Kath khabar
विदेशी श्रमिक बढ्दै नेपालमा, सबैभन्दा बढी चिनियाँ 

काठमाडौं, भदौ १२ । नेपालमा विदेशी श्रमिक बढ्दै गएको पाईन्छ । कोभिड १९ का बीच पनि नेपाल आउने विदेशी श्रमिकमा कमी नआएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको छ। आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा नेपालमा आउने विदेशी श्रमिकको संख्या १७ प्रतिशतले बढेको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा नेपालमा काम गर्न आउनको लागि नयाँ श्रम स्वीकृति लिने र सोको नवीकरण गर्ने विदेशीको संख्या दुई हजार ५० रहेको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा भने सो संख्या दुई हजार तीन सय ९० रहेको विभागले जनाएको छ । यसमध्ये आर्थिक वर्ष २०७६/७७ मा एक हजार ९१ नयाँ आवेदकलाई श्रम स्वीकृति दिएको थियो भने नौ सय ५९ कोश्रम स्वीकृति नवीकरण गरिएको थियो । यस्तै आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९० नयाँलाई श्रम स्वीकृति दिएकोमा एक हजार तीन सय गैरनेपालीको श्रम स्वीकृति नवीकरण गरिएको थियो । श्रम स्वीकृति नवीकरण गर्नेको संख्यामा समेत आर्थिक वर्ष २०७७/७८ मा १३ प्रतिशतले बढी अर्थात् नौ सय ५९ बाट बढेर एक हजार तीन सय पुगेको छ।

राष्ट्रिय गौरवका आयोजना देखि लिएर विभिन्न आयोजनामा काम गर्नका लागि दक्ष विदेशी श्रमिक नेपाल आउने गर्नुभएको छ । यसरी नेपालका विभिन्न आयोजनामा काम गर्न आउने दक्ष विदेशी श्रमिकहरुमा सबैभन्दा बढी इन्जिनियर रहेको विभागका प्रवक्ता मणिनाथ गोपले बताउनु भयो।

९० भन्दा बढी मुलुकका प्राविधिक तथा कामदारहरु नेपालमा आउने गरेको पाईन्छ । नेपालमा काम गर्नका लागि भन्दै २०७३ पुस यता चिनियाँ नागरिक ५ हजार चार सय ७४ जना, बेलायती तीन सय ८६ जना, अमेरिकी दुई ३४ जना , भारतीय एक सय ८३ जना, दक्षिण कोरियाली एक सय ६२ जना र अन्य १० हजार ५ सय ९६ जना विदेशीले श्रम स्वीकृति लिनु भएको छ ।

नेपालमा आउने विदेशी कामदारहरु दक्ष रहेको प्रवक्ता गोपले बताउनु भयो। ‘काम नपाएर आउने भन्दा पनि आयोजनाहरुमा आवश्यक विदेशी प्राविधिक नेपालमा झिकाउने गरिएको उहाँको भनाई छ। राष्ट्रिय गौरवका तामाकोशी आयोजना, काठमाडौं तराई द्रुतमार्ग लगायतका आयोजनाहरुमा विदेशी प्राविधिकहरुले काम गरेको पाउन सक्छौं ।

यसैबीच भारतीय कामदारलाई भने नेपालमा श्रम स्वीकृति भने आवश्यक पर्दैन । सोही कारण नेपालमा ठूलो संख्यामा भारतीय कामदार रहेका छन्। सरकारको कोभिड महामारीको समयमा समेत विदेशी प्राविधिकहरुलाई ल्याउनको लागि कार्यविधि समेत निर्माण गरेको थियो । आयोजनाहरु अघि बढाउनको लागि भन्दै महामारीको समयमा “विदेशी श्रमिक ल्याउने सम्बन्धी कार्यविधि, २०७७ ” निर्माण गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयन गरेको थियो।

सरकारले महामारीका कारण स्देशी तथा विदेशी लगानीमा स्थापित उत्पादनशील उद्योगमा श्रमिकको अभाव भएकोले उपभोग्य वस्तुहरुको उत्पादन र आपूर्तिलाई सहज बनाउन भारत, चीन लगायत अन्य मुलुकबाट सुरक्षित रुपमा विदेशी श्रमिक ल्याउने प्रक्रियालाई सरल र व्यवस्थित बनाउन आवश्यक भएकोले मन्त्रिपरिषदको निर्णय बमोजिम मन्त्रालयले उत्पादनशील उद्योगका लागि विदेशी श्रमिक ल्याउने सम्बन्धी कार्यविधि, २०७७ बनाएको थियो।

मुलुक                           कामदार  संख्या
चीन                             ५४७४
बेलायत                         ३८६ 

अमेरिका                        २३४
भारत                             १८३

दक्षिण कोरिया                १६२ 
अन्य                            १०५९६


 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update