काठमाडौं, भदौ ५ । सपना देख्नुपर्छ । त्यसको लागि प्रयास गरिराख्नु पर्छ । पुरा हुने नहुने अर्को ठाउँमा छ तर सपनाले अघिल्लो कदमका लागि सँधै उत्साहित बनाइराख्छ । यस्तै सपनाको चाङ बोकेर काठमाण्डौँ आउनु भएको सरु कथा त्यस्तै छ । धेरै छन् चाहना, अनि पुरा पनि हुँदैछ । चुनौती त छ तर बिस्तारै सबै सहज हुँदैछ । शरु नेपाली फुटबल कि उम्दा स्ट्राइकर, घरेलु फुटबलमा एपीएफक्लबकि भर पर्दा खेलाडी हुनुहुन्छ ।
बाल्यकाल
मोरङमा किर्तीपुर भन्ने सानो गाउँ छ । पहिले यो किर्तीपुर भन्ने गाउँ पनि छ त भनेर मानिसहरु अचम्ममा पर्थे । तर यो परिचीत भइरहेको छ । सायद यो कीर्तिपुर गुमनाम नै हुन्थ्यो होला यदि सरु लिम्बु नजन्मिनुभएकी भए । मोरङको पथरीबाट अलि नजिक पर्छ सरुको गाउँ कीर्तिपुर । बुवा बैदेशिक रोजगारीमा । आमा र तीन भाई बहिनी गाउँमा । घरकी जेठी सन्तान । बुवाले कमाउनु भएको पैसा ऋण तीर्न ठिक्क हुन्थ्यो । अनि आमा चर्खामा धागो कात्नु हुन्थ्यो ।
आमाले धेरै दुःख गरेको देख्न नसकेर उहाँले पनि सघाउनुहुन्थ्यो । अरु बच्चाहरु सुतिरहेका बेला उहाँचाहि मध्यरातसम्म अनि बिहान चार बजे उठेर उन कातेर परीक्षा दिन जानुहन्थ्यो । यहीबाट घरमा नुन तेल किन्न पुग्थ्यो । रातभरी काम गरेर फेरी परिक्षा दिन जाँदा झुपु झुपु हुन्थ्यो । बाल्यकालमा नपाएको अर्को खुशी भनेको उहाँले कहिले पनि आमा बुवासँग घुम्ने मौका पाउनु भएन । साथीहरु आमा बुवासँग चटक्क भएर हिड्दा उहाँको मन अमिलो हुन्थ्यो । आमा भने बिहान उठ्दा पनि त्यही चर्खामा हुन्थे सुत्दा भने डोरी कात्दै गरेका तर यही कुराले उहाँलाई सधै अघि बढ्न घचघचाइरह्यो ।
फुटबल र सरु
फुटबलमै धेरै लगाव थियो । दाईहरुसँग उहाँ फुटबल खेल्नु हुन्थ्यो । धेरै पटक च्यातिएर । धेरै पटक सिलाएका बुट लाउनुहून्थ्यो । नयाँ बुट किन्छु भन्दा परिवारको नाजुक स्थिती अनि खराब समयले उहाँलाई हच्काइदिन्थ्यो तर फुटबलमा भने टाँढा कहिले हुनुपरेन । स्थानीय न्यु स्टार क्लबबाट तत्कालको पुर्वाञ्चल क्षेत्रबाट खेल्न थाल्दा उहाँ बुटको लागि आफै जोहो गर्न सक्ने भइसक्नु भएको थियो । इलाममा भएको राष्ट्रिय स्तरको प्रतियोगिता पछि उहाँको खेलबाट एफीएप प्रभावित भयो । हुन यु–१४ बाट उहाँले यस अघि नेपालको प्रतिनिधीत्व गरिसक्नु भएको थियो ।
