ शासकहरु सहिष्णुताको प्रतिज्ञाबाट पछि हट्दै गरेका देखिएको छ,” दस्तावेजमा लेखिएको छ । सरकारी सेनालाई पराजित गरी दुई दशकको युद्ध अन्त्य हुनेगरी यही अगस्त १५ का दिन अफगानिस्तानको केन्द्रीय राजधानी काबुल तालिवानले कब्जा गरेपछि उनीहरुले शासन सुरु गरेका छन् ।

कट्टरपन्थी इस्लामी आन्दोलनका नेताहरुले सरकारको पूर्वअधिकारीहरु र यसअघि तालिबानको विपक्षीका लागेका सवैलाई आममाफी दिने घोषणा गरेपनि व्यवहार भने त्यस्तो नभएको दस्तावेजमा उल्लेख गरिएको छ । उनीहरुले महिलाहरुको स्वतन्त्रता नखोसिने, उनीहरुप्रति उदार भावना राख्ने, अघिल्लो शासनकालको भन्दा प्रजातन्त्रीक व्यवस्था लागू गर्ने अपेक्षा पनि धेरैले गरेका थिए । काबुललाई नियन्त्रणमा लिएपछिको पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले इस्लामिक कानुनअन्तर्गत नै महिलाको अधिकारलाई सम्मान गर्ने बताएका थिए ।

तालिवान समूहको खानतलासी र उनीहरुले देखाउन थालेको व्यवहारका कारण अझै पनि हजारौँ मानिसहरु उडानहरुमार्फत राजधानीबाट भाग्ने कोसिस गरिरहेको राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदनमा लेखिएको छ । राष्ट्रसङ्घका लागि गोप्य सूचना सङ्कलन गर्ने आरएचआईपीटीओ (रिप्टो) नर्वेजियन सेन्टर फर ग्लोबल एनालाइसिसको एउटा अति गोप्य सो दस्तावेजमा विपक्षीहरुलाई तालिवान समूहका व्यक्तिहरुले धम्क्याउने गरेको दाबी पनि गरिएको छ ।

तालिबानको नकारात्मक सूचीमा रहेकाहरूलाई एकदमै धेरै सुरक्षा खतरा रहेको र अफगानिस्तानमा आत्महत्याका घटना बढ्न सक्ने चिन्ता पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राजधानी काबुलसहित देशभरि नै अहिले धेरै मानिस त्रसित अवस्थामा रहेको पाइएको छ । काबुलस्थति विमानस्थल बाहिरको अवस्था झनै अस्तव्यस्त रहेको छ । तर तालिबान समूहले भने भाग्न खोज्ने अफगानी नागरिकहरुलाई रोकिरहेको छ । तत्कालीन सरकारलाई सघाउन अमेरिकाले खटाएको सेना फिर्ता भएपछि तत्कालीन तालिबान विद्रोही समूहले विभिन्न प्रदेशहरुको राजधानी कब्जा गर्न थालेको एक हप्तामा केन्द्रीय राजधानी कब्जा गरेको हो ।

उनीहरुले राजधानी कब्जा गर्ने सुनिश्चित भएपछि राष्ट्रपति अशरफ घानीले नै देश छोडेर भागेपछि अफगानिस्तानको शासन अहिले तालिवान समूहको हातमा आएको छ । राष्ट्रपति भागेसँगै उनीहरू २० वर्षपछि पुनः अफगान सत्तामा पुगेका छन् । बीस वर्षअघि अमेरिकी नेतृत्वको फौजले उनीहरुलाई सत्ताबाट हटाइदिएको थियो ।

(रासस)

 

प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update