ललितपुर, भदौ २६ । लक्ष्मी थापाका भोगाईका बाँकी अंश...
आफू गरि खाएपछि चलाउन सक्ने हिम्मत त कसैको हुन्न नि । केहि गर्छु भन्ने हिम्मत बटुलेर हिड्नुपर्छ । सल्लाह गर्ने नि । दिदिबहिनीहरु हुनुहुन्छ भने उनीहरुसँग सल्लाह लिने । आफूलाई को चाँहि मनले खान्छ सल्लाह उसैसँग लिने । चाहे छोरा सरहको होस्, चाँहे बाउ सरहको होस्, आफूभन्दा जान्नेसँग सल्लाह लिनु पर्छ । आफूभन्दा दुःख भोगेको छन् कि, नभए नि देखेर बुझेर जानेका छन् कि, धेरै प्रकारका मान्छे छन् नि त यो समाजमा ।
यो समाजमा, यो कल्चरमा बस्नुपर्दा दुःख सुःख सबै समेटिएको मान्छेसँग हो हिमचिम गर्न जाने । शहरमा छिर्नु छ भने शहरकै मान्छेसँग हिमचिम गर्नुपर्यो, गाउँको मान्छे छ भने गाउँकै मान्छेसँग हिमचिम गर्नुपर्यो । क्वालिटी अनुसारको र तरकारी अनुसारको मसला हाल्नु पर्यो नि त । अब गुन्द्रुक पकाउँदा मासुको मसला अनि मासु पकाउदा गुन्द्रुकको मसला हालेर त भएन नि । त्यहि अनुसार चल्नुपर्छ हामी । रुने कराउँने गर्नु हुँदैन रोएर पनि केहि हुँदैन ।
आखिर आफ्नो दुःख आफैसँग त हुन्छ नि । दाजुभाईले दिदिबहिनीले सहयोग त गर्लान् नि तर उनीहरुको पनिआफ्नो व्यवहार होला, हामी जस्तै त हो । उहाँहरु दिमाग चलाउनु होला, टाठो बाठो हुनुहोला, दुःख गर्नुभो होला, बेलैमा ठाउँमा पुग्नु भो होला । मलाई यति भए पुग्छ भनेर केहि नगरी बस्ने जहिले पछाडि पर्ने हो । हैन भनेदेखि ऊबेलामा हामीले ९ रुपैयाँमा ज्याला गरेर नि लुगा किनेर लायौं भने अनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म रु. ४० मा काम गरेर नि मेरो बुबाको घरमा टायलको छानो हाल्देकै हो ।
अहिले त मेला गए नि दिनमा १००० रुपैयाँ आउँछ । रु. ५०० खर्च गरे पनि ५०० त जगेडा गर्न सकिन्छ नि । दुःख देखाको त यो दुनियाँलाई देखाको मात्र हो । होइन भने जगेडा गर्न सक्ने क्षमता मान्छेमा हुन्छ । धेरै ठूलो घर बनाउन, महल बनाउन पो सकिन्न त । आफूलाई दुःख बिमार पर्दा र एक छाक खानलाई जसले पनि जगेडा गर्न सक्छ । हामी सक्छम्, हामीमा त्यो हिम्मत हुनुपर्छ । नेपालीहरुमा हिम्मत भएन भने नेपाली भन्न धिक्कार लाग्छ ।
हाम्रो उकालीओराली हाम्रो कुटो कोदाली, हाम्रो डाँडा देउराली पाखा पर्वत त हाम्रो हो नि । खोलानाला हाम्रो हो नि त । ति पनि बिहान भएपछि सुसाउने, बेलुका सुस्ताउने÷निदाउने हैन र ? उनीहरुलाई पनि आराम चाहिन्छ नि हामी त मान्छे हौं । कहिलेकाही दुःखपिडा पर्छ । त्यो दुःखपिडालाई त भुल्नु पर्यो नि त तर रोएर मात्र हुन्न नि । म त रुन परे पनि एक्लै बसेर मज्जाले रुन्छु, कराउँछु । मेरो रोको भिडियो हेर्नुभयो भने हजुर आफै रुनुहुन्छ अहिले ।
