ललितपुर, भदौ १२ । नाम पूर्णकुमारी थापा । बोलाउने नाम लक्ष्मी थापा । बुबाआमाले बोलाउने नाम कान्छी । बहिनी जन्मिनुभन्दा पहिले देखि नै कान्छी भन्नुहुन्थ्यो । २ दाई र ३ दिदी पछिको म । गाँउतिर पनि कान्छी नै भन्छन् । दुःखपिरमा रुमल्लिदै जाँदा म अरुलाई नाम नै छैन भन्थे । अनि एकजना सहृदयी दाईले राखिदिनुभएको लक्ष्मी भनेर ।
हालको बसाई महालक्ष्मी न.पा. ललितपुर वडा नं. ४ शीतलहाइट । मेरो कान्छो छोरा एघार महिनाको हुँदा घरछोडेर हिँडेको । आफ्नो भाग्य, कर्म र मनैदेखि आट्दा पूरा हुने रैछ । जसले यो नाम राखिदिनुभयो उहाँहरुले एकदम सहयोग गर्नु भएको । स्यूँचाटारमा घर छ उहाँहरुको । मलाई बोलाईरहनुहुन्छ । म फेरी गै रहनभ्याउँदिन । त्यतिखेर देखि नै अति नै माया गर्नुहुन्छ ।
बाल्यकालको दुःख सम्झिदा त अहिले त म स्वर्गमा छु जस्तो लाग्छ । पाट चुटियो, गुन्द्री, डोरी, नाम्लो बुनियो, खेतीकिसानी, कुटो कोदालो, वस्तुभाउ सब गरियो । त्यति गर्दा गर्दै पनि घर छोडेर हिड्नुपर्ने बाध्यता आईपर्यो । रहरले वा कसैले फकाएर होइन । बाध्यताले हो । सन्तान (२ छोरा) ले पनि साह्रै अशान्ती व्यहोर्नु परेकोले म घर छोडेर केहि गर्छु भनेरै हिँडेको हो । धेरै दुःख गरे, भोगे तर हार खाइन । मलाई जाँड रक्सी मन पर्दैन थियो । तर पछि त्यहिकाम गर्नुपर्यो ।
पढाई लेखाई नभएकोले जागिरको कुरै भएन । ज्यालामजदुरी गर्नको लागि छोराहरु सानै थिए । छोडेर हिड्न पाईएन । लाष्टमा त्यहि जाँडरक्सी पारेर नै मैले गुजारा चलाएँ एक वर्ष जति । पछि त्यो पनि गाह्रो भयो । द्धन्द्धको बेला, आर्मी अनि सशस्त्रजाँड रक्सी फाल्नु पर्ने उर्दी भयो । मैले प्रतिवाद गरे । मलाई रोजगारी देऊ न त भने । कति पढेकी छौ भनेर सोधे, तर आफूले पढेको थिएन । केहि लागेन अनि मेरो थातथलो सिन्धुपाल्चोक साँगाचोक छाप भन्ने ठाउँ छोडेर म शहर पसेको । ०६१/०६२ तिर । चाबेलमित्रपार्कमा एउटा कोठा पाँए अनि काम पनि । घरभेटीकै घरमा बस्ने गरी । तलब १००० थियो अनि कोठा भाडा नौ सय कटाउँनु हुन्थ्यो । एक छाँक खाना सहित । त्यो पनि ठूलो थियो त्यतिखेर मलाई ।
अलिक पछि मिलनचोकको अनाथ आश्रममा ३/४ महिना काम गरे । झन् म आफैं दिमाग विक्षिप्त भएको मान्छे, त्यहाँ झन् उस्तै उस्तै जम्मा भएका । सर म्यामहरु साह्रै राम्रो हुनुहुन्थ्यो । म त्यहिँ बसिराखेको भए केहि राम्रै हुन्थ्यो होला । तर खै के के भयो म बसिन त्यहाँ । त्यसपछि तरकारी व्यापार गरे लगनखेलमा, लगभग ६ महिनाजति । दाजु बिदेश गएपछि कलंकी गएर बसे त्यहि तरकारी नै व्यवसाय गर्न । त्यसले पनि खासै पुगेन गुजारा चलाउन । त्यसपछि कस्मेटिक पसल गरे । बच्चाहरु हुर्किदै गए, ठूलो हुँदै गए । यहि ठाउँमा दाल चामल सहितको किराना पसल गरे । छोराहरु ड्राइभिङ्गतिर लागे । बेरोजगारी भयो काम केहि भएन भने दिमागले काम गर्दैन । अरु मान्छेहरु रुने कराउने गर्छन् तर म गर्दिन । म हत्तपत्त कसैलाई दुःख पनि पोख्दिन । आ-आफ्नो दुःखव्यथा त आफैसँग राख्ने हो नि ।
