काठमाडौं, भदौ २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक नेपालमा थप एक हजार छ सय ४० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यस अवधिमा देशभरका प्रयोगशालाहरुबाट कुल १३ हजार चार सय ५५ वटा नमुनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेहरुको कुल संंख्या १० हजार आठ सय ८९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६१ जना कोभिड १९ को संक्रमणबाट मुक्त भएकाछन् । यसैगरी काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा पाँच सय ६८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा तीन सय ४९, ललितपुर जिल्लामा एक सय ५० र भक्तपुर जिल्लामा ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।