काठमाडौं , बैशाख १२ । महामारीका कारण गत चैत मसान्तसम्म जम्मा ५२ हजार ९ सय ६९ जना मात्रै पर्यटक आएका छन् । जबकी गत वर्षको चैत मसान्तसम्म १० लाख १४ हजार पर्यटक आएका थिए ।
यसरी महामारीका कारण पर्यटक आगमनमा ९४ प्रतिशतको गिरावट आएको छ । गत फागुनबाट केहि पर्यटक आगमन बढेको थियो । जसका कारण पर्यटन क्षेत्रपनि उक्सन थालेको थियो । तर अहिले फेरी कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै बिदेशबाट आउने ठप्प भएको छ ।
कोरोना महामारीको पहिलो चरणबाट सबैभन्दा बढि प्रभावित भएका पर्यटन व्यवसायीहरु फेरी अहिले दोस्रो लहरबाट सबैभन्दा बढि प्रभावित भएका छन् । पर्यटन क्षेत्रले न्युन मात्रै आम्दानी गर्न सकेको छ ।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको फागुन मसान्तसम्म पर्यटक आएबापत ५३ अर्ब ३५ करोड आम्दानी भएको थियो । जुन आम्दानी यो वर्षको सोहि अवधिमा ४ अर्ब ४५ करोडमा सिमित भएको छ । यसरी हेर्दा एक वर्षमै पर्यटन क्षेत्रले ९१ दशमलव सात प्रतिशतले आम्दानी गुमाएको छ ।
नेपाली घुम्न जान बन्द भएसँगै बच्यो २० अर्ब
गत वर्षको चैत मसान्तसम्म भ्रमणका लागि मात्रै २५ अर्ब २१ करोड बाहिरिएको थियो । तर, गत वर्षकै चैत देखि सुरु भएको कोरोना महामारीका कारण नेपालीहरु घुम्न जाने र तालिममा जाने कमि ह्वात्तै कमि आएको छ । जसका कारण यो वर्षको चैत मसान्तसम्म ४ अर्ब ३० करोड मात्रै बाहिरिएको छ । यसरी हेर्दा गत वर्षको तुलनामा अहिले भ्रमणका लागि हुने यस्तो खर्चमा झन्डै ८३ प्रतिशतले कमि आएको छ भने २० अर्ब ९१ करोड रकम नेपालमै रहेको छ ।
गत वर्षको चैत सम्म नेपाल राष्ट्र बैंकले बिदेश घुम्न जानलाई निरुत्साहन गर्दै बिदेश घुम्न जाँदा लान पाउने रकममा बेलाबेलामा कटौति गर्ने गरेको थियो । किनभने ठूलो विदेशी मुद्रा नेपालीहरु घुम्न जाँदा बाहिरिने गरेको थियो । जसले गर्दा देशको सोधनान्तर स्थितीमा चाप पर्दै आएको थियो ।
कोरोना महामारीका कारण बाह्य देशमा घुम्न जाने लगभग ठप्प जस्तै भयो भन्दा फरक पर्दैन । जसले गर्दा मुलुकको सोधनान्तर स्थिती यतिबेला ६८ अर्बले बचतमा छ । किनभने नेपालीहरु बिदेश घुम्न जाँदा बाहिरिने ठूलो रकम नेपालमै रहेको छ ।