काठमाडौं, भदौ १६ । कोभिड १९ महामारीको समयमा एयरलाईन्स कम्पनीले चार्टर्ड उडान बापत् बढी भाडा लिएका छन्। महामारीका बेला यात्रुको उद्धारका नाममा चार्टर्ड उडान मार्फत् बढी भाडा लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।
महामारीमा नागरिक सँग बढी भाडा लिएको उजुरी आए सँगै मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। समितिले अध्ययनका क्रममा सर्वसाधारणसँग बढी भाडा लिएको प्रमाणसहित उजुरी पेश गर्न भनेको थियो । सो क्रममा कुल २५ वटा उजुरी प्राप्त भएका मन्त्रालयले जनाएको छ । समितिलाई प्राप्त उजुरीमध्ये कतार एयरवेजलाई १६ वटा, टर्किस एयरलाइन्सलाई ७ वटा र हिमालय एयरलाइन्सलाई ७ वटा उजुरी परेको थियो ।
यसमध्ये कतार एयरवेजले ९ वटा टिकटमा, टर्किस एयरलाइन्सले २ वटा र हिमालय एयरलाइन्सले समेत २ वटा टिकटमा तोकिएको भन्दा बढी भाडा लिएर उडान भरेको पाइएको छ । समितिले निर्धारित भाडाभन्दा बढी भाडा लिने कम्पनीहरुमाथि विस्तृत अनुसन्धान गरि कारवाही गर्न समेत सुझाव दिएको छ ।
नेपालमा कोरोना भाइरसको महामारी फैलिएको समयमा नियमित हवाई उडान बन्द थियो । सो समयमा आपतकालिन अवस्थामा रहेका विभिन्न मुलुकका नागरिकको उद्धार गर्न चार्टर्ड उडान गर्न भने दिइएको थियो । तर, महामारीको समयमा एयरलाईन्स कम्पनीहरुले उद्धारको नाममा चर्को हवाई शुल्क लिएका थिए ।
समितिले बुधबार मन्त्रालयका सचिव यादव कोइरालालाई प्रतिवेदन बुझाएको हो। सरकारले ७ असारमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक राजन पोखरेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।