काठमाडौ, बैशाख ९ । सिभिल बैंकको कर्जा तथा ऋण लगानीमा उल्लेख्यरुपमा बृद्धि भएको छ । बैकले आर्थिक वर्ष २०७७ —०७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको हो । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा बैंकको निक्षेप ६१ दशमलव ९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४ दशमलव ६७ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ८७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४ अर्ब २६ करोड रुपैयाँँ निक्षेप संकलन गरी ५२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बैंकले यस आर्थिक वर्षमा निक्षेप तर्फ २७ अर्ब ७६ करोड रुपैयाँ बृद्धि गरेको छ जुन असार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशत को बढी हो । बैंकको निक्षेपको बृद्धि अन्य वाणिज्य बैंकहरुको तुलनामा बृद्धिदर कममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको छ । त्यसैगरी बैंकले कर्जा तर्फ यस आर्थिक वर्षमा २७ अर्ब ६२ करोड रुपैयाँले बृद्धि गरेको छ जुन असार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको बढी हो ।
बैंकको कर्जाको बृद्धि अन्य वाणिज्य बैंकहरुको बृद्धिको तुलनामा बृद्धि रकममा दशौं तथा बृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको छ । तेस्रो त्रैमासको अन्तसम्म बैंकको ग्राहक संख्या पाँच लाख ४१ हजार नौ सय ८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४ दशमलव ७६ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या चार लाख ४२ हजार चार सय ४२ थियो ।
बैकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१ दशमलव ८१ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म दुुई दशमलव ९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर एक दशमलव १३ प्रतिशतमा झरेको हो ।
बैंकले समीक्षा अवधिमा ५० करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ३९ दशमलव ३९ प्रतिशतले बढी हो ।