काठमाडौं, भदौ ५ । सरकारले गरेको लगानी बालुुवामा पानी हाले जतिकै भएको देखिएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन अनुसार सरकारले विभिन्न कम्पनीहरुको शेयरमा मात्र तीन खर्ब १५ अर्ब ७० करोड रुपैयाँ लगानी गरेको छ । तर लगानीको तुुलनामा सरकारले गरेको आम्दानी भने निकै न्युन अर्थात शुन्य जतिकै देखिएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखाका अनुसार सरकारले गतबर्षसम्म विभिन्न एक सय १३ संस्थामा दुई खर्ब ९६ अर्ब ९२ करोड रुपैयाँ शेयर लगानी गरेकोमा यो वर्ष थप १२ अर्ब ७२ करोड र बोनस शेयर प्राप्त र समायोजनबाट छ अर्ब छ करोड रुपैयाँ थप भएको छ । यो समेत गरी सबै किसिमका संघसंस्थाहरुको शेयरमा मात्र सरकारको तीन खर्ब १५ अर्ब ७० करोड रुपैयाँ शेयर लगानी रहेको छ ।
यो लगानी मध्ये यो बर्ष सरकारलाई नेपाल राष्ट्र बैंकले नौ अर्ब ९६ करोड, नेपाल टेलिकमले छ अर्ब १७ करोड १७ लाख, नेपाल आयल निगमले चार अर्ब १५ करोड ४७ लाख, कृषि विकास बैंक लिमिटेडले एक अर्ब ४२ करोड ९५ लाख र अन्य ११ वटा संस्थाहरुले दुई अर्ब ६९ करोड २६ लाख समेत गरी १५ वटा संस्थाले २३ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ नगद लाभांस दिएकाछन् । नेपाल बैंकले भने यो वर्ष कुल ७५ लाख छ हजार रुपैयाँ बराबरको बोनस शेयर दिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार बाँकी ९८ वटा संस्थाहरुले भने यो बर्ष सरकारलाई कुुनै पनि प्रतिफल दिएका छैनन । ति संस्थाहरुमा सरकारको कुुल एक खर्ब ९३ अर्ब सात करोड रुपैयाँ लगानी रहेको छ । तर उक्त लगानीबाट प्राप्त भएको प्रतिफल भने हालसम्म शुन्य रहेको प्रतिवेदनमा उल्लेख छ ।