Kath khabar
सरकारको बिकास खर्च निराशाजनक, वर्षका ९ महिना बित्दासम्म ७० प्रतिशत रकम खर्च हुन बाँकि

काठमाडौं, बैशाख १० । आमजनताले सरकारले बिकास निर्माण गरोस् भनेर नै कर तिर्ने गरेका हुन्छन् । सरकारले बिकास निर्माण र प्रंशासन चलाउन राजस्व मात्रै हैन ऋण पनि उठाउने गर्छ । तर सरकारले यसरी संकलित रकम भने खर्चन सकेको छैन ।


सरकारले यो वर्षको बजेटमा बिकास निर्माणका लागि भनेर ३ खर्ब ५२ अर्ब छुट्टाएकोमा १ खर्ब ५ अर्ब मात्रै खर्च भएको छ । जसन लक्ष्यको जम्मा ३० प्रतिशत मात्रै हो । यसको अर्थ अबका ३ महिनामा सरकारले बाँकि ७० प्रतिशत रकम  खर्च गर्नु पर्छ । तर ९ महिनामा ३० प्रतिशत खर्च गर्ने सरकारले कसरी ३ महिनामा ७० प्रतिशत रकम खर्च गर्ला त ?


महालेखा नियन्त्रक कार्यालय  सरकारले वर्षको अन्त्यमा गएर खर्च  गर्ने हुनाले यो खर्चलाई निराशाजनक भन्नु नहुने दाबी गर्छ । तर तथ्यांकले महालेखा नियन्त्रक कार्यालयका अधिकारीहरुको भनाई पुष्टि गर्दैन ।


सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बिकास निर्माणले  पछिल्लो समय तिब्रता लिएको बताएका छन् । तर आकडाले भने त्यो पुष्टि गर्दैन । किनभने बिकास खर्च यो वर्ष पनि गत वर्षकै हाराहारीमा भएको छ  । गत वर्षको चैत मसान्तसम्म बिकास खर्च ४ खर्ब ८ अर्ब छुट्टाएकोमा  १ खर्ब ५ अर्ब  अर्थात लक्ष्यको २५ प्रतिशत रकम  मात्रै खर्च भएको  थियो ।

गौरबका आयोजनाको काम नै कछुवा गतिमा


भौतिक पूर्वाधार मन्त्रालयलका अनुसार आयोजनाहरुको काम अहिलेसम्म ४० प्रतिशतसम्म पनि  सकिएको छैन । यही सरकारले नै घोषणा गरेको मदन भण्डारी राजमार्गमा जम्मा ३८ प्रतिशत मात्रखर्च भएको  छ । झापाको शान्तिनगरदेखि डडेल्धुराको रुपालसम्मको  बनाउने भनिएको यो राजमार्गमा ७ सय ६१ किलोमिटर सडक बनाउने लक्ष्य लिइएकोमा अहिलेसम्म २ सय ८७ किलोमिटर मात्र निर्माण भएको छ ।


त्यस्तै १ सय ७५ वटा पुल बनाउने भनिएकामा ७५ वटा पुल मात्र  निर्माण सम्पन्न भएका छन् । मन्त्रालयका अनुसार ३ सय ७३ किलोमिटर सडकको त ठेक्का नै लाग्न नै बाँकि छ ।


यस्तै नारायणघाट बुटवल सडक योजनामा भौतिक प्रगति ४  प्रतिशत मात्रै भएको  छ । सेती राजमार्गमा १५ प्रतिशत पनि काम हुन सकेको छैन । यो वर्षका लागि छुट्याइएको ३० करोड रुपैयाामध्ये चार करोड पनि खर्च भएको देखिादैन । राजधानीकै काठमाडौंको चक्रपथ विस्तारमा महाराजगञ्ज चोकमा १० महिनादेखि स्थानीयको अवरोधले रोकिएको छ ।


महामारीमा पनि सरकारलाई लोभलाग्दो आम्दानी

तर सरकारले राजस्व भने उत्साहजक रुपमा असुलेको छ । सरकारले यो वर्ष १० खर्ब ११ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो । जसमध्ये ६ खर्ब ८३ अर्ब उठाएको छ । जुन लक्ष्यको ६७ दशमलव पाँच नौ प्रतिशत हो ।


गत वर्ष सरकारले ११ खर्ब  १२ अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा ५ खर्ब ९० अर्ब अर्थात लक्ष्यको ५३ प्रतिशत उठाएको थियो । अर्थात गत वर्षभन्दा पनि सरकारले महामारीका बेलामा राम्रो राजस्व प्राप्त गरेको छ । तर त्यसलाई बिकास निर्माणमा खर्चन भने सरकार असफल भएको छ ।


आम्दानी उच्च भएका बेलामा पनि सरकारले खर्चन सकेको छैन  । यति मात्रै हैन सरकारलाई यो वर्ष उत्साहजनक रुपमा आन्तरिक ऋण पनि प्राप्त भएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update