Kath khabar
कोभिडले १७ प्रतिशत होटल पूर्णरूपमा बन्द - व्यवसायी

काठमाडौं, भदौ १७ । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल गरेको छ । 

परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधिसँग यस क्षेत्रमा कोभिडले पारेको प्रभाव र पुनरोत्थानका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्नुभएको हो । छलफलका क्रममा व्यवसायीहरूले कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको बताएका छन् । यसैगरी पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिक, मजदूरको रोजगारी जोखिममा परेको उल्लेख गरेका छन् । 

छलफलमा सहभागीहरूले कोभिड १९ को संक्रमण बढेसँगै विकसित मुलुकहरूले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गरेसँगै पर्यटक आगमन ठप्प रहेको उल्लेख गरेका छन् । उनीहरूले देशव्यापीरूपमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने बताएका छन् । 

पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा संघ/संस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुन:उत्थानमा सरकारले विशेष जोड दिनुपर्ने पनि बताएका छन् । व्यवसायीहरूले पुन:उत्थानका लागि विना धितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरेका छन् । 

यसैगरी पिसिआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् । सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि आफूहरूले घोषणाअनुसारको सुविधा प्राप्त नगरेको उनीहरूको गुनासो छ । 

कार्यक्रममा परिसंघका उपाध्यक्ष शाहले व्यवसायीका प्रत्येक समस्या समाधानका लागि परिसंघ अग्रस्थानमा रहेर काम गर्ने बताउनुभयो । ’हामी तपाईंहरूसँग छौँ, जति पनि समस्या छन् तिनीहरूको समाधानका लागि पहल गछौ’ उहाँले भन्नुभयो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update