काठमाडौं, भदौ २३ । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुलाई दुई अर्ब ६५ करोड रुपैयाँ संस्थागत लगानीको प्रस्ताव गरेको छ । आज बुधबार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुलाई तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा उक्त परिमाणको रकम लगानी गर्नको लागि प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने बैंक तथा फाईनान्स कम्पनीहरुले यही भदौ २५ गतेसम्म राष्ट्र बैंकमा बोलकवोल पेश गर्नुपर्ने छ । रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात २०७८ असोज एक गतेदेखि २०७९ असोज एक गतेसम्म रहेको छ । कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि दुई अर्ब १२ करोड, विकास बैंकहरुको लागि ३९ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि १३ करोड २५ लाख रुपैयाँ छुट्याईएको छ ।
रकम लगानीको लागि प्रस्ताव पेश गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने आदि शर्तहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।