काठमाडौं, भदौ १४ । दशरथ रंगशालाको विकल्पमा रहेको च्यासल मैदान सहित पोखरा र इटहरी रंगशाला निर्माण गर्दा ठेकेदार कम्पनीलाई बढि रकम भुक्तानी गरेको पाइएको छ । यी तीन ओटै रंगशाला राष्ट्रिय खेलकुद परिषद राखेप मातहतमा बनेका र निर्माणाधीन अवस्थानमा छन् । महालेखा परीक्षकले ठेकेदारलाई भुक्तानी गरेको मध्ये १ करोड ११ लाख रुपैयाँभन्दा बढी रकम असुल गर्न निर्देशन दिएको छ । तर राखेपका सदस्य सचिव प्रतिवेदनमा सच्याउने भन्दै जवाफदेही हुन मानिरहेको छैन ।
च्यासल फुटबल मैदान २०७३ देखि बनाउन थालिएको हो । यो मैदानमा लगभग अभ्यास गर्न सकिन्छ । तर निर्माणका क्रममा राखेपले ठेकेदारलाई आवश्यकभन्दा बढी रकम भुक्तानी दिएको महालेखाले देखाएको छ । च्यासल मैदानमा नाली छोप्ने आरसीसी स्लाबको रकम नापी किताबमा जोड फरक पारेको महालेखाले फेला पारेको छ । ५२ लाख ५२ हजार रुपैयाँ बढी भुक्तानी गरिएको प्रतिवेदनले देखाएको छ । साथै ठेकेदारलाई बढी भुक्तानी गर्न ६ दशमलव ५ टन बढी डण्डी प्रयोग भएको कागजात बनाइएको महालेखाले उल्लेख गरेको छ । उसले प्राविधिकलाई जवाफदेही बनाइ ६० लाख ९ हजार रुपैयाँ असुल गर्न भनेको छ ।
यता पोखरा रंगशालामा डी एरिया र ट्रयाकको क्षेत्रफल फरक पारी ठेकेदारलाई १७ लाख ८८ हजार रुपैयाँ बढी भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । १३ औँ दक्षिण एसियाली खेलकुदका केही खेल भएका यो रंगशाला यही वर्ष हुने भनिएको ९ ओँ राष्ट्रिय खेलकुद प्रतियोगितााको मुख्य भेन्यु हो । निर्माणाधिन अवस्थामा मै रहेको यो रंगशालामा पनि बढि भुक्तानी भएको औल्याइएको छ । इटहरी रंगशाला निर्माणमा मोबिलाइजेसन पेश्की न कटाइ ठेकेदारलाई ३३ लाख ८९ हजार रुपैयाँ बढी भुक्तानी दिएको पाइएपछि महालेखाले असुल गर्न निर्देशन दिएको छ । राखेपले भने त्यसो नभएर फरक धारणा प्रस्तुत गरिरहेको छ । राखेप सदस्य सचिव रमेश कुमार सिलवाल भन्नु हुन्छ –अघिल्लो किस्तामा हुनुपर्ने कारोबार यसपटक जोडिँदा बढि भुक्तानी भएको जस्तो देखिन्छ । हामीले रकम भुक्तानी गर्न ढिलाई भएको हो । किस्ता बन्दीमा रकम भुक्तानी गर्दा प्राय यस्तै हुन्छ ।
उहाँको भनाइमा तुक देखिँदैन । सार्वजनिक खरिद नियमावली अनुसार रनिङ बिलको भुक्तानी गर्दा प्राविधिक नापजाँच गरी नापी किताबमा उल्लेख भएको कार्यसम्पादनलाई आधार मान्नुपर्छ तर च्यासल मैदान र पोखरा रंगशालाको हकमा नापी किताबलाई बेवास्ता गरियो । अझ पोखरा रंगशालाको हकमा प्राविधिकले नापी किताबमै हेरफेर गरको देखिएको छ । यता इटहरी रंगशालाको रकम भुक्तानीमा पनि ठेक्का सम्झौतालाई वास्ता गरिएको छैन । यसरी राष्ट्रिय खेलकुद परिषदको काम गराइमा त्रुटि धेरै भएको देखिँदा पनि ऊ गम्भिर भएको देखिन्न । बरु प्रतिवेदन सच्याउनुपर्ने भनिरहेको छ ।
दुइ वर्ष अघि काठमाण्डौँ पोखरा र जनकपुरमा १३ औँ दक्षिण एसियाली खेलकुद भएका थिए । सो बेला पनि बजार भाउ भन्दा पाँच गुणा बढि समान खरिद गरिएको पाइएको छ । महालेखाले पोषाक, म्याट, किट्स लगायतमा पाँच गुणा भन्दा बढीसम्म खर्च भएको महालेखाले औंल्याएको छ । तर यसबारे न त छानबिन भएको देखिन्छ न परिषद यसप्रति गम्भिर भएको छ ।