कसैलाई आँशु देखाउँदिन मनमा शान्ति मिल्छ । मलाई के खान मन लाग्छ, के गर्न मन लाग्छ, मेरो कोठा भित्र मलाई कसैले डिष्टर्ब गर्नुहुन्न । मेरो दुबै छोराहरुलाई म सुतेपछि चलाउनुहुन्न, आमालाई शान्ति चाहिन्छ भन्ने कुरा थाहा छ । म सुतेको बेला उनीहरुले फोन गरे भने पनि, सुतिसकेको हो ? भनेर सोध्छन् हो भनेपछि फोन राखिहाल्छन् । गफ गर्ने मुडमा म छु भने गर्छन् नत्र राखि हाल्छन् । सबै यस्तै म जस्तै नहोलान् तर म चाँहि यस्तै टाइपको मान्छे ।
हिम्मत कसैले नहार्नुस्, अरुलाई दुःख नदेखाउनुस् । आफूभित्र जे भएपनि, बाहिर हाँसेर बोलि दिनुस् । दुःख पिडा टार्ने त आफैले हो नि । सुख ल्याउने पनि आफैले हो । आफू खुसी बस्न सकियो भने दुनियाँ खुसी हुन्छ । अब म यहाँ जुनबेला पनि रुनेकराउँने गर्न थाले भने, घरबाट दिक्क भएर आउनुहुन्छ अनि भोलिदेखि आउनै छोड्नुहुन्छ ।
पाहुना आए पनि मेरो बोली यहि हो । घर, छिमेकी, साथी जो आए पनि यहि हो । रुखो बोल्नेलाई रुखो पनि बोल्न जानेको छु । माया गर्नेलाई माया गर्न पनि जानेको छु । ठट्टा गर्नेलाई ठट्टा पनि गर्छु । बोली अनुसारको जवाफ त दिनै पर्यो । मौसम अनुसारको फल्छ नि त जे चिज पनि, त्यस्तै हो । हुन त अझ राम्रो बोल्न जान्दिन । सानोमा पढ्न लेख्न पाईएन माइति पट्टी बाट । पछि घर पट्टी बाट पनि प्रौढ शिक्षा पढेको । नेपाली त लेखपढ गर्छु अहिले त मज्जाले । बीचमा डिप्रेसनमा परेर मात्रै हो नत्र अंग्रेजी पनि आउथ्यो । पछि बिर्से । अहिले पनि ए बि सि डि त चिन्छु तर शब्द बनाउन आउन्न । आफ्नै रहरले पढेको हो । मलाई कसैले पढ्न पठाको नि होइन आफ्नै जबरजस्तीले गाको हो ।
तर मलाई पढ्ने इच्छा चाहि ठूलो थियो । मलाई बिहे गरेर घरजम गरौं, बच्चा पाउँ भन्ने नै थिएन । मलाई पढ्नलाई साथदिने एउटा मान्छे मात्र पाएको भएपनि म केहि न केहि गर्थे होला । इच्छा त छ पढ्ने तर अब उमेर, व्यवहार उस्तै त हो । कुटो, कोदालो, मेलापात गर्दा कसैले हेपेर, चेपेर गफ गर्यो भने म सानै देखि नरुचाउने । कम्पिटिसन गर्न तयार म । त्यो अनुसारले चल्थे । म धार्नीको कोदालीखन्नु परे पनिखन्ने । भारी बोक्नु परे पनि बोक्ने तर मलाई हात हालेर चलेको पटक्कै मन नपर्ने । छोरा मान्छे होस् या छोरी चार हात पर बसेर कुरा गरेको राम्रो ।
उतिबेला बरु पर पर बसेर गीत गाइन्थ्यो । आमाहरुले रोपाईमा लगेर नि गीत भन्नलाउन हुन्थ्यो । धूमधाम रमाइलो हुन्थ्यो । अहिलेका मान्छेहरु त त्यहि फेसबुक चलाउने, फेसबुककै गफ गर्ने । हुन त हामी पनि त्यहि ठाउँमा पुगिसके समय अनुसार ।
ऊबेला बस भन्ने देख्नै पाईएको थिएन । डम्फि आउँथ्यो ट्याङकी जस्तो । १०/११ वर्षमा हो गाडी देखेको । बाटो नै थिएन गाउँमा । कुलोको बाटो हिड्ने हो । त्यतिबेला हो चौतारा जाने बाटो देखेको । पानी मिल थियो पहिले, अहिले पछि बत्ती आयो । ठूलो हाइस्कुल थियो । अनि त्यहाँसम्म आवतजावत गर्दा मोटर गाडी, बाटो देखेको ।