के गर्न सकिन्छ त्यहि गर्ने हो । आँशु त लुकाएर लुक्दैन तर किन देखाउने अरुलाई ? आफ्नो योग्यता क्षमता अनुसार जे सकिन्छ त्यहिँ पौरख गर्ने हो । आजकल यसरी नै चल्दैछ । कहिले कुखुरा पाल्छु, कहिले हाँस पाल्छु । जाँड रक्सी राम्रो बनाउँछु । अहिले दुइटै छोरा विदेशमा छन् । उनीहरुको भविष्य अब उनीहरुकै हातमा छ । मलाई चाँहि एउटा बास बनाई दिन पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ । छन त बाजेको सम्पत्ति छ तर उनीहरु मेरैपछि पछि लागि राख्छन् । जस्तो सकिन्छ त्यस्तै बनाउने हो । पैसा कमाउँने त त्यस्तै हो, गलत बाटोमा लाग्छन् कि भन्ने डर थियो । अब आ-आफ्नो लाइनमा लागेका छन् । भगवानको कृपाले राम्रो छ दुबैको ।
अरुको नि हुन्छ दुःख पिडा, मेरो नि छ । भगवानले ४ हातखुट्टा दिएका छन् । अरु जस्तो रुने, कराउने, पिडा पोख्ने, मिडियामा रुँदै आउने बानी छैन । पौरख गर्ने हो । काम गर्ने हो । छोराहरुले त अब धेरै काम नगर, आराम हुने काम मात्र गर । धेरै दुःख गरिसक्यौ भन्छन् । तर त्यत्तिकै बसेर त हुन्न नि । काम त गर्नै पर्छ । त्यहि भएर यसपाली ६०/७० वटा हाँस हालेको थिए । केहि कुकुरले खाँइदियो, केहि मरे पनि तर पनि ५० वटा हुर्केका छन् अहिले । व्यापार त हाँस बेचेर खासै त हुन्न तर अण्डाबाट फाइदा हुन्छ । ठाउँ फेरी त्यति ठूलो छैन, धेरै अट्दैन, धान्न पनि सकिन्न । अण्डा पार्न थालेपछि तिनिहरुलाई डिष्टर्ब गर्नुहुन्न । अलि एकान्त चाहिन्छ । अब फेरी बेच्ने अनि अरु हाल्ने । कुखुरा पनि छ त्यस्तै ३०/३५ ओटा । लक डाउन र यो वर्षाले गर्दा कुखुरा नि पाको छैन । धेरै सानो ल्याउदिन म, वर्षामा चिसो लाग्छ । म अलि हुर्केकै ल्याउँछु । अनि सिङ्गै जिँउदै पनि बेच्छु । हप्तामा २/४ वटा ८/१० ओटा मौसम परिस्थितिअनुसार हुन्छ व्यापार ।
यो जग्गामा गरेको लगानी ११ लाख । ७ वर्षलाई हो । अहिले २ वर्ष पुगेर ३ लाग्यो । यो टहरा, बस्ने ठाँउ सबै आफै बनाको । सबै आफैले यो तरिकाले बनाको । यो बनाउँदा जेठो छोरा त जागिरे थियो । कान्छोले सर्पोट गर्यो । हामी दुई आमा छोराको मेहेनत हो यो । जे जस्तो भएपनि भाडामै भए पनि मलाई आनन्द छ । आफ्नै जस्तो छ । यो जग्गावाला दाई पनि राम्रो हुनुहुन्छ । केहि भन्नुहुन्न । कसैको टर्चर छैन । अब भाग्यले साथ दियो भने अनि अरु ८/१० वर्ष बस्न पाईयो भने केहि हुन्छ कि भन्ने आशा छ ।
यो पसलचाँहि त्यति चलाएकै छैन । भ्याउदिन पनि अनि जो पायो त्यहि ग्राहकहरु म रुचाउदिन पनि । ८/१० वर्षदेखि नै अलि डिप्रेसन जस्तो छ मलाई । म अर्काको टर्चर, टेन्सन पटक्कै सहन सक्दिन । सभ्यखालको मान्छे मात्र रुचाउँछु । पहिले पहिले त अझ नयाँ मान्छेसँग बोल्न पनि डर लाग्थ्यो सहयोग, भरथेग त सबैको चाहियो । दुःख पिडा सबैमा रुमल्लिने मात्र रुचाउँछु तर आफ्नो काम त आफै गर्नु पर्यो नि । खाने बस्ने त यस्तै हो जस्ताको टहरो । साग, सिस्नो यहि हो नेपालीले खाने ।