श्रीलङ्कामा सन् २०१४ मा भएको अण्डरफोर्टिन च्याम्पियनसीपमा सरु सम्मिलत नेपाली टोली च्याम्पियन बनेको थियो । २०१६ मा एपीएफमा आवद्ध भएपछि भने उहाँको करियरले पछाडि फर्किएर हेर्नु परेको छैन । यु १८ र यु १९ को अन्तर्राष्ट्रिय प्रतियोगितामा उहाँले नेपालको प्रतिनिधीत्व गरिसक्म्नु भएको छ । उमेरसमुहकै प्रतियोगितामा २०१८ मा भुटानमा भएको प्रतियोगितामा नेपालले सेमीफाइनलमा भारतलाई पराजित गरेको थियो । फाइनलमा बंगलादेशसँग हारेपछि उपाधी उचाल्ने मौका गुमाउँदाको पिडा उहाँसँग छ । त्यसपछि एपीएफ क्लबबाट प्रधानसेनापति कपमा प्रतिस्पर्धा गर्दा सरुको प्रदर्शन उत्कृष्ट रह्यो । सो प्रतियोगितामा सरु उत्कृष्ट स्ट्राइकर बनेको थियो ।
अनि राष्ट्रिय टिमको यात्रा
सन् २०१६ तिरको कुरा हो । नेपाली फुटबलमा नयाँ खेलाडी खोजिँदै थियो । उमेर समुहका खेलाडीलाई पनि छनौट गर्दै क्याम्पमा ल्याइएको थियो । त्यो बेलामा नेपालले साफ च्याम्पियनसिपको तयारी गरिरहेको थियो र उहाँलाई बन्द प्रशिक्षणमा बोलाइयो । अनुभवको लागि क्याम्पमा राख्छ होला भनेर उहाँले सोच्नु भएको थियो तर राष्ट्रिय टिममा नै पर्छु भन्ने चाहिँ लागेकै थिएन । उहाँ भन्दा सिनियर र अब्बल खेलाडी क्याम्पमा हुनुुहन्थ्यो ।
“मलाई लागेकै थिएन । किनभने अरु म भन्दा धेरै राम्रो खेलाडी सिनियर दिदीहरु हुुनुहुन्थ्यो क्याम्पमा । म खै कसरी परुँला भन्ने थियो । तर म पनि त्यो टिममा परे आफुलाई विश्वास नै लागेन पटक पटक निहालेर हेरेँ । सबै भन्दा खुशीको क्षण सायद त्यही नै थियो” त्यहीबाट डेब्यु गर्नुभएको उहाँ त्यसपछि टिम बाहिर बस्नुभएको छैन ।
पहिलो पटक राष्ट्रिय टिमको जर्सी पाउँदा कस्तो लाग्यो त ? यो प्रश्नको जवाफ, शब्दले होइन सरुको मुहारमा देखिएको खुशीले दियो । अर्थात् शब्दहरु आवयश्क नै परेनन् । उहाँ भन्नुहुन्छ ‘त्यो खुशी त म वर्णन नै गर्न सक्दिन । रातभरी निन्द्रा लागेन । जर्सी हेरेको हेर्यै गरें । खेलाडीको लागि राष्ट्रिय टिमको जर्सी कति महत्वपूर्ण र विषेश हुन्छ त्यसको ब्याख्या सायदै कसैले गर्न सक्छ ।’ उहाँले २०१६ कै साफ च्याम्पियनसिपमा श्रीलङ्का विरुद्धको खेल सँगै राष्ट्रिय टिमबाट डेब्यु गर्नुभयो । उहाँ दोस्रो हाफमा शर्मिला थापाको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।
फुटबल र पिडाँ
