काठमाडौं, भदौ २७ । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुन लागेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत तथा वित्तीय प्रगति भने ७७ प्रतिशत रहेको नागरिक उडडयान प्राधिकरण (क्यान) ले जानकारी दिएको छ । क्यानका अनुसार भौतिक प्रगति अन्तिम चरणमा रहँदा पूर्वाधार निर्माण सम्पन्न भई फिनिसिङको काम भईरहेको छ । विमानस्थलमा जडान गर्नुपर्ने रन वे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उडडयान उपकरणहरु, ब्यागेज ह्याण्डलिंग सिष्टम, एक्स–रे आदि यन्त्र उपकरण जडान कार्य सम्पन्न भइसकेको छ।
क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार विमानस्थलमा ‘क्याटगोरी आइएक्स’ को अग्नि निवारण तथा जीवनोद्धार सेवाको लागि आधुनिक दमकल तथा एम्बुलेन्स ल्याई सकिएको बताउनु भयो । नेपाल सरकार, एशियाली विकास बैंक र क्यानले आयोजनालाई असफल हुन नदिन हदै सम्मको लचकता अपनाई सहजीकरण गरिदिएको कराण हाल निर्माण सम्पन्नको चरणमा पुगेको क्यानको भनाई रहेको छ।
यस्तै विमानस्थलको निर्माण सम्पन्न भए सँगै ‘क्यालिव्रेशन फ्लाइट’ गरिने बताइएको छ । ‘क्यालिव्रेशन फ्लाइट’ भएको करिब तीन महिना पछि भने विमानस्थलमा अन्तराष्ट्रिय उडान खुला गर्ने क्यानको भनाई रहेको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्नको लागि ‘क्यालिव्रेशन फ्लाइट’ गरिन्छ ।
यस्तै विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा पनि क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । क्यानले उडडयान उपकरण तथा उडान विधिको चेकजाँच तथा परिक्षण गर्न ‘क्यालिव्रेशन फ्लाइट’को लागि विदेशबाट विशेष वायुयान तथा दक्षविज्ञ आउन नसक्ने हुदाँ भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इन्डिया’ सँग प्रस्ताव प्राप्त गरी नेपाल सरकारको स्वीकृतिको लागि पठाइएको छ ।
यता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत रहेको छ। क्यानले निर्माण सम्पन्न भए पछि अन्तरािष्ट्रय विमानस्थल सञ्चालनमा ल्याउनको निम्त्ति सञ्चालन तयारी कार्यदल गठन भई कार्यरत रहेको समेत जनाएको छ। चीनबाट ल्याइएको एयर फिल्ड लाइट, रंग, एलिभेटर तथा सजावटका सामग्री जडान कार्य सम्पन्न हुन लागेको छ। यसअघि विमानस्थलका लागि आवश्यक धावनमार्ग, आन्तरिक र बाह्य टर्मिनल भवन सजावट, हंयगर एप्रोन, ट्याक्सी पार्किङ, आइसोलेटेड पार्क, सडकको निर्माणकार्य सम्पन्न भइसकेको छ ।
निर्धारित समय भन्दा ६ महिना अघि सम्पन्न हुने गरी कार्य भइरहेको सो आयोजना कोभिड १९ का कारण पछाडि धकेलिएको थियो। विमानस्थल निर्माणका लागि विदेशी जनशक्ति आउन नसक्दा जुलाई २०२१ भन्दा करिब एक वर्ष पछाडि धकेलिन पुगेको क्यानले जनाएको छ।