काठमाडौं, भदौ २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार चार सय ८६ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट १६ हजार पाँच सय ३९ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो समेत गरी नेपालमा कुल सक्रिय संक्रमितहरुको संख्या २६ हजार छ सय ३० पुगेको छ ।
यसैगरी पछिल्लो पटक नेपालमा कोभिड १९ को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको कुल संख्या नेपालमा १० हजार नौ सय ६५ पुगेको छ । कोेभिड १९ को संक्रमणबाट मुक्त हुनेहरुको संख्या भने पछिल्लो २४ घण्टामा एक हजार दुई सय ६० पुगेको छ ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टामा थप चार सय २६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा तीन सय एक, ललितपुर जिल्लामा ६८ र भक्तपुर जिल्लामा ५७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार यो समेत गरी काठमाडौं उपत्यकामा सक्रिय संक्रमितहरुको संख्या छ हजार छ सय १८ पुगेको छ ।