यो स्कुलमा दुध, चनाको पिठो बाड्थे । ऊ बेलाको भोकमरीमा खुब मिठो हुन्थ्यो । खाईयो । बजारतिर आउनै लाज लाग्थ्यो, डर लाग्थ्यो । बुबाको साथीहरुसँग पनि बोल्न डर लाग्थ्यो, लाज लाग्थ्यो । पुलिसहरु आको देख्यो भने, आम्मा नि ! किन आको होला , के भयो होला भनेर डर लाग्थ्यो, मन आत्तिन्थ्यो । तर परिस्थिति र व्यवहारले आफ्नो जिन्दगीको कथाहरु नि यस्तै यस्तै पार्दैै आएकोले यो ठाँउसम्म आइपुगियो ।
मेरो ठूलोबुबाको छोरी (दिदी मेरो) बिहे गरेर जानु भो उहाँ । म पहिले देखि नै अलि मोटीघाटी, ठूलो ज्यान । अनि देखभेट गर्दा भिनाजुले जेठीसासु दिदी भनेर ढोग्न आउनुभो । अनि म दौडे घरै छोडेर । लाज र डरले । छोरा मान्छे देखि डर लाग्ने क्या । मेलापात गर्दा नि गाँउको दाईहरुले जिस्काउने क्या । तर मलाई मन नपर्ने एक दुई सब्द ठट्टा गर्ने त छदैछ जिस्किन चाँहि पटक्कै मनपर्दैन । भदौ मा धान गोड़दै जाँदा एकजनाले मेरो मेलामा झार खसाल्दै जानुएछ म कहिले नरिसाउने भएर रिस उठाउनलाई मलाई त्यो दिनअलि सन्चो पनि थिएन टिप्दै गँए, टिप्दै गँए पल्लो छेउ पुगिसके झार त सकिन्न त । पछि थाहा पाएर यस्तो कुरा कि ति दाईहरुलाई त्यो बेला देखि अहिलेसम्म पनि हजुर, तपाईं बहिनी भन्नुहुन्छ ।
त्यो मान्छे डेञ्जर छ यसलाई कसैले जिस्कायो भने मर्छे भन्नुहुन्छ यसले अरुलाई नराम्रो नि भन्दिन जिस्काउँदा पनि जिस्काउदिन भन्नुहुन्छ । त्यहाँहरुका छोरीहरु नि सब साथी हुन् रमाइलो हुन्छ भेटघाटमा हाम्रो मगर तामाङ रहन सहन भए पनि सबैसंग राम्रो छ ।
रोपाईको बेला मेला जाँदा फर्किन ढिलो भयो भने बुबाले मार्नुहुन्छ भन्ने डर लाग्थ्यो । रोपाईको बेला मेला जाँदा बेलुकाको ८ त बज्छ नै जुनतारा झलमल्ल भैसक्थ्यो दिदीहरु आमाहरु अनि लाठे दाईहरु हिलो छ्यापेर खुब रमाइलो गर्नुहुन्थ्यो अनि म ठुलीआमा र अर्को एकजना दिदी हामी ३ जना हिलो नखेली एकातिर हुन्थ्यौ त्यै पनि परिहाल्थ्यो । त्यो एकदिन याद छ उ बेलामा भकारी बाल्ने खेत रोप्दा खेरि ल्वाङ सुकुमेल थालमा बोकेर गएर बाड्ने बेठी लगाएर खेत रोप्ने चलन थियो ।
अब अहिले त आफ्नो खेतीपाती छैन ठुलो रोपाइँ भए त जान पाए हुन्थ्यो खेत रोप्न जस्तो लाग्छ । असारे गीत गाउने कोदालीले हिलो छ्याप्न मेरो छ्यामाहरु सबै गीत गाउने असारे गीत, घासे गीत गाउने गर्नुहुन्थ्यो । मेरो सासु पनि गीत गाउन हुन्छ आमा पनि गाउनु हुन्छ, बुबा त झन् सिलोक भजन गाउनु हुन्छ । मेरो हजुर आमा बाहुनी हो नि त । मेरो हजुरबुवाको ६/७ जना दाजुभाई अनि माथिल्लो एरियामा बस्नुहुन्थ्यो । त्यो एरियामा बाहुनै बाहुन हुनुहुन्थ्यो ।
उबेलामा त्यँहि एउटा घरमामेरो हजुरबुवालाई हलो जोत्न राखेको रैछ, त्यहि बेलामा लभ गरेर ल्याउनु भाको रे । एक पटक फरार भएपछि फेरी फर्काएर ल्याउनु भयो रेअनिअर्को चोटी फेरी फरार मेरो ठुलोबुवा बित्नु भयो यसपाली गर्भमा आएपछि बल्ल गरिखाउ भनेर छोडीदिएको रे ।
