काठमाडौं, भदौ २९ । बैंक तथा वित्तीय संस्थाहरुले कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगाडि नै ग्राहकहरुलाई सो सम्वन्धी पुर्व सुचना दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार भुक्तानी प्रदायक संस्थाहरुको नाउँमा निर्देशिका जारी गर्दे यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशिका अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले अब देखि कुनै पनि कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएस मार्फत दिनुपर्नेछ तथा कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्नेछ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ जारी गर्दे राष्ट्र बैंकले बिद्युतीय भुक्तानी कार्यलाई थप व्यवस्थित बनाउन यो निर्देशिका जारी गरेको हो ।
निर्देशिका अनुसार बैंक तथा बित्तीय संस्था विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जाना सम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइनेछैन । एकीकृत निर्देशन–२०७८ अनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट तथा क्रेडिट) जारी गर्न पाउने छैन । अनुमतिपत्रप्राप्त वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंक र फाईनान्स कम्पनीहरुले क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड लगायतका विद्युतीय भुक्तानी कार्ड जारी गर्न सक्नेछन् ।
यि बाहेक बाहेकका अन्य वित्तीय संस्थाले भने क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न सक्नेछन । बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानी सेवा प्रदायक (पिएसपी) को अनुमतिपत्र प्राप्त संस्थाले स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड मात्र जारी गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।