Kath khabar
ललितपुर महानगरबाट कानुन मिचेर उपभोक्ता समितिलाई रकम भुक्तानी, बढ्दैछ बेरुजु

ललितपुर, भदौ १५ । ललितपुर महानगरपालिकाले नियम मिचेर रकम भुुक्तानी गरेको देखिएको छ । नियम विपरित गरिएको यस्तो रकमबाट आयोजना त अधुरै छन् नै ललितपुर महानगरपालिकाको बेरुजु रकम समेत बढ्दै गएको छ ।

महालेखा परिक्षक कार्यालयका अनुसार, अहिलेसम्म ललितपुर महानगरपालिकाको बेरुजु १ अर्ब ६९ करोड पुगेको छ । यो वर्ष मात्रै यस्तो बेरुजु रकम ६७ करोड ३० लाख बढेको हो ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ मा उपभोक्ता समितिलाई सम्झौता रकमको  बढिमा एक तिहाई रकमसम्म पेश्की दिनसक्ने व्यवस्था छ । तर, ललितपुर महानगरपालिकाले एकै पटक ६० प्रतिशत पेश्की दिने गरेको देखिएको छ । नियम विपरित  पेश्की दिंदा यो वर्ष मात्रै ५९ करोड १ लाख पेश्की फछर्याेट हुन बाँकी रहेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ।

‘महानगरपालिकाले वर्षान्तमा निर्माण व्यसायी, सेवा प्रदायक तथा उपभोक्ता समितसँग समझौता गर्ने र सम्झौताको समयमा एकमुष्ठ ६० प्रतिशत पेष्की बुझाउने रे पेश्की लानेले समयमा काम सम्पनन नगर्ने गरेको देखिन्छ ।’ महालेखा परिक्षक कार्यालयको ५८ औ प्रतिवेदनमा उल्लेख छ ।

यो वर्ष मात्रै सम्पन्न नभएका आयोजनामा भुक्तानी गर्न ५० करोड ५८ लाख बिनियोजन गरेको देखिएको छ र यि अधुरा आयोजना सम्पन्न गर्नका लागि भनै १ अर्ब १८ करोड लाग्ने देखिन्छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा सार्वजनिक निकायले स्वीकृत नम्र्सको आधारमा निर्माण लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । जसअनुसार सडक निर्माणका लागि मन्त्रीपरिषद्ले २०७५ साउन २५ मा स्वीकृत गरेको सडक तथा पुलको दर बिश्लेषण नम्र्स तथा भवन संरचना निर्माणका लागि भवन विभागबाट प्रकाशित नम्र्सको प्रयोग गर्नुपर्छ ।

तर ललितपुर महानगरपालिकाले सडक संरचना निर्माणका लागि डिभिजन सडक कार्यालय ललितपुर र भवन तर्फ महानगरपालिका प्राविधिकले तयार गरेको दर बिश्लेषण भन्दा बाहिर गएर सम्झौता गरि उपभोक्ता समितिलाई बढि रकम भुक्तानी गरिएको छ ।

महानगरपालिकाले यो वर्ष सडक निर्माण तर्फ ३ करोड ६४ लाख र भवन संरचनामा १३ लाख ६९ हजार गरि ३ करोड ७८ लाख बढि रकम भुक्तानी भएको देखिएको छ र उक्त रकम असुल गर्नुपर्ने महालेखा परिक्षक कार्यालयको निष्कर्ष छ।

त्यस्तै ललितपुर महानगरपालिकाले मानिसबाट कार्य गर्ने गरी दर/रेट स्वीकृत गरेकामा उपभोक्ता समितिमार्फत मेसीन प्रयोग गरेको पाइएको छ । मेसीन प्रयोग गरेका यस्ता १० योजनाबाट मात्रै ४७ लाख १७ हजार बढि भुक्तानी भएको देखिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update