Kath khabar
महामारीमा बैदेशिक लगानीमा निराश हुन परेन, भ्रमण आयमा कमी

काठमाडौँ, भदौ १६ । महामारीका बिचमा पनि बैदेशिक लगानीमा भने सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षमा पनि महामारी रहेकाले गत आर्थिक वर्षमा बैदेशिक लगानीमा ठूलो गिरावट आउन पाएको छैन । गत आर्थिक वर्षमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड कायम भएको छ । जबकी अघिल्लो आर्थिक वर्षमा यस्तो लगानी १९ अर्ब ४८ करोड रहेको थियो।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ जुन अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड रहेको नेपाल राष्ट्र बैंक बताउँछ । आर्थिक वर्ष २०७७/७८ मा खुद ट्रान्सफर ९.१ प्रतिशतले वृद्धि भई १०७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा खुद सेवा आय ७२ अर्ब ८५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ९६ करोड ४७ लाखले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा सेवा खाता अन्तर्गत भ्रमण आय ८८.१ प्रतिशतले कमी आई ७ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय ६० अर्ब ८९ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३८.३ प्रतिशतले कमी आई ३२ अर्ब ८० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २४ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ५३ अर्ब १४ करोड रहेकोमा शिक्षातर्फको व्यय २५ अर्ब ८१ करोड रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा चालु खाता ३ सय ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता गत आर्थिक वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update