काठमाडौँ, भदौ १७। काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौँ जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका अन्य स्थनीय तहजस्तो महानगर होइन, यहाँ विद्यार्थीको अत्यधिक सङ्ख्या छ उनीहरुलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।” “विद्यालय उमेर समूहका १८ वर्षमुनिका बालबालिका कारोना भाइरस सङ्क्रमणबाट बढी जोखिममा रहेकाले दुई दिन खोलेर बन्द गर्दा थप समस्या उत्पन्न हुन्छ, त्यसका लागि सञ्चालन गर्नुपूर्व छलफल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय सञ्चालनमा छ । सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थीले पठनपाठन गर्दछन् । सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो ।
कोभिड-१९ को दोस्रो लहर आएको जनाउँदै सरकारले गत वैशाख १६ गतेदेखि दोस्रोपटक लकडाउन गर्दा देशका सम्पूर्ण विद्यालय बन्द भएको थियो ।
(रासस)