Kath khabar
विदेशीने मुद्रा बढेसँगै सोधनान्तर स्थिती घाटाको नजिक, विदेशी मुद्रा सञ्चिति पनि घट्यो

काठमाडौं, भदौं ११ । देशमा भित्रिने मुद्राको तुलनामा बाहिरिने रकम बढेसँगै देशको सोधनान्तर स्थिती खस्कीन पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तमा २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा रहेको  सोधनान्तर स्थिती चालु आर्थिक वर्षमा २ खर्ब ८१ अर्बले घटेर १ अर्ब २३ करोडले बचतमा हुन पुगेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता यो वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोड रहेको थियो ।

२०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.२ प्रतिशतले कमी आई २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ असार मसान्तमा ०.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७८ असार मसान्तमा १.५ प्रतिशतले वृद्धि भई १२४४ अर्ब ६३ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७८ असार मसान्तमा १२.१ प्रतिशतले कमी आई १५४ अर्ब ३९ करोड कायम भएको छ । २०७८ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.० प्रतिशत रहेको छ ।

२०७७/७८ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।  गत आर्थिक वर्ष २०७७/७८ मा खुद सेवा आय ७२ अर्ब ८५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ९६ करोड ४७ लाखले घाटामा रहेको थियो । गत  आर्थिक वर्ष २०७७/७८ मा सेवा खाता अन्तर्गत भ्रमण आय ८८.१ प्रतिशतले कमी आई ७ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय ६० अर्ब ८९ करोड रहेको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३८.३ प्रतिशतले कमी आई ३२ अर्ब ८० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २४ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ५३ अर्ब १४ करोड रहेकोमा शिक्षातर्फको व्यय २५ अर्ब ८१ करोड रहेको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९६१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।
    

 

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update