मेरो हजुरआमा अग्लो हुनुहुन्थ्यो । अहिले फुपू हुनुहुन्छ सेम अनि हजुरबुबा चाँहि होचो म भन्दापनि । फोटो छ होला कतै हजुरबाले । हजुर आमालाई कहिल्यै दुःख दिनु भएन हजुरआमालाई । घर भित्रको पकाई तुल्याई र भान्साको काम मात्र हो लगाउने खाना चाँहि ढिलो हुनु नहुने ढिलो भयो भने झ्याल ढोकाबाट फुत्तफुत्त फालिदिने भाँडाकुँडा ।
कुटपिट गर्न त नसक्ने नभ्याउने त्यति आग्लो बजैलाई एकपटक चाँहि देखेको मैले हजुरबुवा पेटी माथि हुनुहुन्थ्यो अनि हजुरआमा कुचो लगाउँदै जाँदा काँधमा झुन्डीएर गालामा एक चड्कन लगाउनु भाको । गाईबस्तु त धुमधामै पाल्ने माथिल्लो सारमा छुटै, घरमा छुटै खेतिपाती उकालीओराली दुनियाँ दुख थियो । मैले आफुले जानेर खेतापाती गर्दा पनि अन्न बेसाएर खाएन आफैले खेति लाएर आफैले खान मज्जाले पुग्थ्यो । गरेर नहुने केहि छैन । हुन्छ धेरै थोरैको कुरा हो । मौसम अनुसारको हुन पुगे अनि त्यसमा आफुले मेहेनत त गर्नुपर्यो नि।
यतिखेरको मेरो यो जिन्दगी देख्दा अनि अरु रोइ कराई गरेको दिन देख्दा मलाई मेरो जिन्दगी एकदम दिक्क लाग्छ । म जे छु जस्तो छु, म खुसि छु । रमाईलै छ । जिन्दगी कसैको साथ पाउँदा त उसको खटन पटनमा नि बस्नु पर्यो नि । कि मेरो खटनमा उ बस्नु पर्यो कि उसकोमा म । नसक्ने बित्तिकै गर्ने भनेको आ–आफ्नो सुर हो । मैले अझ मेरो बच्चारुलाई पनि तिमीहरु आफ्नो सुरले गरि खाउ । सम्हालिनु, आफै सम्हालिने हो कि बुहारी बिहे गर्ने हो कि के गर्ने हो गर भनेकी छु ।
मैले तिमीहरुलाई तीतो बचन गर्न पनि नपरोस तिमीहरुको तितो बचन मैले सुन्न पनि नपरोस । म एक्लै बस्छु जहाँजहाँ बसेपनि म यो नै काम गरेर बस्छु भन्ने छैन । केहि गरौला या नगरौला डुल्न मात्र हिडौला भजनकिर्तनमा गाउँला तर मलाई कसैको चित्त दुखाउनु छैन हौ । यस्ता सब कुरा प्रष्ट गरिदिएको छु । मलाई रिस उठेपछि नराम्रो रिस उठ्छ कन्ट्रोल नै हुँदैन । धेरै व्यथा भोग्दै आइयो दिमागले काम गर्दैन कहिलेकाँहि मलाई माया गर्ने जतिलाई कसैलाई कमी गरेको छैन । म आफै दुख गरेर खान्छु भने कसैको टेन्सन लिदिन पनि । आफ्नो खुसीले खान्छु आफ्नै खुसीले रमाउछु ।
म बेलुका चाडो सुत्ने भनेको १ बजे हो २ नि बज्छ कहिलेकाँहि । बिहान ४/५ बजे उठि बस्छु त्यति खेर निद्राले छोड्छ सबै आफै गर्ने हो मान्छे भयो भने अल्मलिन्छु म आफ्नो सुरले एक्लै गर्छु यो गर्छु यसो गर्छु यो काम सकिएपछि यसो गर्छु ठ्याक्क ठ्याक्क लाइनमा गर्छु।
मलाई यसैगरी हासीखुसी रहे भने र कसैको टर्चर भएन भने अझै १० बर्ष यसैगरी काम गर्न सक्छु । पिडा टर्चर हुनुभएन । दुःख त छदै छ नि उहिले देखि गर्दै आको उहिले दिनभरी पात चुटिन्थ्यो उठी उठी अहिले नि त्यहि सम्झिने उहिले पनि ट्याक्क ४ बजे उठिन्थ्यो ५ बजे बन पुगिसकिन्थ्यो । बनपाले दाईले देख्नुभन्दा पहिले प्वाकल खन्ने बिरुवा रोप्ने खुब गथ्र्यौ । स्याउला काट्न जाँदा ५ बजे त आइसक्थ्यौ । गएर बनपाले दाईको आखा छल्दै ।
