Kath khabar
व्यापार घाटा बढ्दा आयात ११ खर्ब भन्दा माथि 

काठमाडौं, वैशाख १० । पछिल्लो समय मुलुकको व्यापार घाटा १२ प्रतिशतले बढेको छ । आयातको ग्राफ उच्च र निर्यात ग्राफ न्यून हुदाँ चालु आर्थिक वर्षको नौ महिना (साउन देखि चैत) सम्मको अवधिमा मुलुकको व्यापार घाटा  १२ दशमलव ४९ प्रतिशतले बढेको भन्सार विभागले जानकारी दिएको छ ।
नौ महिनाको अवधिमा आयात व्यापार १३ दशमलव १२ प्रतिशतले बढेको छ । नौ महिनाको अवधिमा ११ खर्ब ११ अर्ब ३९ करोडको आयात हुदाँ गत आवको सोहि अवधिमा भने नौ खर्ब ८२ अर्ब ५३ करोड आयात व्यापार रहेको पाइन्छ । 
आयात गरिने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलामजन्य सामग्री ,  हवाईजहाज तथा हेलिकप्टरका महँगा सामगी आदि रहेको छन् । नौ महिनाको अवधिमा पेट्रोलियम पदार्थ एक खर्ब ४८ अर्ब ६३ करोड, फलाम र स्टीलजन्य सामग्री एक खर्ब आठ अर्ब ९७ करोड, विद्युतिय सामग्री ८२ अर्ब ७० करोड, अप्टिकल फाइबरहरु १५ अर्ब ६५ करोडको आयात गरिएको छ ।

यस्तै नौ महिनाको अवधिमा निर्यात व्यापार भने २० दशमलव २३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा ९४ अर्ब ७६ करोडको निर्यात व्यपार रहेको छ ।  यस्तै गत आवको सोहि अवधिमा ७८ अर्ब ८१ करोडको निर्यात व्यापार रहेको पाईन्छ ।  नेपालबाट ठूलो मूल्यमा निर्यात हुनेमा भटमासको तेल, पुटवेयर, गार्मेन्ट, जुटजन्य सामग्री, अलैची, अदुवा लगायतका सामग्री रहेका छन् । नौ महिनाको अवधिमा करिब ३० अर्बको तेलजन्य सामग्री, दुई अर्ब ८९ करोडको तरकारी तथा फलफूलजन्य सामग्री, पाँच अर्बको कार्पेटजन्य सामग्रीहरु निर्यात भएको पाइन्छ । 
यस्तै नौ महिनाको अवधिमा वैदेशिक व्यापार  १३ दशमलव ६४ प्रतिशतले बढेको छ । चालु आवको समिक्षा अवधिमा १२ खर्ब ६ अर्ब १६ करोडको कुल वैदेशिक व्यापार रहेकोमा गत आवको सोहि समयमा एक खर्ब ६१ अर्ब ३५ करोडको कुल वैदेशिक व्यापार रहेको थियो । समिक्षा अवधिमा आयात व्यापारको हिस्सा ९२ दशमलव १४ प्रतिशत र निर्यात व्यापारको हिस्ता ७ दशमलव ८६ प्रतिशत रहेको जुन गत आवको तुलनामा आयात निर्यात व्यापार क्रमशः ६ प्रतिशत र एक प्रतिशतभन्दा कम हो । नेपालको भारत र चीनसँगको व्यापार अन्तर फराकिलो रहेको पाईन्छ । भारतसँग मात्र नेपालको व्यापार घाटा नौ महिनाको अवधिमा छ खर्ब ५६ अर्ब ५१ करोड रहेको छ । नौ महिनाको अवधिमा भारतबाट सात खर्ब २४ अर्ब ९४ करोडको आयात तथा छ अर्ब ८४ करोड निर्यात व्यापार रहेको छ । चीनसँग नेपालको व्यापार घाटा एक खर्ब ६३ अर्ब ३३ करोड रहेको छ । नौ महिनाको अवधिमा नेपालबाट ७९ करोड सामग्री निर्यात हुदाँ चीनबाट एक खर्ब ६४ अर्ब १३ करोडको सामग्री आयात गरिएको छ ।

सरकारले उत्पादनमा प्राथमिकता नदिदाँ भान्सामा प्रयोग हुने देखि सवारी, हवाइजहाज, हेलिकप्टर लगायतका महँगा सामग्री समेत आयात गर्नु पर्ने वाध्यता रहेको छ जसले गर्दा मुलुकको व्यापार सदैव घाटामा रहेको पाउन सक्छौं ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update