एउटा समयमा सरुलाई लाग्यो । फुटबल छोँडदिउ । बेक्कार खेलेछु । २०१८ मा सरुको कप्तानीमा नेपालले अण्डर नाइन्टिन प्रतियोगिता खेल्दै थियो भुटानमा । त्यहीबेला विदेशमा जानुभएको बुवाको फोन "आयो सायद म अब बाँच्दिन" । बुवा पहिले कतार जानुभएको थियो । कम्पनी राम्रो भएन फर्किनु भयो । फेरी मलेसिया जाँदा ठगिनु भयो र फिर्ता हुनुभयो र तेस्रो पटक फेरि कतार जाँदा राम्रो कमाइ हुँदै थियो तर स्वास्थ्यले साथ दिएन । अनि त्यो फोन पछि बिपक्षीको पोष्ट भन्दा आमाको सम्झनाले उहाँलाई पिरोलिरह्यो । आमाको साथ भएको भए भन्ने भयो । फेरी बुवाले आफ्नो सफलता हेर्न नपाउने हुन् कि भन्ने डर । “ओहो कस्तो डर, तर भग्वान्को कृपाले सबै ठिक भयो । बुवा नेपाल फर्कनुभयो । अहिले म कमाउने भएको छु । घरमा पसल छ । आमा त्यहीँ बस्नुहुन्छ । भाइबहिनी पढ्छन् ।”
खुशीले पछाइरहेको सरु
सरु मिठो हास्नुहुन्छ । बच्चाको जस्तै निर्दोश हासो । लजालु ब्यवहार । नेपालमा २०१९ मा भएको १३ दक्षिउण एसियाली खेलकुदको फुटबलमा श्रीलंका विरुद्ध गरेको गोल उहाँलाई धेरै विशेष लाग्छ । कनेक्सन भनौ वा संयोग । उहाँको करियरका सबै महत्वपूर्ण घटनाहरु श्रलिङ्कासँग जोडिएका छन् । उमेर समूहमा श्रीलङ्कामा च्याम्पियन बन्नु, श्रीलङ्का विरुद्ध डेब्यु अनि श्रीलङ्का विरुद्ध नै पहिलो गोल ।
पोखरामा भएको खेलमा सरु अन्तिम समयतिर मैदान प्रवेश गर्नुभएको थियो र उहाँकै निर्णायक गोलमा नेपालले जित हात पारेको हो । दिन फेरिएका छन् । मुहार चम्किला छन् । सातदोबाटोमा अहिले अभ्यासमा हुनुहुन्छ । उहाँको आत्मविश्वासी कदम निकै सुन्दर छ । गत सिजन भएको महिलाा लिगमा उहाँको टिम च्याम्पियन भयो । र उहाँ लिगकै सर्वोत्कृष्ट खेलाडी । अनि पाकिस्तानी लिग पनि खेल्नु भयो । सायद अब खुशी हुने पालो सरुको हो । अनि दर्शकले नि मयाा गर्नुहुन्छ । सन्देश आउँछन् ।
दर्शकले उहाँलाई झाक्री भनेर बोलाउछन् । सरुको अगाडि स्टारबाट सुपरस्टार लागिरहेको छ । भविष्यको नेपाली फुटबलको नेतृत्वगर्ने छवि भएको खेलाडीको रुपमा हेरिन्छ । सरुलाई । तत्कालको उहाँको लक्ष्य भारतलाई पराजित दक्षिण एशियाली क्षेत्रमा च्याम्पियन बन्ने हो । किनकी नेपालको तगारो भारत नै हो भन्ने लाग्छ उहाँलाई । उमेर समूहमा भारतलाई पराजित गरेपनि सिनियर स्तरमा सफलता मिल्न सकेको छैन । “सपना धेरै ठुलो छ । अब सपना विश्वकप खेल्ने हो । हामी सम्भावना बोकेका खेलाडी हौँ । उचित लगानी आवश्यक छ । एकदिन हाम्रो टिम प्रति नेपालले गौरव गर्नेछ ।” पिडाका बिच गुनासो नगरिकन अघि बढेका सरुका पाइला सपना पुरा गरेर मात्रै रोकिउन् । हाम्रो पनि यही कामना ।