Kath khabar
सरकारी लगानीको नेपाल टेलिकमको आम्दानी वर्षेनि खस्कीदै, इन्टरनेट ब्यापारमा चुक्दाको परिणाम

काठमाडौं, भदौं ९ । सरकारी टेलिकम सेवा प्रदायक संस्था नेपाल टेलिकमको नाफा घट्दो क्रममा छ । समयमा कम्पनीले फोरजी/एलटीइ र एफटीटीएच सेवा विस्तार गर्न नसक्दा यसको आम्दानी घट्दै गएको हो ।

ग्राहकको मागअनुसार इन्टरनेटसहित सेवाप्रदान गर्न नसक्दा प्रतिग्राहक आम्दानी घट्दै गएको महालेखा परिक्षक कार्यालयले जनाएको छ । कम्पनीले नयाँ प्रविधिको प्रयोग र समयमै योजना कार्यान्वयन गरेर ग्राहकको चाहना र माग अनुसारको सेवा विस्तार गरी आम्दानी गर्नुपर्ने देखिन्छ । तर यो विषयमा टेलिकमले पर्याप्त ध्यान पुर्याउन नसकेकाले आम्दानीमा गिरावट आएको महालेखापरिक्षक कार्यालयको भनाई छ ।

निजी क्षेत्रका टेलिकम कम्पनीहरु आक्रामक व्यवसाय गरिरहेका बेला नेपाल टेलिकम भने आफ्नो व्यवसायिक क्षमता दिनानुदिन घटाएर बजार हिस्सा गुमाउन थालेको छ । टेलिकममा ९१.५ प्रतिशत सरकारको, ०.०३ प्रतिशत नागरिक लगानी कोषको र ८.४७ प्रतिशत सर्वसाधारणको शेयर  लगानी छ ।

नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/०७५ मा १७ अर्ब ४८ करोड नाफा कमाएको थियो । जुन अहिले घटेर ७ अर्ब ४५ करोडमा सिमित भएको छ । यो नाफा एक  दशकयताकै कम नाफा हो । टेलिकमले आर्थिक वर्ष २०६९/७० मा ११ अर्ब २९ करोड, २०७०/७१ मा ११ अर्ब ५५ करोड,  र २०७१/७२ मा १४ अर्ब ५६ करोड नाफा कमाएको थियो । त्यसैगरी  २०७२/७३ मा १३ अर्ब ६८ करोड, २०७३/७४ मा १५ अर्ब ३७ करोड र  २०७४/७५ मा १७ अर्ब ४८ करोड, २०७५/७६ मा १० अर्ब र २०७६/७७ मा ९ अर्ब नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षसम्ममा नेपाल टेलिकमको खुद नाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ बराबर र संचित नाफा ४६ अर्ब ४९ करोड ६९ लाख रुपैयाँ बराबर रहेको देखिन्छ । टेलिकमले गरेको लगानीतर्फ ऋण लगानीमा ११ अर्ब ४५ करोड ४ लाख, शेयर लगानी १ अर्ब ६३ करोड ५९ लाख र अन्य लगानीतर्फ ४३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ बराबर छ ।

टेलिकमले सरकारलाई तिर्न बाँकी लाभांश ६ अर्ब १७ करोड ५७ लाख रुपैयाँ बराबर देखिन्छ । त्यस्तै विभिन्न शीर्षकमा सरकारलाई तिर्न बाँकी कर ११ अर्ब ९८ करोड ४८ लाख रुपैयाँ बराबर रहेको छ ।

टेलिकममा स्थायी ४ हजार ७९ र करार ८२ गरी ४ हजार १६१ जना कर्मचारी छन् । टेलिकमका २ करोड ८ लाख ६३ हजार ५ सय ५१ जना ग्राहक छन् । जसमध्ये सबैभन्दा धेरै जीएसएम सेवाका प्रयोगकर्ता १ करोड ९७ लाख ३८ हजार रहेको टेलिकम बताउँछ ।

 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update