पाल्पा, भदौ २३ । सूचना प्रविधिका प्रयोगमा आकर्षण वृद्धि भए पनि विद्यालय शिक्षाको शिक्षण सिकाइ प्रक्रियामा प्रभावकारी हुन सकेको छैन । शिक्षक तथा विद्यार्थीको रुचि नै नहुनु र विद्युत्, इन्टरनेट र मोबाइलकै कारण शिक्षण सिकाइ प्रक्रियाको उपलब्धि न्यून भएको हो ।
शिक्षा तथा विकास समन्वय एकाइ र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति पाल्पाद्वारा हालै आयोजित ‘शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग’ विषयक अन्तर्क्रियामा जिल्ला समन्वय समिति प्रमुख ध्रुव कुँवरलगायत सहभागीले शिक्षामा पर्याप्त बजेटको अभाव शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी हुन नसकेको जोड दिनुभएको थियो ।
कार्यक्रममा जिसस प्रमुख कुँवरले कोरोनाको उच्च जोखिमका समयमा अनलाइन माध्यमबाट पठनपाठनलाई निरन्तरता दिएकोब बताउनुभयो । एकाइका प्रमुख रमेश पौडेलले ग्रामीण क्षेत्रमा अझै पनि मोबाइलका कुराकानी गर्न समस्या भएका क्षेत्रमा अनलाइन शिक्षाको प्रभावकारिता खोजी गर्नुको अर्थ छैन भन्नुभयो ।
अनेरास्वियु क्रान्तिकारी विद्यार्थी सङ्गठन सदस्य उमा विक, अखिलका जिल्ला सचिव राधाकृष्ण दङ्गालले अनलाइन शिक्षामा ५० प्रतिशत विद्यार्थी उपस्थिति नभएको बताउनुभयो । कार्यक्रममा शिक्षक कपिल कुँवर, रामप्रसाद ढकाल लगायतले सूचना प्रविधिको प्रयोग गरी हुने पठनपाठन प्रभावकारी नहुने चर्चा गर्नुभयो । जिल्लाको अधिकांश विद्यालयमा शिक्षण सिकाइ अनलाइनबाट हुँदै आएको छ । सिकाइ प्रक्रिया प्रभावकारी नभए पनि निजी विद्यालयले शुल्क उठाउन रोकिएको छैन ।
(रासस)