काठमाडौँ, भदौ २८ । एएफसी एसियाकप छनौटका लागि उज्वेकिस्तान जाने नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज एक कार्यक्रम मार्फत महिला टोलीलाई बिदाइ गरेको हो । ग्यारी फिलिप्सको नेतृत्वमा रहेको टोली आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाली टिम टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्ने छ ।
डिफेन्डर पुनम जर्गा मगरले उज्वेकिस्तानको भ्रमण गुमाउनु हुने भएको छ, उहाँको मुटुमा समस्या देखिएकाले टिमबाट बाहिरिनु भएको हो । उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।
नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । सो खेल असोज ५ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।
नेपाली टिम :
रेनुका नगरकोटी (कप्तान), एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, सरु लिम्बु, सिर्जना सिंह, गीता राना, बिमला बिक, विमला चौधरी, दिपा राई, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, सबिता राना