Kath Khabar
नेपालमा थप २४८२ जनामा कोभिड १९ को संक्रमण पुष्टि

काठमाडौं, भदौ ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार चार सय ८२ जनामा कोरोना भाईरस (कोेभिड १९) संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी नौ हजार सात सय ११ जनाको आरटी-पीसीआर विधिबाट नमूना परिक्षण गरिएकोमा एक हजार आठ सय ६२ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।

यसैगरी सोही दिन देशका विभिन्न ठाउँमा गरी पाँच हजार पाँच सय ७९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा छ सय २० जनामा संक्रमण पुष्टि भएको हो । यो दुुबै गरी पछिल्लो २४ घण्टामा दुई हजार चार सय ८२ जनामा संक्रमण पुष्टि भएको हो, मन्त्रालयले भनेको छ। 
मन्त्रालयका अनुसार यस अवधिमा कोभिड १९ को संक्रमणबाट थप ४४ जनाको मृत्युु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्युु हुनेहरुको कुुल संख्या १० हजार छ सय १२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार सात सय ८१ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् ।

काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप सात सय ४५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा पाँच सय १५, ललितपुर जिल्लामा ८८ र भक्तपुर जिल्लामा एक सय ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update