आफूसँग जेजस्तो छ त्यसमै रमाउन सक्नुपर्छ । अर्काको रिस, डाहा गर्नुभएन । भगवानले जुन स्थान दिनुभएको छ त्यसैमा बस्न हो । अरुले घोडा चढे भन्दैमा आफूले धूरी चढ्नु भएन । ठूल्ठूलो महल खोज्नु भएन । त्यो पनि गर्दै जाँदा बेला आउला । आफूले पसिना बगाउनु पर्यो, मेहेनत गर्नुपर्यो, त्यो गर्दा गर्दै नि भएनभने बल्ल अनि अरुको साथ सहयोग खोज्ने हो । कहिलेकाँहि अरुसँग दुःख पिडा पोख्दा नि मज्जा आउँछ, मन हल्का हुन्छ ।
खानामा मिठो नमिठो त त्यस्तै हो, जिब्रोले टिप्नुपर्यो । चट्ट नुनखुर्सानीको स्वादमा ढिंडो खाने हो । म २/३ दिन खाना नखाई पनि बस्न सक्छु । पानी मात्र खाएर नि बस्न सक्छु । मनमा सन्तुष्टि हुनुपर्यो । कसैको टेन्सन र टर्चर पनि हुनुभएन । आ-आफ्नो जिन्दगी आ-आफ्नो खुसीले जिउनुपर्छ । आफ्नो भविष्य आफैले खोज्ने हो ।
तरकारी खेती, धान खेती, मकै खेती, कुखुरा, बाख्रा सब गर्न सक्छु । छोराहरु यहि हुँदा त खुसी पनि थिँए पछि एक्लै अलि सकिन । एउटा दुबईमा छ अर्को साउदीमा छ । जेठो छोरा गएको गत फागुनमा १ वर्ष भयो, कान्छो गएको त भर्खर ६ महिना भयो । लकडाउनको बेला छोरो बिग्रेला भन्ने ठूलो डर थियो । तर अब आ-आफ्नो लाइनमा लागे । दुःख त लाग्छ नि, यसो एक छाक मिठो पाक्यो भने नि उनीहरुले खाए कि खाएनन् भन्ने हुन्छ । याद आउँछ (भक्कानिदै) । कहिलेकाहीँ मैले खानाखाने बेलामा उनीहरुले फोन गरे भने त्यो गाँसै छोडिदिन्छु । खानै सक्दिन ।
अहिले यहि रक्सी बनाउँछु, छ्याङ बनाउँछु, तोम्बा बनाउँछु, मर्चा मात्र हाल्छु । कोदो गाउँतिर बाटै मगाउँछु । खान्छु पनि कहिलेकाहिँ । मगरकी छोरी भएकाले । दिक्क लाग्छ कहिलेकाहीँ । यसो दुख भुल्नलाई खान्छु एक गिलास । जाडो महिनामा चाहिँ तताएर खान्छु । जतिखेर पायो त्यतिखेर र जसले दियो त्यतिखेर खान्न ।
रक्सी पार्न नि गाह्रै छ । ठूल्ठूलो फोसीहरु उचाल्नुपर्छ । मिहिनेत र समय प्रशस्त खर्चिनै पर्छ तर सकिन्छ । पहिले पनि भारी बोकिएकै हो । दिनको रु ४० दिन्थ्यो गाउँमा । गरेकै हो बिहान ८ देखि बेलुकी ५ सम्म । काठमाडौं आएर पनि सिर्फ एकदिन चाहिँ भारी बोकेकै हो । रु. ४० नै पाको हो त्यतिखेर पनि । तर भारी बोक्नुभन्दा अरु नै केहि गर्नुपर्छ भनेर अरु अरु कामतिर लागे यस्ता सानातिना कामले सम्पत्ति त के कमाउनु ? तर दुईटै छोराहरुको लाइसेन्स बनाई दिए । ठाउँमा पुगेका छन् । लाइनमा लागेका छन् । आ-आफ्नै गरेर खाओं भनेकी छु ।
एक्लो छु, कसैको साथ सहयोग छैन । भगवानको काख छ यत्तिको पुर्याउनु भएको छ । समाजमा एक्लो महिलाले यत्तिको गर्न सक्नु पनि मलाई ठूलै लाग्छ । खाए नि नखाए नि एक्लै हो । एक्लो हुनुको पिडा त छदैछ । म जे छु आफ्नै ठाउँमा छु, खुसी छु । कसैलाई पोख्दिन आफ्नो भागभोगमा लिएर आको भोग्नै पर्छ । कहिलेकाहीँ त निराशा पनि लाग्छ । कतिञ्जेल गर्ने हो यो दुःख । सद्दे ज्यान छउञ्जेल त ठिकै छ भोली केहि घुत्रुक्क भईहाल्यो भने के होला ?
