Kath khabar
छिट्टै सरकार बनाउने तालिबान समूहको जानकारी

काबुल, भदौ १७ । अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ ।

यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका छन् । उनीहरुले सरकार बनाउने सम्बन्धमा नै राजनीतिक भेटघाटलाई तीव्र बनाएका थिए । अफगानिस्तानका स्थानीय मिडियाले तालिबान समूहका नेताले आगामी केही दिनमा नै सरकार बनाउने कुरा बताएको जनाएका छन् । तालिबानले सत्ता कब्जा गरेपछि सरकार बनाउने विषयमा विभिन्न चरणमा विभिन्न नेतासँग छलफल गरेका र ती छलफल बुधबार सकिएको अफगानिस्तानका मिडियाले जनाएका छन् ।

ताबिलानका एक प्रमुख नेता मुल्लाह हबितुल्लाह अखुन्जादाले केही दिनअघि अफगानिस्तानका नेतासँग सरकार बनाउने विषयमा छलफल गर्नुभएको थियो । उहाँले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईसँग पनि परामर्श गर्नुभएको थियो । पूर्वराष्ट्रपति कारजाईले तालिबानका वरिष्ठ नेता अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेका बताइएको थियो । केही दिन अघि नै सरकार बनाउनका लागि भन्दै तालिबानका एक नेता अनस हक्कानी पनि अफगानिस्तानको राजधानी काबुल पुगेका थिए ।

यी नेताका भेटवार्तामा अफगानी उच्च सदन सिनेटका अध्यक्ष अब्दुल हादी मुस्लियार पनि सहभागी रहेका बताइएको थियो । अफगानिस्तानमा संयुक्त र सर्बपक्षीय सरकार बनाउने विषयमा छलफल भएको तालिबान नेताहरुले नै बताउँदै आएका छन् । उता अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानलगायतका विश्वका विभिन्न देशले आग्रह गरेका छन् ।

यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र अहिले यो देश नयाँ मोडमा उभिएकोले आगामी दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पाकिस्तानका विदेशमन्त्रीले बुधबार मात्र बताउनुभएको थियो । कतिपय पश्चिमा तथा युरोपेली देशले अफगानिस्तान अहिले मानवीय सहायताको पर्खाइमा रहेको भन्दै यहाँका नागरिकलाई आवश्यक मात्रामा सहयोग गर्नका लागि विश्व समुदाय एक हुनुपर्नेमा जोड दिइएको छ ।

तालिबानी समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गत हप्ता मात्र अफगानिस्तानमा सबै पक्षलाई समेटेर समावेशी खालको सरकार निर्माण हुने  बताउनु भएको थियो । अफगानिस्तानका मिडियाले सो कुरा बताएका छन् ।   

(रासस)

 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update