काठमाडौं, भदौ १६ । टोकियो पारा ओलम्पिकको पहिलो खेलमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्नु हुनेछ ।
पारा तेक्वान्दो के ४४ विधा अन्तर्गत ५८ केजीमुनि तौल समूहका लागि मंगलबार भएको ‘ड्र’ मा १८ वर्षीया पलेशाले २८ वर्षीया बेलायती खेलाडी बेथ मुनरोसँग खेल्ने निश्चित भएको हो । जारी पारा ओलम्पिकमा तेक्वान्दोको खेल बिहीबार सुरु हुनेछ । यो तौलको सम्पूर्ण खेल शुक्रबार हुनेछ ।
पहिलो खेल जितेको अवस्थामा पलेशाले क्वाटरफाइनलमा टर्कीकी गाम्ज गुर्डालसँग प्रतिस्पर्धा गर्नु हुनेछ । गुर्डाल तेस्रो वरीयताकी खेलाडी हुनुहुन्छ ।
पारा ओलम्पिक कमिटीले समयमै नाम दर्ता नगरेका कारण यस संस्करणमा पारा ओलम्पिकमा एक जनाको मात्र प्रतिनिधित्व भएको छ । यस संस्करणको पारालम्पिकमा नेपालबाट पलेशाको एक मात्र सहभागिता रहनेछ । पारालम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा रहनु भएको छ ।