काठमाडौं, भदौ २७ । नेपाल र बंगलादेश बिचको दोस्रो मैत्रीपुर्ण खेल गोल रहित बराबरीमा रोकिएको छ । दुवै टोलीले आक्रमण बुनेपनि सफल हुन सकेनन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलको छैठाँै मिनेटमा बंगलादेशले गोल गर्ने सुनौलो मौका पाएको थियो । गोल रक्षक अञ्जना राना मगर अघि बढेको अवस्थामा श्रीमोती सरकारले बल नियन्त्रणमा लिनुभएको थियो । टर्न गरेर उहाँले डि बक्स भित्र दिएको क्रशमा मोस्सामत सोप्नले पुर्ण रुपमा नियन्त्रणमा लिन सक्नुभएन ।
उहाँलाई गिता रानाले पनि रोक्नुभएको हो । त्यसको चार मिनेटपछि नेपालले अग्रता लिने मौका गुमाएको थियो । अनिता बस्नेतको क्रशमा सरु लिम्बुले गर्नुभएको सशक्त प्रहारलाई रुप्न चक्मा उत्कृष्ट रुपमा बचाउ गर्नुभएको हो । ४३ औँ मिनेटमा बंगलादेशले उत्कृष्ट डिफेन्सको नमुना देखाएपछि नेपालले फेरी गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । डिबक्स भित्र बिमला चौधरीको प्रहारलाई बंगलादेशका डिफेन्डरले बिफल बनाउँदा फर्किएको बलमा सरु र प्रिती राईले गर्नुभएको प्रहारलाई पनि डिफेन्डरहरुले क्लिएर गरिदिएका थिए ।
दोस्रो हाफमा पनि डिफेन्सिभ र आक्रमण दुवै पक्षलाई सन्तुलनमा राखेको बंगलादेशले नेपाललाई कुनै मौका दिएन् । नेपालले दोस्रो पटक बंगलादेशसँग बराबरी खेलेको हो । यस अघि २०१८ को नोभेम्बर १३ मा ओलम्पिक क्यालिफाएर खेलमा नेपाल बंगलादेशसँग एक एक गोलको बराबरी रोकिएको थियो । नेपाल कुनै पनि टिमसँग दोस्रो पटक गोल रहित बराबरीमा रोकिएको हो । यस अघि उसले २०१६ को फेबु्रअरीमा भारतसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
बंगलादेशको नेपाल विरुद्ध यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । यो सँगै नेपालको उज्वेकिस्तानमा हुने एएफसी एसिया कप छनौटका लागि तयारी पुरा भएको छ । नेपाल र बंगलादेश भोली नै त्यसतर्फ जाँदैछन् । समुह एफमा रहेको नेपालले छनोट चरणमा असोज २ गते फिलिपिन्स र ४ गते हङकङ संग प्रतिष्पर्र्धा गर्नेछ । बंगलादेश रहेको समुह जी मा जोर्डन र इरान छन् ।