ललितपुर, भदौ १९ । लक्ष्मी थापाका भोगाईका बाँकी अंश
उहाँ भन्दै जानुभयो ....
उकाली-ओराली, दुःख धेरै गरियो । घट्ट जानुपथ्र्यो । घट्टमा वहि नै रोटी पकाएर खाएर बस्नुपथ्र्यो । खोलाको टाकुरो जस्तोमा थियो घट्ट । चारै संसार तिरबाट खोला कराउँथ्यो । म डरले ठूलो ढुङ्गामाथि गएर बस्थे । जङ्गलको बाटो भएर जानुपथ्र्यो । त्यो जङ्गलको बाटोमा उकालीओराली गर्दा बाघ भालु पछि लाग्छ कि भन्ने डर हुन्थ्यो । अलि माथि डाँडामा, चारैतिरबाट देखिने ठाउँमा पुगेपछि बल्ल ढुक्क हुन्थ्यो । पत्कर, दाउरा, घाँस, कुटो कोदालो । जीन्दगीमा भोगेको कुरा सम्झिदा त कहाली लाग्छ अब सुन्नेले त होइन होला भन्छन् । मेरी आमाले कुनै पनि काम हात समाएर सिकाउनु भएको होइन । मैले आफैले देखेर, बुझेर, जानेर गरेको हो ।
पछि बिहे गरे पछि सासु झन म भन्दा पनि भाषा, परिवार, व्यवहार नजानेको पर्नुभयो । त्यहाँ भत्र नि म आफै रुमल्लिनु पर्यो । १५ पूरा भएर १६ लाग्दा विवाह भयो । मलाई विवाह गर्ने इच्छा नै थिएन । मेरो त्यतिखेरको इच्छा नै मैले कमाएर मेरी आमालाई सुख दिनु, मेरी आमालाई भारी बोक्न, काम गर्न, उकाली-ओराली गर्नै दिन्न, घरमै सजाएर राख्छु, अनि भात मात्र पकाउन लगाएर घरमै राख्छु भन्ने थियो । अनि आमाले चाँहि तैले मात्र कति गर्छेस् र, मैले गरेको जस्तो तैले गरेको हुन्छ र ? भन्नु हुन्थ्यो । उहाँको मनले नमानेको मैले धेरै दुःख कष्ट भोगे । मैले जति त मेरो परिवारमा खासै कसैले भोग्नु परेन ।
बाल्यकालमा म मेलापात जाँदा ज्याला रु.९ आउँथ्यो । अनि अरुले स्कुल जाँदा फ्रक लगाएको देखेर ज्याला आएको रु.९ लाई जम्मागर्दै गएर रु. १३ प्रति मिटरमा कटन कपडा किनेर फ्रक लगाको छु । घर व्यवहार र दुःखले माइती देखि नै च्याप्दै च्याप्दै आएको । अहिले पनि दुःखले छोडिहालेको त छैन अलिकति केहि परिवर्तन त भयो तर मनमा पिडा र दुःखले छोडेको छैन । एक्लोपनको पिडा हुन्छ कहिलेकाँही । छोराहरु टाढा भएर । केहि पिडा पोखिहालौं भने पनि फेरी मन पग्लिएर यतै आएर बस्छौं भन्लान् । उनिहरु तिरै जान्छ ध्यान जतिखेर पनि ..जुन बेलापनि । भविष्य बनाउन गएका बिग्रन्छ फेरी । खाना अलिकति पकाउँदा पनि छोराहरुले खाए कि खाएनन् भन्ने चिन्ता हुन्छ । आफूले खानलाग्दा उनीहरुको फोन आयो भने चिन्ता लाग्छ । न उनीहरु पानी पनि खान नपाएर पो बसेका छन् कि भन्ने चिन्ता हुन्छ ।
भनिहाले, सानै उमेरमा विवाहभएको । उहाँ चाँहि झै–झगडा गर्ने, जाँड रक्सी खाने, जुवातास खेल्ने, झै–झगडा मात्र हैन कि सिधै आइहाल्ने । कहिले खुकुरी बोकेर आउने, कहिले के कहिले के । अनिबच्चाहरु प्रति पनि माया मोह नाँई । बुबाआमा प्रति पनि माया नाँई । दिनको एकचोटि त झगडा भएकै हुन्थ्यो । अनि त्यो सब खपेर सहेर डिप्रेशनमा जानुभन्दा अब मान्छेको मन न हो, कहिलेकाँहि रिस उठेको हुन्छ, हावाहुरी मौसम परिवर्तन भएजस्तो, कहिलेकाहि रिसको झोँकमा केहि भैहाल्ला कि भन्ने भयो । सासु बज्यैले त यी दुईटा नाती बोकेर कहाँजाने हो गैहाल भन्नु भो । अब मेरो न समाउने हाँगो न टेक्ने खुड्किलो जस्तो भयो । आफूभन्दा ठूलाबडासँग अनि ससुरासँग नि सल्लाह गरे । सके बस, नसके जा भनेजस्तो कुरा गर्नुभयो ।
