Kath khabar
राष्ट्रिय गौरबकै आयोजनाको बेहाल : ३३ वर्षमा पनि सकिदैन आयोजना निर्माणको काम

काठमाडौं, भदौं १३ । राष्ट्रिय महत्वका आयोजना भएकाले सरकारले केहि आयोजनालाई राष्ट्रिय गौरबका आयोजना भनेर राखेको छ । सरकारले उच्च प्राथमिकता दिएका  राष्ट्रिय गौरवका आयोजना २४ वटा छन् । तर, माथिल्लो तामाकोशी बाहेक कुनै पनि पूरा भएका छैनन् ।   

तर, ति आयोजना राष्ट्रिय गौरबका भनिएपनि आयोजनामा हुने काम भने पुरानै तरिकाले अघि बढेको छ ।  ३३ वर्षअघि सुरु भएको बबई सिंचाइ आयोजना नै कहिले पूरा हुन्छ भन्ने टुंगो छैन । २ अर्ब ८७ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा साढे ८ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

अब अरु बाँकि ४८ प्रतिशत काम गर्न अब ११ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । विकास आयोजनामा मुआब्जा र रेखांकन विवाद, निकायगत समन्वय अभाव जस्ता समस्या पुरानै हुन् । तर समाधानमा प्रगति नभएकाले आयोजनाको अवधि र लागत बढेको बढ्यै गरेको छ । यो मात्रै होइन अन्य आयोजनाको पनि हालत यस्तै छ ।

पुष्पलाल मध्य पहाडी राजमार्ग २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्यसहित २०६४/६५ मा सुरु भएको थियो । १४ अर्ब ३८ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनामा ४६ अर्ब भन्दा बढी खर्च भइसकेको छ । तर भौतिक प्रगति ५० प्रतिशत पनि भएको छैन । लागत सात गुणा बढेर एक खर्ब नाघिसकेको छ । नयाँ भाकामा पनि यी आयोजना पूरा हुने आधार छैन ।

त्यस्तै आर्थिक वर्ष २०६६/६७ मा सुरु हुँदा हुलाकी राजमार्गको लागत २० अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो । तर लक्ष्य अनुसार काम हुन सकेन । १७ सय ८९ किलोमिटर लामो सडकको कालोपत्र र २ सय १९ वटा पुल निर्माण आर्थिक वर्ष २०७४/७५ सम्म सक्ने लक्ष्य थियो । तर ५४ प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन । जबकि अनुमानितभन्दा ७५ प्रतिशत बढी बजेट खर्च भइसकेको छ । यो आयोजना पूरा गर्न ६५ अर्ब २० करोड  रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

निर्माणमा भएको ढिलाइले सीमित कर्मचारी र ठेकेदार मालामाल भइरहे पनि लक्षित समूह लाभान्वित हुन पाएको छैन । काममा विलम्ब गर्नेलाई कारबाहीको दायरामा पनि ल्याउन कर्मचारीहरुसँग गरिएको करार सम्झौता अनुगमन गर्नुपर्ने महालेखापरिक्षक कार्यालयले औल्याएको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update