काठमाडौं, भदौ २८। इजरायल रोजगारीमा जान इच्छुक आवेदनकहरूले सोमबार लिखित परीक्षा दिनु हुनेछ। दिउसो १ बजे सञ्चालन हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । परिक्षा अविध दुई घण्टाको रहेको छ।
विभागको अनुसार इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ बमोजिमको अङ्ग्रेजी भाषाको लिखित परीक्षा भौतिक उपस्थती मै हुनेछ । विभागका अनुसार परीक्षा केन्द्रको विवरण वैदेशिक रोजगार बिभागको वेबसाइट ‘डोफे डटकमम’ मा समेत हेर्न सकिनेछ । सरकारले इजरायल रोजगारीको लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको थियो । त्यस क्रममा ९ हजार ६ सय ९९ नेपाली नागरिकहरूले आवेदन दिनु भएको थियो ।
परीक्षार्थीहरु परीक्षाको लागि तोकिएको समयभन्दा तीन घण्टा अगावै परीक्षा केन्द्रमा पुग्नुपर्ने व्यवस्था गरिएको छ। विभागले कोरोना महामारीको मध्यनजर गर्दै जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षामा सहभागी भईदिन सहयोग गरिदिनका लागि समेत अनुरोध गरेको छ ।
परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । दरखास्त स्वीकृत भएको÷नभएको जानकारी आवेदनकर्ताले अनलाइनमै ‘लग इन’ गरेर हेर्न सक्ने व्यवस्था गरिएको थियो । परीक्षामा सहभागी हुन अनलाइनबाटै प्रवेशपत्र पाउनुको साथै त्यसै प्रवेशपत्रमा परीक्षा केन्द्रको जानकारी पनि उल्लेख हुने छ।
यस अघि विभागले जारी गरेको बिज्ञप्तिमा इजरायलमा नेपाली नागरिकहरूलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयले सूचनामा उल्लेख गरेको थियो । बिज्ञप्ति अनुसार मन्त्रालयको तर्फबाट सम्बद्ध कुनै पनि कानून विपरीतका कार्य एवं गतिविधिहरूमा संलग्न नहुन तथा कुनै प्रलोभनमा नपरी पूर्णरुपमा विभागबाट सम्प्रेषित सूचनामा मात्र आधारित हुन अनुरोध गरेको छ ।
परीक्षाका लागि विभागले जारी गरेको नियमः
१.परीक्षा दिन आउँदा अनिवार्य रुपमा राहदानी सहित प्रवेशपत्र ल्याउनु पर्नेछ । प्रवेशपत्र विना परीक्षामा बस्न पाइने छैन ।
२. परीक्षा हलमा मोबाइल फोन ल्याउन पाइने छैन ।
३. लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुने दिनमा पनि प्रवेशपत्र ल्याउनु आनिवार्य छ।
४. उम्मेदवारले परीक्षा दिएको दिनमा हाजिर अनिवार्य रुपले गर्नुपर्नेछ ।
५. विभागले सूचनाद्वारा निर्धारण गरेको कार्यक्रम अनुसार परीक्षा संचालन हुनेछ।
६. बिरामी भएको उम्मेदवारले परीक्षा हलमा प्रवेश गरी परीक्षा दिने क्रममा निजलाई केही भएमा विभाग जवाफदेही हुने छैन ।
७.परीक्षा शुरु हुनु भन्दा ३० मिनेट अगाडि घण्टीद्वारा सूचना गरेपछि परीक्षा हलमा प्रवेश गर्न दिइनेछ । वस्तुगत परीक्षा शुरु भएको १५ मिनेट पछि आउने उम्मेदवारले परीक्षामा बस्न पाउने छैन ।
८. परीक्षा हलमा उम्मेदवारले परीक्षाको मर्यादा विपरीत कुनै काम गरेमा केन्द्राध्यक्षले परीक्षा हलबाट निष्काशन गरी तुरुन्त कानून बमोजिमको कारवाही गर्नेछ र त्यसरी निष्काशन गरिएको उम्मेदवारको सो विज्ञापनको परीक्षा स्वतः रद्द भएको मानिने छ ।
९. परीक्षा हलमा प्रवेश गरेपछि किताब, कापी, कागज, चिट आदि आफू साथ राख्नु हुँदैन । उम्मेदवारले आपसमा कुराकानी र संकेत समेत गर्नु हुँदैन ।
१०. कुनै उम्मेदवारले प्रश्नपत्रमा रहेको अस्पष्टताको सम्बन्धमा सोध्नु पर्दा पनि परीक्षामा सम्मिलित अन्य उम्मेदवारहरुलाई बाधा नपर्ने गरी निरीक्षकलाई सोध्नु पर्नेछ ।