एकदिन त जानु नै छ तर पनि भोली थला पर्यो भने, केहि भइहाल्यो भने छोराहरुको के होला ? भन्ने पिर भईरहन्छ । तिनीहरुलाई खुट्टा टेकाउने मान्छे अरु छैन तर पनि खुसी छु । भगवानले मेरा दुई छोरालाई ज्ञान सद्बुद्धि दिउन् । सत्मार्ग देखाउन् । बस यति भए पुग्छ ।
एकपटक भागेर स्कुल गँए, गुन्यु चोली लगाएर, सबैले गिज्याए । अनि फर्केर आएपछि आमाले बेस्सरी गाली गर्नुभयो । अनि गईन । छोरी मान्छे भनेको रछ्यानको घुर्यान हो । अर्काकोमा जाने जात हो । अन्त फाल्ने चिज हो । छोरी मान्छे स्कुल गएर केहि फाइदा छैन । भन्नु भो आमाले मै जस्तो खेतीपाती गरेर बस, सिप सिक भन्नुभो । त्यसपछि म कहिल्यै स्कुल गईन । पछि प्रौढ शिक्षा आए पछि रातभरी घोकेर पढेको । अहिले पढ्न-लेख्न आको त्यहिबाट हो ।
सानोमा मैले धेरै दुःख गरे । बाको खलंगामा गाईवस्तु धेरै थिए । आमाले भारी बोकेको देख्दा त्यो सबै आफै गर्न पाए नि हुन्थ्यो जस्तो लाग्थ्यो । आमालाई दुःख पर्दा, भारी बोकेर हिड्दा, उकाली-ओराली गरेको देख्दा आमालाई थपक्कै घरमा राखेर त्यो सब गरु जस्तो लाग्थ्यो । ११ वटा सन्तान जन्माउनु भको आमाले । दुःख र खान नपाउने पिडा त छदैंछ ।
अलिअलि याद छ मलाई सुत्केरी भएको तीन दिनसम्म पनि राम्ररी खान पाउँनु भएको थिएन मलाई त घाँस काट्न पठाको पठाई गर्नुहुन्थ्यो आमाले । वस्तु धेरै थिए । हजुरआमाले साग र ढिडों दिनुभयो अनि बुबा ३ दिनपछि आएर गुन्द्रुक र ढिंडो पकाएर दिनुभयो । त्यो पिडाहरु सम्झिदा चाहिँ.......... हुन त मसँग हैसियत छैन तर आमाको यो उमेरमा हामीले सबै गर्न सबै हुन्थ्यो जस्तो लाग्छ । मेरी आमाको अवस्था सम्झिदा दुःख लाग्छ । दमको रोगी हुनुहुन्छ । उमेरमा अलि स्याहार पाको भए, खान पाको भए अहिले नि १६ वर्षे जस्तो देखिनु हुन्थ्यो कि ?
(नोट : लक्ष्मी थापाका यि भोगाईका बाँकी अंश आगामी शनिवार यही स्तम्भमा प्रकाशन गर्ने छौं । )