काठमाडौं, भदौ २४ । अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनसीपमा सहभागिता जनाउने टोलीलाई बिदाई गरेको छ ।
आज एन्फाले एक कार्यक्रममार्फत २३ सदस्यीय खेलाडी र अफिसियललाई बिदाई गरेको हो । टोली भोली कतार जाँदै छ । कतारमा करिब दुई साता अभ्यास गरेपछि टोली माल्दिभ्स प्रस्थान गर्नेछ । आगामी १५ गते देखि ३० गतेसम्म माल्दिभ्समा हुने प्रतियोगिताको पहिलो पटक फाइनल पुगेर उपाधी जित्ने लक्ष्य नेपालले राखेको छ ।
नेपालले अभ्यासस्वरुप उपाधीको बलियो दाबेदार भारतसँग यस अघि घरेलु मैदानमा दुई मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो खेल एक एक गोलको बराबरीम रोकिएको थियो । दोस्रो खेलमा भने नेपालले दुई एक गोलको हार ब्यहोरेको थियो । सो खेललाई नेपालले आफ्नो स्तर मापन र कम्जोरी पत्ता लाउने अवसरको रुपमा हेरेको बताएको छ ।
दोस्रो खेल पछि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले साफ च्याम्पियनसिप जित्ने बताएका थिए। नेपाललाई उद्याटन खेलमा घरेलु टोली माल्दिभ्सले स्वागत गर्ने तालिका रहेको छ । साविक बिजेता समेत रहेको माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधी दुई पटक जितेको छ । प्रतियोगितामा पाँच देशको मात्र सहभागिता रहनेछ । पाकिस्तान फिफाको प्रतिबन्धमा छ भने यता भुटानले कोरोनाको कारण देखाएर प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।