अनि सासुले चाँहि मेरो छोरा हो, सुध्रिएला कि भनेर बिहे गर्देको अब नसुध्रिने भएपछि यो नातिहरुको पढाई खर्च र उनीहरुलाई हेर । जे खाए नि खा भन्नुभयो । अनि यस्तो सर्पोर्ट पाएपछि अलि आँट आयो । मेरो बुबाचाँहि धेरै नै रिसाउनुभयो । अब छोरी बिगारी आमाले भन्न थाल्नुभयो । तर त्यो पिडा त मलाई नि थाहा छ नि । बिग्रीने र सप्रिने त छँदै छ । मेरो बुबाले त्यो बेला ४०/५० हजार खर्छ गरेर विवाह गरेर दिनु भको । दिनु भनेको अहिलेको ४०/५० लाख नै हो नि । त्यो पिडा त छदैं थियो । बुबाले त्यस्तरी दिनुभको भनेर नै मैले ज्यान बाजी ठोकेरै काम गरेर बसेकै हो । सक्दै नसक्ने भएपछि, खप्नै नसक्ने भएपछि मैले जेठो छोरोलाई मामाघरमा छोडेर कान्छोलाई काखी च्यापेर हिडेको । जेठो ५ वर्षको थियो । ०५९ सालको कुरा । कान्छो जन्मिसकेपछि ।
अब जेठो छोरो त बाजे बज्यैको रहरको लागि जन्मियो । कान्छो खास गरी मैले जन्माउँछु भन्ने नै थिएन । अहिले त फेरी त्यहि कान्छो छोरो लायकको ह्यान्डसम् छ । जेठो छोरो अलि रोगी नि छ । सानैमा झ्यालबाट खसेको । अलि सानो काँठीको छ । कान्छो छोरोलाई अब भन्यो भने चित्त दुख्ला उसलाई तर कान्छोको लागि, एउटै भएको जेठोलाई त पालन पोषण गर्न गाह्रो छ भनेर जडिबुटी पनि खाको नपाउनलाई । ठूलाठूला भारी बोकेर नै हिडे तर आफ्नो छ भने, भगवानले तेरो नै हो भनेर दिनुभाछ भने कसैको हरेर नहुने रैछ । अहिले उनै राम्रो छ, ज्याङ्गो पनि छ दाई भन्दा । म चाँहि के भन्छु भने आफ्नो भाग्यमा छ भने लडेर नि आउँछ । छैन भने रोइकराई गरेर नि केहि हुनेवाला छैन । दुःख पोखाएर, रोएर, रातभरी भरी रोइनहोला कि ! कति दुःख भोगियो । भन्नेले जे जे भनेपनि पिडा त मैले नै भोग्ने हो । मलाई नै थाहा छ । एक्लो छोरी मान्छे घर छोडेर हिड्नु पर्दाको दिनहरु, दुःखमा साथदिने मान्छे नहुँदाको पिडाहरु, छोराहरु बिरामी हुँदाका पिडाहरु । यि सबपार गरेर यहाँँसम्म आईपुगेको छु । अब भोलिकादिनहरु के हुन्छ हेरुम् । भगवानको कृपाले राम्रै हुन्छ भन्ने आशा गर्नुपर्छ ।
मेरो अहिले पनि सासु ससुरासँग सम्पर्क छ । मैले घर छोडेपनि सासु ससुरा छोडेको छैन । अहिलेसम्म खर्चवर्च नि हेरिरराको छु । भूकम्पले भत्किएको घर पनि बनाइदिँए मैले, ३ र ४ लाखलाग्यो । नातिहरुलाई नि बाजे बज्यैको माया लाग्छ नै । संस्कार पनि हो । बाजे बज्यैलाई एकलोटा पानी नै किन नहोस दिनुपर्छ तिमीहरुले अनि तिमीहरुले नहेरे कसले हेर्ने, कोहि पनि त छैन भनेर सिकाको छु । छन त तीनभाई छोरा छन् सासु ससुराको तर सब उस्तै हुन् । मेरा श्रीमान अझै छन तर पारा त्यहि छ । बाउआमालाई कुटपिट गर्ने, झै–झगडा गर्ने । समाजमा कहाँ निर के बोल्ने भन्ने थाहा छैन, जे मन लाग्यो त्यहि बोल्छन् । अर्को बिहे नि गर्नुभएन, बानीपनि सुध्रिएन । अहिले पनि । छोराहरुलाई यति पैसा चाहियो, उति पैसा चाहियो भनेर माग गर्छन् । घर सर पनि बनाए क्यारे । पोहोर बाबुले (जेठो छोरा) ४०/५० हजार दिए क्यारे उसको तलव काटेर ।