अबको बच्चाहरुलाई त यो सब कथा रामकहानी नै हुन्छ । उ बेलामा दहि, दुध,घ्यु, मासु चाँहि खाईन्थ्यो बुबा अझै पनि रुचाउनु हुन्छ । जाड रक्सी पनि खानुहुन्छ । अझै पनि आधा किलो मासु त खाइदिनु हुन्छ । बुबाले सानोमा खुब खाइयो तर बिहे पछि घरपट्टी दुध, दहि खान नपाएर बिरामी नै भए।
पानीसंग ढिडो मुछेर खाएर पनि चित्त बुझाए अनि मेरो आमाले कुम्ले बनाएर खाजा, दहि, दुध भाँडोमा हालेर पठाइदिनु भको दहि सकिएपछि फेरि पानी हालेर पखाल्थ्यौ अनि मोही जस्तो हुन्थ्यो त्यहि खान्थे । माइती नजिक भएको फाइदा त्यहि थियो । मेरो बिहे गरेको क्षणमा चाँहि म उहाँहरुको लागि मरेजस्तो भयो अब मेरो नि त्यति बुद्दि थिएन । केटाकेटी नै हो नि आमालाई बाउलाई सुख दिन्छु भन्ने सोचेकी थिए तर म त अब यो घरको सदस्य नै होइन जस्तो लाग्यो अनि पछि माइतीमा जाँदा पनि दिक्क लाग्थ्यो आमाको दुःख घरपट्टिको दुःख ।
दुःखै दुःख मनमा शान्ति नै नहुने मेरो बुबाले मेरो बिहे अघिसम्म डोको नाम्लो बोकेको देखेको थिएन खेतबारी त जानु हुन्थ्यो तर जब मैले बुबाले हसियाँ र डोको बोकेको देखे अनि यहि दिन देख्नलाइ रैछ मेरो बिहे गर्देको भन्ने जस्तो लाग्यो । छन त छोरा बुहारी सन्तान छन् तर पनि बुबाले बोकेको देख्दा दिक्क लाग्यो । म त पराइ भैसके जस्तो लाग्थ्यो अहिले चाहिजहासुकै जे सुकै बितोस जस्तो लाग्छ। आनन्द यहि आफ्नो लागि मात्र गर्छु अन्त गएपछि पाहुना जस्तो चुपचाप लगेर बस्छु ।
पहिला चाँहि अरुको दुख देख्दा अन्त काम देख्दा खेरी नि ओहो ! भने जस्तो लाग्थ्यो तर अब चाँही लाग्दैन । जति दुःख गरेनी जे गरे नि गरे जस्तो नि हुन्नथ्यो तर पनि मनले मान्दैन थियो । काम गर्दिन बसेर के हुन्छ र जस्तो लाग्थ्यो । बाउले यो उमेरमा यसरी बिहे गर्दिनु भको छ के गर्ने होला कसो गर्ने होला भनेर सोच्थ्ये तर हरेक कुरा पार गर्दा गर्दै सफल हुन सके भाग्य के थियो मेरो यहि नै थियो कि भगवानले उल्टो पाल्टो गरे कि? जे गरे भगवानले ठिकै गरे होलान ।
एउटा कुरामा चाँहि सहि गरिछु जस्तो लाग्छ त्यहि ठाँउमा बसिराको भए न म केहि हुन्थे कि ? न मलाई नै केहि हुन्थ्यो कि ? न मेरो छोराहरु पनि त्यहि पारामा जान्थे कि ? कम से कम सम्पति नै नकमाए पनि ति गाँउका आफन्त साथीभाईले महत्व त दिन्छन् आजकल कहिलेकाँहि गाउँ जाँदा नि महत्व नै हुन्छ । बच्चाहरु पनि अब त अलि बुझ्ने भए मलाई सन्तानबाट पूर्ण सन्तुष्टी छ दुनियाँका छोरा छोरीहरु टन्न सम्पति हुनेहरु कत्ति बिग्रेर हिडेका छन् । डर थियो छोराहरुको अझ कान्छोको । खुल्दुली लाग्यो मन भित्र के छ भनेर तर अहिले आफै भन्छन् मन पेट खोलेर भोलि के हुने भन्ने त के थाहा छ र ???