काठमाडौं, भदौं २३। कोरोना महामारीका कारण आफ्ना कर्मचारीलाई तलब खुवाउन पनि नसकेकाहरुलाई व्यवसासयिक निरन्तरता कर्जा दिने भनेर नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमा नै यो व्यवस्था गरेको थियो तर यस्तो कर्जा कार्यान्वयनमा आएको १ वर्ष बित्दासम्म जम्मा ७२ जना ऋणीले मात्रै यस्तो कर्जाको उपयोग गरेका छन् ।
नेपाल राष्ट्र बैंकले व्यवसायिक निरन्तरता कर्जा प्रदान गर्नका लागि ५० अर्बको कोषको व्यवस्था गरेको छ । जसबाट अहिलेसम्म जम्मा ७३ करोड ६८ लाख रुपैयाँमात्र उपयोग भएको छ । अर्थात एक वर्षमा यस्तो कोषबाट साढे १ प्रतिशत पनि रकम गएको छैन ।
एक त सुरुमा नेपाल राष्ट्र बैंकले यसलाई कार्यान्वयनमा ल्याउन नै ढिलाई गर्यो । मौद्रिक नीति आएको करिब ५ महिना पछि मात्रै यसको कार्यविधी बन्यो । जबकी व्यवसायीलाई यस्तो कर्जाको आवश्यकता गत वर्षको मौद्रिक नीति आउनु अगावै नै परेको थियो । किनभने कैयन साना कम्पनी तथा उद्योगहरुले गत वर्षको चैत देखि नै कर्मचारीलाई तलब खुवाउन सकेका थिएनन् ।
यो कार्यान्वयनमा आएको भएपनि अन्य कर्जामा जस्तो कागजात मिलाउन बैंकका कर्मचारीले सहयोग नगरेको व्यवसायिको गुनासो छ । सहुलियतपूर्ण कर्जा र पुनरकर्जा लिन पाउनेले व्यावसायिक निरन्तरता कर्जा उपयोग गर्न पाउँदैनन् जसका कारण पनि यो कर्जा खासै प्रभावकारी हुन नसकेको हो ।
कोभिड–१९ प्रभावित क्षेत्रका उद्योग व्यवसायको पुनरुत्थानका लागि व्यावसायिक निरन्तरता कर्जा शुरु गरिएको भएपनि उक्त कर्जा लिन पूरा गर्नुपर्ने मापदण्ड तथा प्रक्रिया पूरा गरी कर्जा लिन व्यवसायीलाई समस्या भएको छ । यस्तो कर्जा लिनका लागि बैंकबाट कर्मचारीलाई तलब खुवाएको हुनुपर्ने जस्ता प्रमाण साना व्यवसायीले बैंकलाई पेस गर्न सकेका छैनन् ।
यसका साथै अन्य कागजात पुरा गर्न नसक्ने साना व्यवसायीलाई बैंकका कर्मचारीले अन्य कर्जामा जस्तो खासै सहयोग पनि गरेका छैनन् । बिशेषगरि बैंकलाई थोरै मात्रै नाफा हुने भएकाले बैंकका कर्मचारीले समेत यसमा खासै चासो दिँदैनन् । महामारीबाट अति प्रभावितलाई १० करोड, मध्यमलाई सात र न्युन प्रभावितलाई ५ करोड दिने कार्यविधिमा उल्लेख छ ।
राष्ट्र बैंकको अनुसार व्यावसायिक निरन्तरता कर्जा अहिलेसम्म १२ वटा वाणिज्य बैंक र एक फाइनान्स कम्पनीले मत्रै प्रवाह गरेका छन् । सिटिजन्स, एनएमबि, मेगा, सिभिल, सेञ्चुरी, सानिमा बैंक नेपाल इन्भेष्टमेन्ट, हिमालयन, एभरेष्ट, बैंक अफ काठमाडौं, सिद्धार्थ, ग्लोबल, र गुडविल फाइनान्सले कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंक बताउँछ ।