म बाजे बज्यैलाई त गर्छु किनकी कर्मले पनि उहाँहरु मेरो सासु ससुरा हो । म जहाँगए नि जे गरे नि बाटो हिड्दा दुःखी गरिब देखियो भने त माया लाग्छ भने उहाँहरुले त मलाई कर्म दिनुभएको हो । मेरो भाग्यमा जे छ त्यो त मैले भोग्नु नै पर्छ । अनि उहाँहरुको छोराछोरीहरु हामीभन्दा नि पहिलो पुस्ताको जस्तो माया, मोह त्यति नभको, अलि कठिनाई नै छ । सासुको माइति नै छैन । टाढा खै कहाँहो कहाँ ! जानु हुन्न । अनि मलाई उहाँहरुको अझविशेष गरी सासुको माया लाग्छ ।
ससुरा लगभग ८० कटिसक्नु भो होला । सासु ७० आसपास । म आजकल घरमा त जादिन । उहि खर्चवर्च पठाईदिन्छु । बच्चाहरु आउजाउ गर्छन् । माइती र घर नजिकै वारिपारी पर्छ । सामानहरु पठाईदिन्छु । कि यसो भुराहरुलाई पठाईदिन्छु, नत्र कि सासु बज्यै आफै आउनुहुन्छ । सासु बज्यै यहाँ पनि आउनुभएको थियो । यो ठाँउ बनाईसकेपछि । आउन त मन गर्नुहुन्छ नि तर के गर्नु त्यो मूर्ख (श्रीमान) ले झगडा गर्छ फेरी । एक दिनको मायामोहले फेरी २/४ दिनको टर्चर हुन्छ । त्यहिभएर धेरै बोलाउदिन । मेरा बच्चाहरुलाई पनिफोन गर्दै गर्नु भन्छु बाजे बज्यैलाई । गर्छन् पनि । म पनि फोन गरिरहन्छु । दुःख सुख चलिराछ अहिलेसम्म ।
०५९ सालमा द्धन्द्ध चलिरहेको बेला माइतिमै थिए । जेठमा ओखलढुङ्गामा ठूलो आन्दोलन भयो । कान्छो छोरो भर्खर पुषमा जन्मेको । बुबाको असार साउनको खेतीपाती लाइसकेपछि म पल्लाञ्चोक गएर बसे, मेरो साइलो भाईकोमा । आफ्नालाई त आफ्नैको सहायता चाहियो नि । होटल थियो उनीहरुको । दुःख सुख काम गरियो । २/४ दिन बसे र अब उनीहरुको कामले मात्रपुगेन नि । अनिमैले म रक्सी पार्छु तिमीहरु बेच्देओ, मलाई नि २/४ पैसा आम्दानी देओं भने । लगानी हाल्न र यसो बच्चाहरुलाई औषधी खर्च पनि हुन्छ भनेको । अलि अस्वभाविक जवाफ/वचनहरु आयो । अनि मलाई आफ्नो भन्ने नै लागेन । अनि मैले भगवानको कृपाले जे होला भनेर त्यहि नजिकै पसल खोले ।
सुरु त गरे तर त्यो भन्दा अघि मलाई जाँड रक्सी खासै कसरी बनाउने भनेर थाहा थिएन । तर सिँके । भाइबुहारी पनि मामामाइजुसँगै बस्थे । छुट्टै कोठा लिए मैले । मामामाइजुले मलाई साह्रै माया गर्नुहुन्थ्यो । जाँड रक्सी घरमा/माइतीमा सबैले खानुहुन्थ्यो । बनाउनुहुन्थ्यो, राख्नुहुन्थ्यो आमाले । मलाई मन पर्दैनथ्यो । तर जुन चिज मलाई मन पर्दैनथ्यो आखिरमा त्यहि व्यवसाय गरेर मैले मेरा छोराहरुलाई हुर्काउने बढाउने गर्नुपर्यो । मेरो भविष्यको बाटो डोर्याउने पनि यसैमा जोडिएको रैछ । अनि यो पेशालाई किन छोड्नु भनेर गरे । अब चाहिन्छ पनि । कैलेकाँहि यसो पाहुना आउदा पनि चाहिन्छ । कैलेकाँहि मान्छेहरु पनिखोज्दै आउँछन् । त्यहिभएर यो टहरो बनाएपछि नि निरन्तरतादिईरहेको छु ।
बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै भन्थे बाऊबाजेले । उ बेलाको कुटो कोदालो, ढिकी जाँतो त रमाइलै पनिहो । अहिले नि गर्न पाएहुन्थ्यो भन्ने जस्तो लाग्छ । दुःखपिडा त ऊ बेलाअलि बढि नै हुन्थ्यो । खेतीपाती नि धेरै अनिखाने मुखपनि धेरै । २४ घण्टा काम गरे पनि खाननपुग्ने थियो । मलको अभाव थियो । कम्पोष्ट मलले मात्रपुग्दैन थियो । मिलाउन जानिन्न थियो । तर खेती मिलाएर लगाउन जान्यो भने खेतिपातीमा कहिले नि घाटा हुन्न । आफ्नो सिजनअनुसारको आफूले जानेर खेती लगाउनुपर्छ । जब झरी पर्छ तब बारीमा गएर के काम लाग्छ र ? कतिखेर उघ्रिन्छ, कतिखेर घाम लाग्छ, म कतिखेर पुग्नु त्यो ठाँउमा भन्ने मनमा लाग्नुपर्छ । उसले (मौसम) ले पनि हामीलाई दुःखदिदैन । एकपेट खानलाई मज्जाले पुग्छ ।
कोदो, मकै, धान, गेडागुडी, सखरखण्ड, पिंडालु, बदाम सबै फलिहाल्छ । यिनीहरु भनेका नै हाम्रो नेपालको खानाहरु हो । खाने नै यहि हो । हिजोको भुटेको मकै र कोदोको ढिंडो, गुन्द्रुक कस्तो् थियो र आजको मासु कस्तो छ ? हिजोकै खोले सिस्नु ठिक छ । हिजोको उकालीओराली ठिक छ । हाम्रो शरीरलाई दुःखदियो भने उसलाई कहिले नि सुख मिल्दैन । ज्यानलाई सुख भए पनि मनलाई शान्ति हुँदैन । उसलाई कता न कता मनमा पिडा भैरहन्छ । खेतीपाती गर्ने, वस्तुभाउ पाल्ने गर्नाले डिप्रेसनबाट बच्न सकिन्छ । हामी नेपालीहरु भनेको उकाली-ओराली गर्ने, वस्तुहरुसँग घुलमिल गर्ने हो। यसले हाम्रो राष्ट्रियता झल्काउँछ । यो हाम्रो जिजुबाजे पूर्खादेखि चलिआएको रितीथिती पनि हो । अहिले भने गाउँघरमा मान्छे अल्छि भैसकेका छन् । उ बेलामा हामी बिहानभरी, रातभरी डोरी बाट्थेम । डालो, डोको, नाम्लो बुन्थेम् अनि बेच्ने गर्थेम् । लामो लामो डोरी पनि बाट्ने गर्थेम् । तिघ्रामा राखेर घोटेर बाट्ने गर्थेम् । तर अहिले यो डोरी बाहिरबाट आउँछ । धेरै दुःख गरेकाथिएम् पहिले ।
जति दुःखभए पनि संघर्ष गर्न नछोड्नुस् भन्छु म सबैलाई । हातखुट्टा राम्रो भएसम्म काम गर्नुपर्छ । आफ्नो शरीर चलाउने भनेको आफ्नो मनले गर्ने हो । शरीरले शरीर कहिले पनि चलाउदैन । आफू हट्टाकट्टा हुनुहुन्छ, कामगर्न सक्नुहुन्छ, हातखुट्टा चलिराको छ भने रुदै कराउँदै मिडियामा आउँने र दुःख पोखाउने नगर्नुस् । आफूभित्र केहि हिम्मत छ वा छैन भन्ने कुरा आफ्ना साथीहरुलाई सोध्नुस् । अरुहरुसँग मद्धत लिनुस् । रुँदै कराउँदै सानो सानो कुराहरु लिएर, आफ्नो घरको दुःख लिएर नरुनुस् नकराउनुस् । छोराछोरीलाई यस्तो भयो उस्तो भयो, लोग्नेले यस्तो गथ्र्यो, कुट्यो नभन्नुस् । श्रीमानले कुटे पनि उठ्ने आफ्नो काम हो । त्यसलाई संघर्षमा उतार्ने आफ्नो काम हो । मिडियामा गएर मात्र सबै कुरा शान्त हुँदैन ।
(नोट : लक्ष्मी थापाका यि भोगाईका बाँकी अंश आगामी शनिवार यही स्तम्भमा प्रकाशन गर्ने छौं । )